अछाम । बिद्रोही नेपाल कम्युनिष्ट पार्टीले अछामका एक जना नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको हित बिपरित गतिविधि गरेको गम्भीर आरोप लगाउदै पार्टीले शिक्षक संगठनका जिल्ला अध्यक्ष मन बहादुर बयकलाई निष्काशन गरेको हो ।
बयकले बिगत केही महिनादेखि सत्तारुढ नेकपासँग साँठगाठ गरेर पार्टीका बिरुद्ध शंकास्पद गतिविधि गरेको गम्भीर आरोप लगाएको छ । नेकपाले बयक सरकारको मतियार बन्दै केही बर्गघात गर्ने सम्मका निकृष्ट गतिबिधिमा संलग्न रहेका कारण उनलाई आजकै मितिदेखि पार्टीको साधारण सदस्य र शिक्षकको समेत कुनै तहको सदस्य नरहने गरी निष्काशन गरेको छ ।
नेकपा अछामका जिल्ला सेक्रेटरी जय सिंहले शनिबार एक प्रेस बिज्ञप्ति जारी गर्दै उनलाई निष्काशन गरेको जानकारी दिएका छन् । उनले सञ्चार केन्द्रसँग टेलिफोनमा कुरा गर्दै आफ्नो पार्टी जनताको मुक्तिका लागि लडीरहेको सर्वहारावर्गको अग्रदस्ता पार्टी भएका कारण यस्ता अन्तर्घात गर्नेलाई पार्टीले कारबाही गर्दै निश्कासन गरेको बताए ।
साथै जय सिंहले बयक लामोसमयसम्म पार्टीको सम्पर्कमा रहन नखोजेको आफ्नो जिम्मेवारीको काम नगर्ने तर सरकारको मतियार बनेर आफ्नै पार्टी विरुद्धमा गतिविधि गर्ने जस्ता हर्कत गरेका कारण आन्तरिक निगरानीमा समेत रहेका बेला शंकास्पद गतिविधि गरेको पुष्टी भएपछि कारबाही गरिएको बताए ।
बयक जस्ता खराब पात्र आफ्नो पार्टीमा अरु पनि हुनसक्ने भन्दै जयसिंहले यस्तालाई कारबाही गर्दै जाने र पार्टीलाई सुदृढ बनाउदै सशक्त बनाएर अगाढी बढाउने समेत बताए । सरकारले नेकपाका राजनीतिक गतिबिधिमाथि प्रतिबन्ध लगाएपछि पार्टी भित्र रहेका केहिले आत्मसमर्पण गर्ने त केहिले पार्टी छोड्ने गरेका छन् ।
अछाममै पनि पार्टीको बैकल्पिक केन्द्रीय सदस्य बन्धु चन्दलगायत केही नेता कार्यकर्ता प्रहरी हिरासत हुँदै जेलमा रहेका छन् भने केही खराब नेता-कार्यकर्ताले यसरी पार्टीकै बिरुद्ध गतिविधि गर्ने र अन्तमा पार्टी छोड्ने गरेको जयसिंहले बताए । उनले यस्ता कार्यकर्ता साइड लाग्दा पार्टी र आन्दोलनलाई घाटा नहुने समेत दाबी गरे ।
प्रतिक्रिया