• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली प्रचण्डबीच फेरी ‘वान टू वान’ वार्ता, भयो यस्तो सहमति, नेता कार्यकर्ता नै दंग

    13.4K
    SHARES

    काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका दुई अध्यक्षबीच वान टू वान छलफल भएको छ । पार्टीमा पछिल्लो समय देखिएको गतिरोध अन्त्य गर्ने विषयमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलबीच बुधबार बिहान छलफल भएको हो ।

    प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा राजनीतिक दस्तावेज सार्वजनिक गर्ने, नेताहरूको कार्यविभाजन र मन्त्रीमण्डल हेरफेर लगायतका विषयमा सहमति भएको स्रोतले जनाएको छ ।

    गत शनिबार बसेको सचिवालय बैठकमा राजनीतिक दस्तावेज पुनर्लेखन गर्ने या नगर्ने भन्ने विषयमा मत नमिलेपछि नेताहरू निर्णय नगरी उठेका थिए । त्यसलगत्तै चितवन गएका अध्यक्ष प्रचण्ड मंगलबार काठमाडौं फर्केपछि आज दुई अध्यक्षबीच परामर्श भएको हो।

    अघिल्लो वर्ष जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएको थियो । तर, एकताले अझैँ पूर्णता पाउन सकेको छैन । एकताले पूर्णता नपाउँदै पार्टीभित्र चर्काे मतभेद देखिन थालेको छ । खासगरी पार्टीले अंगिकार गर्ने ‘विचार’का विषयमा मतभेद देखिएको छ ।

    पूर्वएमालेभित्रको संस्थापन पक्ष जनताको बहुदलीय जनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त हुनुपर्छ भन्ने पक्षमा छ भने पूर्वमाओवादीका नेताहरु एकताका बेला सहमति भएअनुसार जनताको जनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त हुनुपर्छ भन्नेमा छन् । आलोपालो नेतृत्वको विषयलाई लिएर पनि पार्टीभित्र मतभेद देखिएको छ ।

    त्यस्तै पार्टी आन्तरिक विवादमा फसिरहेका बेला नेकपाको एक पक्षले उपेन्द्र यादव/बाबुराम भट्टराई नेतृत्वको समाजवादी पार्टीसँग एकताको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । खास गरी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समाजवादी पार्टीसँग एकता गर्नुपर्ने पक्षमा छन् ।

    प्रचण्डले माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समेत त्यसमा सहमत गराइसकेको दाबी स्रोतको छ । स्रोतका अनुसार अनौपचारिक च्यानलमार्फत प्रचण्ड–बाबुराम–उपेन्द्रबीच एकता वार्ता अघि बढेको छ ।

    यद्यपि त्यसबारे दुवै पक्षले केही बताएका छैनन् । भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डे केही दिनयता एकताका लागि वातावरण बनाउन भित्रभित्रै सक्रिय भएका छन् । यो बीचमा पाण्डेले नेकपाका दोश्रो पुस्ताका नेताहरुसँग छलफल पनि गरेका छन् ।

    ‘२०५२ सालपछिका परिवर्तनकारी शक्तिबीच एकता हुनुपर्छ भन्ने उहाँहरुको जोड रहेछ’, पाण्डेसँग भेटेका नेकपाका एक नेताले भने । पार्टीको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद उल्लेख गरेर जानुपर्ने प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी ओलीको प्रस्तावपछि प्रचण्ड झस्किएका छन् ।

    उनले दुई पार्टीबीच एकता गर्दा भएको सहमतिअनुसार तत्कालको पार्टीको अन्तरिम कार्यदिशा ‘समावजाद उन्मुख जनताको जनवाद’ हुनुपर्ने मा माधव नेपाल, झलनाथ खनाल र बामदेव गौतमलाई समेत सहमत गराएका छन् । उनीहरुकै असहमतिका कारण शुक्रबारको सचिवालय बैठकमा ओलीले गरेको बहुदलीय जनवादको प्रस्तावमा सहमति जुट्न सकेन ।

    यस्तै आलोपालो सरकारको नेतृत्वबारे पनि ओली–प्रचण्ड विवाद सतहमै आएको छ । सार्वजनिक भएको गोप्य दस्तावेजले पाँच वर्षे कार्यकालमा सरकारले नेतृत्व दुई नेताले आलोपालो गर्नेबारे बोलेको छ । तर, प्रधानमन्त्रीको टिमका केही सदस्यले भने त्यस्तो सहमति हुँदै नभएको बताउँदै आएका छन् ।

    यसैबीच प्रचण्डदेशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिएका छन् । भरतपुर महानगरपालिकाको चौथो नगरसभाको उद्घाटनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाको बाँकी काम र विकासका मुद्दामा काङ्ग्रेससँग मिलेर अघि बढ्नुपर्ने बाध्यात्मक अवस्था रहेको बताए ।

    उनले भने, ‘हामीले नचाहेपनि शान्ति प्रक्रियाका काम पूरा गर्न प्रतिपक्षसँग मिल्नैपर्छ, प्रधानमन्त्री केपी ओली, शेरबहादुरजी र मेरोबीचमा लगातार छलफल भइरहेको छ ।’ प्रचण्डले थपे, ‘हामी एक्लै हिंड्न सक्ने अवस्थामा छैनौँ, शान्ति पक्रियामा मिलेर ग¥यौँ, संविधान मिलेर ल्यायौँ, हामी एउटै डुङ्गामा यसरी चढेका छौँ, त्यहाँबाट फुत्किनु भनेको अर्को दुर्घटना हुनुबाहेक केही होइन ।’

    अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपाका नेता ढिलो चाँडो आफ्नै पार्टीमा आउनेमा विश्वास व्यक्त गर्दै भने, ‘जसरी साथी फर्किरहनुभएको छ त्यसरीनै विप्लवजी आउनु हुन्छ ।’ शान्ति सम्झौतापछि दुई वर्षसम्म चन्द आफ्नो सचिवालयको मुख्य सचिवको रुपमा रहेर काम गरेको स्मरण गर्दै उनले चन्दमा केही असन्तुष्टि भने त्यतिबेला पनि देखिएको बताए ।

    उनले पैसाको अभावमा भरतपुरमा निर्माण हुन लागेको रङ्गशालाको काम रोकिन नदिने विश्वास दिलाए । महानगरलाई नमूना बनाउन सुझाव दिँदै भ्रष्टाचाररहित महानगर बनाउनुपर्ने बताए । यहाँको विकास समग्र देशसँग जोडिने भएकाले सोहिअनुसार काम गर्न उनको आग्रह थियो ।

    कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सङ्घ, प्रदेश र स्थानीय तीनै तहको समन्वय हुन सके समृद्धि हासिल गर्न सहज हुने बताए । उनले भने, ‘विकासका लागि तीनैतहका सरकारबीच पर्याप्त समन्वय हुनुपर्दछ अनि मात्र समृद्धि हासिल गर्न सहज हुन्छ ।’

    कार्यक्रममा सङ्घीय सांसद कृष्णभक्त पोखरेल, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठ, नेपाल कम्युनिष्ट पार्टी नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार, नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष सहनलाल प्रधान, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी, भरतपुर महानगरपालिकाका प्रवक्ता अरुणपीडित भण्डारीलगायतले महानगरेको विकासमा सबैलाई एक हुन आग्रह गरे ।

    सो अवसरमा महानगर प्रमुख रेनु दाहालले नीति तथा कार्यक्रमहरु प्रस्तुत गरेकी थिइन् । महानगरले ल्याएको नीति तथा कार्यक्रमहरु कार्यान्वयनका लागि आर्थिक वर्ष २०७६÷७७ का लागि रू तीन अर्ब ३७ करोड ३१ लाख १७ हजार बजेट विनियोजन गरेको छ । कार्यक्रममा उपप्रमुख पार्वती शाह ठकुरीले प्रस्तावित बजेट प्रस्तुत गरिन् । महानगरमा उत्कृष्ठ काम गर्ने वडा नम्बर ८ का अध्यक्ष दामोदर न्यौपानेसहित विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ