• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियो ओली प्रचण्डको हेडक्वार्टर बैठक, नेता कार्यकर्तालाई चकित पार्दै भयो यस्तो सहमति

    10.8K
    SHARES

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको हेडक्वार्टर बैठक सकिएको छ । बैठकले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको छ। आइतबार प्रधानमन्त्री निवासमा बसेको सचिवालयको बैठकले सबै जिल्लाका इन्चार्ज र सह-इन्चार्जको टुंगो लगाएको हो । बैठकले ६ महानगरपालिकामा पनि जिम्मेवारी बाँडफाँट गरेको उक्त पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनले आइतबार बेलुकीसम्म नामावली सार्वजनिक हुने बताए। दुइटा साविक पार्टीका इन्चार्जहरु मध्ये एकलाई नै अहिले इन्चार्ज र सह-इन्चार्ज तोकिएको उनले प्रस्ट पारे। आइतबारको बैठकले विभाग भने गठन गर्न सकेन। विभिन्न विभाग, आयोग र निकाय र प्रवास विभाग एकीकरणका टुंगो लगाउन मंगलबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुन: सचिवालय बैठक बोलाइएको उनले बताए।

    विभाग गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन लगायत विषयमा छलफल गर्न भन्दै नेकपा सचिवालय बैठक बसेको हो। महत्वपूर्ण विभागका बारेमा खासै सहमति जुट्न सकेको छैन । ‘विभागबारे कुनै सहमति भएन’, श्रेष्ठले भने, ‘पर्सि टुंगो लाग्ला।’ सचिवालय बैठक बस्नुअघि आफ्नो भागमा परेका विभागको नेतृत्व कसलाई दिने भन्नेबारे छलफल गर्न आइतबार बिहान पूर्वमाओवादी केन्द्रका नेताहरूको बैठक नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा भएको थियो।

    ‘बैठकमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रचार विभाग प्रमुखको जिम्मेवारी लिनुस् भनियो तर उहाँले स्कुल विभाग नछोड्ने बताएपछि सचिवालयमै टुंगो लगाउने गरी हामी उठ्यौं,’ एक स्थायी समिति सदस्यले भने। पूर्वमाओवादी केन्द्रका नेताहरूले जनताको बहुदलीय जनवादलाई नै पार्टीको कार्यदिशा बनाउनु पर्छ भनी वकालत गरिरहेका सचिवालय सदस्य ईश्वर पोखरेललाई पार्टीको नीति कार्यक्रम र कार्यदिशाबारे छलफल चलाउने स्कुल विभागको जिम्मेवारी दिन नहुने तर्क गरेका छन्।

    ‘बरु स्कुल विभाग पार्टी अध्यक्षहरूले नै राख्दा हामी सहमत छौं तर ईश्वर कमरेडलाई जिम्मेवारी दिने विषयमा छलफल गरियोस् भन्ने हाम्रो धारणा हो,’ एक नेताले भने।  यही विषयमा यसअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच पनि छलफल भएको थियो। स्कुल विभागमा श्रेष्ठ र पोखरेलको दाबेदारी भएपछि यसलाई पार्टी अध्यक्षले नै राखौं भनेर उनीहरूले छलफल सकेको स्रोतले बतायो। स्कुल विभागको टुंगो नलाग्दा नेकपाभित्रका पूर्वमाओवादी पक्षधरले आफ्नो भागमा परेको आर्थिक विभागमा कसलाई पठाउने भन्ने निधो गर्न सकेको छैन।

    पार्टीमा ३२ वटा विभाग रहे पनि संगठन विभाग, विदेश विभाग, आर्थिक विभाग, प्रचार विभाग र स्कुल विभाग महत्त्वपूर्ण मानिन्छन् । त्यसमा सचिवालयमा रहेका वरिष्ठ नेताहरूलाई राख्ने समझदारी भएको छ । स्रोतका अनुसार विदेश विभागको जिम्मेवारी पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपाललाई दिइनेछ । उनले तत्कालीन एमालेमा लामो समयसम्म विदेश विभागकै जिम्मेवारी सम्हालेका थिए । अहिले पनि उनी विदेश मामिलामा चासो राख्छन् ।

    यो विभागमा अर्का वरिष्ठ नेता झलनाथ खनाल र सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले पनि चाहना राखेका थिए । पार्टीभित्रको शक्ति सन्तुलन मिलाउन नेपाललाई नै उक्त विभाग दिने निष्कर्षमा अध्यक्षद्वय ओली र दाहाल पुगेका छन् । पार्टीभित्र अर्को शक्तिशाली मानिने संगठन विभाग वामदेव गौतमले लिन चाहेका छन् । यो विभागका लागि ईश्वर पोखरेल र रामबहादुर थापाको नाम पनि सूचीमा छ । तर तत्कालीन एमालेको अध्यक्ष हुँदै प्रधानमन्त्री बनेपछि ओलीले बेवास्ता गरेको भन्दै गौतम चिढिएकाले उनलाई थुमथुम्याउनुपर्ने बाध्यता ओलीलाई परेको छ । गौतमका लागि अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक रहेको एक नेताले जानकारी दिए । यो विभाग एमाले पक्षमा रहने खालको सहमति भएकाले थापाले चाहना राखे पनि नहुने सम्भावना छ ।

    प्रचार विभागमा माओवादी पक्षले लिने समझदारी भएको छ । सचिवालयभित्रैबाट पर्ने भएकाले प्रवक्ता श्रेष्ठलाई जिम्मेवारी लिन नेताहरूले जोडबल गरेका छन् । श्रेष्ठले नमानेको अवस्थामा मात्र प्रचार विभागको जिम्मेवारी स्थायी समिति सदस्य तहका नेताले पाउने छन् । त्यस्तो भए तत्कालीन माओवादीभित्र उक्त विभाग सम्हालेकी पम्फा भुसालले जिम्मेवारी पाउन सक्छिन् । आर्थिक विभागमा महासचिव विष्णु पौडेलले आकांक्षा राखेका थिए । तर यो विभाग पूर्वमाओवादी पक्षले लिने समझदारी भएको छ । नेताहरूबीच अध्यक्ष र महासचिवले थप विभागको जिम्मेवारी नलिने भन्ने अनौपचारिक सहमति पनि छ । त्यसैले पौडेलले पार्टीको समग्र काम हेर्नेछन् । अन्य विभागमा नेतृत्व लिन स्थायी समितिका नेताहरूले आन्तरिक लबिइङ तीव्र बनाएका छन् ।

    प्रतिक्रिया