• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    रेखाको घर र सम्पत्ति नेकपाको कब्जामा, विज्ञप्तिमार्फत जनपरिषद प्रमुखले गरे यस्तो घोषणा

    36.1K
    SHARES


    टीकापुर ।प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीले कैलालीमा जनतालाई ठग्दै आएका एक ब्यापारीको घरसम्पत्ति कब्जा गरेको छ । कैलालीको टीकापुर नगरपालिका १ बजार क्षेत्रमै रहेको एक व्यापारीको घरमा नेकपाको थारुवान् स्वायत्त प्रदेशले आफ्नो झन्डा गाडेर कब्जामा लिएको हो। थारुवान् स्वायत्त प्रदेश एरिया नम्बर १ जनपरिषद् टीकापुरले विज्ञप्ति जारी गर्दै व्यापारी रेखा कडायतको घरलगायत सम्पत्ति कब्जामा लिएको जनाएको छ। जनपरिषद् प्रमुख विमर्शले सार्वजनिक गरेको विज्ञप्तिमा टीकापुरमा अवैधानिक ढंगबाट मिटर ब्याज, ढुकुटी जस्ता वित्तीय कारोवार गर्न संलग्न रहेको, सामान्य जनताले दही, दुध, घिउ, गाईं, भैंसी बेचेको पैसा लिएर ठगेको आरोप लगाइएको छ।

    त्यस्तै कडायतले राज्यलाई कर छली गरेको र पैसा दिएवापत् ठूलो ब्याज दिने भन्दै प्रलोभनमा पारेर करोडौं रुपैयाँ खाएर भागेकाले कडायतको घर र सम्पत्ति कब्जामा लिएको उल्लेख छ। विज्ञप्तिमा सबै जनताको रकम फिर्ता नगरेसम्म कडायतको घर र सम्पत्ति कब्जामा लिइने उल्लेख छ। कडायत टीकापुरमा सञ्चालित रेखा ब्युटीपार्लरकी सञ्चालक हुन्। उनलाई ढुकुटी र मिटर ब्याजको नाममा करोडौं ठगी गरेर फरार रहेको आरोप लाग्दै आएको छ। उनी एक वर्ष यता टीकापुरभन्दा बाहिर रहेको स्थानीय बताउँछन्।

    यसैबीच सरकारले एकातिर वार्ताको हल्ला फिजाएर अर्को तिर आफ्ना नेता कार्यकर्ता गिरफ्तार गर्ने र ब्यापक धरपकड गर्न कार्य गर्न थालेपछि नेपाल कम्युनिस्ट पार्टीले बन्दसहितका संघर्षका कार्यक्रम घोषणा गरेको छ । पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार विज्ञप्ति जारी गर्दै पार्टी उपत्यका व्युरो इन्चार्ज तथा जनसास्कृतिक मोर्चाका केन्द्रिय अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई सरकारले गिरफ्तार गरेकोप्रति निन्दा र घोर भत्र्सना गरी तुरुन्त रिहाइको माग गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

    संघर्षका कार्यक्रम अनुसार साउन १५ गते बागमती, नारायणी, जनकपुर, रामेछाप र दोलखा जिल्ला बन्द घोषणा गरेका छन् । प्रवक्ता प्रकाण्डले विज्ञप्तिमा भनेका छन्, ‘साउन ४ गते राती सुतिरहेको समयमा काठमाडौं, काँडाघारीबाट नेपाल कम्युनिस्ट पार्टीका उपत्यका व्युरो इन्चार्ज तथा सांस्कृतिक मोर्चाका अध्यक्ष माइला लामा ‘प्रज्वल’लाई राष्ट्रघाती, व्यभीचारी, लुटेरो, दलाल, हत्यारो, गुण्डा नायक प्रहरीभित्रको बदनाम गिरोहले गिरफ्तार गरेको छ । यसले आफ्नै काठमाडौं अदालत समक्ष गिरफ्तारीको औचित्य पुष्टि गर्न र प्रमाण पेश गर्न पनि सकेन । त्यसपछि नाङ्गो झुठ र नक्कली बहानामा जेल चलान गर्यो । ओली–बादल मण्डलीको यसप्रकारको इतिहासकै तानाशाहहरुको हर्कत माथ गर्ने निरंकुश र आततायी गिरफ्तारी एवं दमनको पार्टी निन्दा र घोर भत्र्सना गर्दछ र माइला लामाको रिहाइको माग गर्दछ ।’

    ‘२०६२/०६३ सालमा भएको शान्ति वार्ताको नाममा प्रचण्ड–बाबुरामको बेइमानी र पलायन, संसदवादीहरुको यथास्थितिवादी चिन्तन र विदेशी शक्ति केन्द्रको हस्तक्षेपमा देश र जनतामाथि प्रतिक्रान्ति लादियो । त्यसको विरुद्ध हाम्रो पार्टीले लगातार संघर्ष गर्दै आएको छ । देश राजनीतिक संकटतिर झन्झन् फस्दै गएको छ । हाम्रो पार्टीमाथिको प्रतिबन्धले ओली सरकार राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपले नाङ्गिएको र संकटमा परेको छ । त्यही संकटमाथि पर्दा हाल्न वार्ताको हल्ला गरेको छ । सरकारको वार्ताको हल्लाभित्र पार्टी र जनक्रान्ति दमन गर्ने भयानक षड्यन्त्र बाहेक अरु केही छैन । त्यसकारण दमन, षड्यन्त्र र हत्या बन्द गर्न चेतावनीसहित निम्न संघर्षका कार्यक्रम घोषणा गर्दछ ।’ प्रकाण्डले बिज्ञप्तिमा भनेका छन् ।

    यस्तै पार्टीका प्रबक्ता प्रकाण्डले नेता कार्यकर्ता गिरफ्तारीका बिरुद्ध बन्दसहिताका संघर्षका कार्यक्रम घोषणा गरेकै दिन प्रहरीले नेकपा कास्कीका सेक्रेटरी लोकेन्द्र बिकलाई पनि गिरफ्तार गरेको छ । उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले दिसो साढे ३ तिर पोखराको मालेपाटनवाट गिरफ्तार गरेको जनाइएको छ । पार्टी कामको शिलशिलामा रहेका सेक्रेटरी सुजनलाई जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखराको मालेपाटन वाट गिरफ्तार गरेर अबस्था अज्ञात राखेको नेकपा कास्कीले जनाएको छ । यस अघि तनहुँ जिल्लाको सेक्रेटरी रहेका सुजन कास्कीका सेक्रेटरी आक्रोश गिरफ्तार परेपछि भर्खरै मात्र सरुवा भएर कास्की आएका थिए ।

    यसअघिका सेक्रेटरी आक्रोशसंगै प्रहरी अखिल क्रान्तिकारीका २२ जना नेता कार्यकर्तालाई एकै पटक कास्कीको घान्द्रुकवाट गिरफ्तार गरेको थियो । शुक्रबार मात्रै पनि नेकपानिकट युवा सङ्गठनका २ जना नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ। युवा संगठन जाजरकोटका अध्यक्ष खड्क बहादुर सिंह र सुर्खेत जिल्ला सदस्य हिरु सिंहलाई शुक्रबार प्रहरीले गिरफ्तार गरेको उक्त पार्टीले जनाएको छ । दुवै जनालाई शुक्रबार सुर्खेतबाट पक्राउ गरिएको बुझिएको छ ।

    यस्तै उता नेकपाका धनकुटा-मोरङ सेक्रेटरी दिपक राईलाई प्रहरीले गिरफ्तार गरेको छ । मोरङको केराबारी गाउँपालिका-३ घर भएका राईलाई बिहीबार बिहान गिरफ्तार गरिएको मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । केराबारीकै एउटा घरमाबसीरहेको अवस्थामा उनलाई गिरफ्तार गरिएको उपरीक्षक अधिकारीले जानकारी दिए ।

    उता नेपाल कम्युनिष्ट पार्टीले कास्कीका प्रमुख जिल्ला अधिकारी र जनप्रतिनिधिलाई कारबाही गर्ने गर्ने चेतावनी दिएको छ । उनीहरुको मिलोमतोमा तिव्वतियन नागरिकलाई नेपाली नागरिकता बनाइदिएको समाचार बाहिएपछि नेकपाले त्यस्तो चेतावनी दिएको हो । त्यसरी तिव्वती नागरिकलाई नेपाली नागरिकता बनाउने कार्यमा संलग्न जिल्ला प्रसाशन कार्यालयका कर्मचारीहरुलाई तत्काल कारबाही नगरे प्रमुख जिल्ला अधिकारी र लेखनाथ पोखरा महानगरपालिका १८ का वडा अध्यक्ष राना बहादुर थापालाई कडा कारवाही गर्ने नेकपाले चेतावनी दिएको छ । जिल्ला प्रसाशन कार्यालय कास्की र वडा नम्बर १८ का अध्यक्षको मिलोमतोमा २ जना तिव्वती नागरिकलाई नेपाली नाममा नागरिकता बनाइएको घटना बाहिर आएको थियो ।

    सरु थापा मगर, ४६०१०७६-२०३९ र टासी आङ्गवो थापा मगर ४६०१०७६-०१६३३ नागरिकता नम्बर भएका व्यक्तिलाई गत जेठ १६ र असार ६ गते नागरिकता बनाइदिएको घटना बाहिरिएपछि नेकपा आक्रोशित भएको हो । उनीहरु दुवै जनालाई पोखरा लेखनाथ महानगरका लेख बहादुर थापालाई बाबु बनाएर नागरिकता बनाइदिएका थिए । यसरी बिदेशी नागरिकलाई गैरकानुनी तरिकाले नेपाली नागरिकता दिलाउने कर्मचारी र जनप्रतिनिधिलाई तत्काल कारवाही गर्नुको साटो झन् जोगाउने योजनामा जिल्ला प्रसाशन कार्यालय लागि परेको भन्दै नेकपाले आफुहरुले कारबाही गर्नुपर्ने परिस्थिति आउनसक्ने बताउदै एक प्रेस बिज्ञप्ति जारी गरेको छ ।

    नेकपा कास्कीका सेक्रेटरी इमामले एक प्रेस बिज्ञप्ति जारी गर्दै विभिन्न संचारमाध्यमले घटनाको पुष्टी गर्दै समाचार प्रकशित गरिसकेको अबस्थामा पनि संलग्न कर्मचारीहरुलाई कारबाही नगरेर देशद्रोही र राष्ट्रघटी काम गर्ने काम गरेको बताउदै नेकपाले आफुहरु जुनसुकै तहको कारबाही गर्न बाध्य हुने बताएको छ ।

    यसैबीच नेकपाले ‘संगठन सुदृढीकरण तथा बिस्तार अभियान’ सरकारको दमन तथा धरपकडका बाबजुत बैठक, छलफल, भित्तेलेखन, जनश्रमदान, शहर तथा गाउँगाउँमा भेला तथा प्रशिक्षण लगायत नेता तथा कार्यकर्ताहरु अभियानमा होमिएका छन् । प्रहरी प्रशासनले नेकपाका नेता कार्यकर्ताको खोजी र गिरफ्तारी बढाइरहेका बेला उनीहरु भने अभियान लिएर नागरिकको घरदैलोमा पुगेका छन् । केहिदिन अघिमात्र काठमाडौंको काँडाघारीबाट नेकपाका केन्द्रीय नेता तथा जनप्रिय कलाकार माइला लामालाई प्रहरीले गिरफ्तार गरी जेल चलान गरिसकेको छ । देशभरबाट नेकपाका नेता कार्यकर्ता पक्राउ गर्ने क्रम जारी छ ।

    नेकपाका महासचिव विप्लवले भने केहि दिन अघि एक विज्ञप्ति जारी गर्दै सरकारको यस्तो रवैयाप्रति सशक्त प्रतिरोध गर्ने बताएका थिए । यतिबेला नेकपाका नेता कार्यकर्ता भने सुरक्षा चुनौतिका बाबजुद प्रतिबन्धको सामना गर्दै संगठन सुदृढीकरण तथा बिस्तार अभियानमा तिव्र रुपले लागिपरेका छन् । यतिबेला सत्तामा रहेको दुईतिहाई बहुमतको कम्युनिस्ट सरकारले नै नेकपाका नेता कार्यकर्तामाथि गोली प्रहार गर्ने आदेश सुरक्षा निकायलाई दिइसकेको छ भने तीन जना नेता कार्यकर्ता प्रहरीको गोलीबाट मारिएका छन् । यता नेपाल कम्युनिस्ट पार्टी सुनसरीले जिल्लामा सांगठनिक अभियानलाई तिब्रताको साथमा जनताको घरघरमा गई सञ्चालन गरिरहेको छ ।

    संगठन बिस्तार तथा सुदृढीकरण अभियान सँगसँगै भित्तेलेखनलाई पनि तिब्रताका साथ अघि बढाइएको जिल्ला सेक्रेटरी सन्देशले बताए । जनताले यो व्यवस्था र राज्यसत्ताको विकल्प खोजेको भन्दै अब सबै नेपाली जनताले वैज्ञानिक समाजवाद नै अबको विकल्प रहेको पनि उनले बताए । नेकपाले जिल्लाका सबै उप–महानगरपालिका, नगरपालिका र गाँउपालिकाका विभिन्न स्थानमा भित्तेलेखनसमेत गरिरहेको जिल्ला स्तरीय नेता क्षितिजले बताए । धरान उप–महानगरपालिका, इटहरी उप–महानगरपालिका, बराह नगरपालिका, इनरुवा नगरपालिका, दुहबी नगरपालिका र रामधुनी नगरपालिका लगायतका स्थानमा स्थानीय बासिन्दाको सक्रियतामा भित्तेलेखन गरिएको उनले बताए ।

    नेकपाले भित्तेलेखनमा एकीकृत जनक्रान्ति – जिन्दावाद, दलाल पँुजीवादी सत्ताको विकल्प – बैज्ञानिक समाजबाद, जन हत्यारा सरकार – मुर्दाबाद, नेकपामाथि लागएको प्रतिबन्ध – खारेज गर, भ्रष्टाचारीहरुको सम्पत्ति – राष्ट्रियकरण गर, जनसत्ता – लागु गरौं, बैज्ञानिक समाजवाद – जिन्दावाद, संसदीय व्यवस्था – मुर्दावाद लगायतका दर्जनौं नाराहरु लेखेका छन् ।

    प्रतिक्रिया