काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा सञ्चालन गरेको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सोमबार बेलुकी सार्वजनिक गरिएको नतिजाअनुसार उच्च तह ३.६१ देखि ४.०० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ३ हजार ६७ जना रहेको छ । परीक्षामा नियमित, ग्रेडवृद्धि र आंशिक तर्फ गरि कुल ४ लाख २८ हजार ६७ परीक्षार्थी सहभागी थिए । नियमित तर्फका २ लाख ९२ हजार १ सय ५३ परीक्षार्थी मध्ये ३ हजार ६७ जनाले मात्र उच्च तहको जीपीए प्राप्त गरेका हुन् । ३.२१ देखि ३.६० जीपीए ल्याउने विद्यार्थीको संख्या १६ हजार २ सय ४ जना रहेको छ ।
ग्रेडिङ पद्दतिअनुसार ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ । सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् । १.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।
ग्रेडवृद्धि तर्फ ७८ हजार ७ सय ४४ परीक्षार्थी परीक्षामा सहभागी थिए । आंशिकतर्फ ४१.८३ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको परीक्षा नियन्त्रक कृष्ण शर्माले जनाए । ५७ हजार १ सय ७० परीक्षार्थीले आशिंक तर्फ परीक्षा दिएकोमा २३ हजार ९ सय १५ जना मात्र उत्तिर्ण भएका हुन् । बोर्डले गतवर्ष देखि कक्षा १२ को नतिजा ग्रेडिङ पद्धतिअनुसार प्रकाशित गर्न थालेको हो । आफ्नो प्रतिक्षाफल सजिलै हेर्नको लागि मोबाईलको म्यासेज बक्समा गइ NEB लेखेर एउटा स्पेस दिइ आफ्नो सिम्बोल नम्बर लेखेर ३१००३ मा SMS पठाएर पनि आफ्नो नतिजा हेर्न सकिन्छ ।नतिजा राष्ट्रिय परीक्षा बोर्ड https://bit.ly/2YrDsOR र नेपाल टेलिकमकाे वेबसाइट https://bit.ly/2Opvn9A लगायका साइटबाट पनि हेर्न सकिन्छ ।
यसैबिच कक्षा १० को अन्तिममा लिईने परीक्षा अन्र्तगत पूरकको परीक्षा आउन २१ दिन बाँकी रहँदा शिक्षा मन्त्रालयले परीक्षा नियन्त्रक फेरेको छ । शिक्षा मन्त्रालयका सहसचिव समेत रहेका नियन्त्रक विष्णुप्रसाद अधिकारीले आफूलाई सरुवा गरिदिन गरेको आग्रह अनुसार उनलाई मन्त्रालयमा हाजिर गर्ने गरी सरुवा गरेर उनको ठाउँमा शिक्षक सेवा आयोगमा कार्यरत उपसचिव रामराज खकुरेललाई सरुवा गरिएको मन्त्रालय श्रोतले जनाएको छ । तत्कालका लागि अधिकारीलाई मन्त्रालयमा कुनै जिम्मेवारी दिईएको छैन भने खकुरेललाई परीक्षा नियन्त्रण कार्यालयको काम गर्ने गरी राष्ट्रिय परीक्षा बोर्डमा सरुवा गरिएको उक्त श्रोतले जनाएको छ ।
पर्याप्त जनशक्ति नभएका कारण कार्य सम्पादनमा कठिनाई भएको भन्दै अधिकारीले आफूलाई जिम्मेवारी मुक्त गरिदिन आग्रह गरेको खबर सार्वजनिक भएको थियो । राष्ट्रिय परीक्षा बोर्डबाट आवश्यक सहयोग नभएको र जनशक्ति पनि कम भएकोले परीक्षा सञ्चालन गर्न नसक्ने उनको तर्क थियो । साविकको ६४ दरबन्दीलाई घटाएर कार्यालयमा अहिले २३ दरबन्दी कायम गरिएको छ भने काज सहित गरेर अहिले ३५ कर्मचारी कार्यरत छन् । शिक्षा ऐनको आठौं सँशोधनले विद्यालय शिक्षाको संरचना बदलेर साविकको एसएलसीको व्यवस्थालाई परिवर्तन गरी विद्यालयको अन्तिम परीक्षा कक्षा १२ हुने ब्यवस्था गरे पनि शिक्षा मन्त्रालय र मातहतका निकायले प्रभावकारी कार्य सम्पादन गर्न नसक्दा कक्षा १० को अन्तिमको परीक्षामा पुरानै ‘धंङधंङी’ कायम छ ।
शिक्षा ऐनको आठौं संशोधनले विद्यालय शिक्षाको संरचनामा गरेको परिवर्तन अनुसार बोर्ड मार्फत सम्पादन हुनु पर्ने काम समेत ऐनले नचिन्ने साविककै अड्डाबाट सम्पादन गरिरहेको भन्दै शिक्षा मन्त्रालयको आलोचना भईरहेको छ । कक्षा ११ र १२ मा उपसचिवलाई तथा कक्षा १० मा सहसचिवलाई नियन्त्रकको जिम्मेवारी दिईदाँ निजामती प्रशासनको पद सोपानलाई नजर अञ्दाज गरेको गुनासो पनि उत्तिकै छ । बोर्ड र उक्त कार्यालयमा समान पदीय हैसियतका मान्छे नियन्त्रक बनाउनु भन्दा पहिले बोर्डले कक्षा १० को परीक्षा प्रदेश स्तरमा सञ्चालनको व्यवस्था गर्ने र १२ को अन्तिमको परीक्षा संघीय संरचना अन्र्तगत सञ्चालन गर्ने गरी आफ्नो क्षमता वृद्धि नगरे सम्म कक्षा १० को परीक्षा पुरानै ‘धंङधंङी’मा जारी रहने पक्का छ ।
गत चैत्रमा सञ्चालित कक्षा १० को परीक्षामा नियमित समूहबाट सम्मिलित भई सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका परीक्षार्थीले आफूले चाहेको विषयमा ग्रेडवृद्धि (पूरक) परीक्षामा सम्मिलित हुन सक्ने गरी शिक्षा मन्त्रालयले नयाँ ब्यवस्था गरेको छ । आगामी भदौ १ गतेबाट शुरु हुने उक्त परीक्षामा उक्त समूहका सबै विद्यार्थीले सहभागिता जनाए भने मिनि एसईई हुने र परीक्षाको मर्यादामै प्रश्न उब्जिने भन्दै शिक्षा मन्त्रालयको उक्त निर्णयको आलोचना भईरहेको छ । मन्त्रालयले भने परीक्षा नियन्त्रण कार्यालयको अघिल्लो सूचना भूलवश जारी भएको स्पष्टिकरण दिदैं सी वा सी भन्दा कम ग्रेड प्राप्त गरेका सबै विद्यार्थीले आफूले चाहेको विषयमा ग्रेड वृद्धि गर्न परीक्षामा सम्मिलित हुन सक्ने व्यवस्था गरेको जनाएको छ ।
प्रतिक्रिया