• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मध्यराति प्रहरीको घेराबन्दीमा पोखरा उच्च अदालत, भित्र नेकपा नेता कार्यकर्ता, बाहिर प्रहरीको धर्ना

    13.8K
    SHARES

    काठमाडौं । रिहा भएका नेपाल कम्युनिष्ट पार्टी नेता कार्यकर्तालाई पुनः गिरफ्तार गर्न नेपाल प्रहरीले पोखरास्थित कास्की उच्च अदालतलाई घेराबन्दी गरेको छ । साँझ ४ बजेदेखि प्रहरीले पोखराको मुस्ताङ चोकमा रहेको उच्च अदालतलाई घेराबन्दीमा राखेको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा गण्डक न्युरो संयोजक मिलन राईले संचारकेन्द्रलाई बताए ।

    कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुकबाट गिरफ्तार परेका २२ मध्ये ९ जना नेता कार्यकर्तालाई रिहा गर्न उच्च अदालत कास्कीले बिहिबार आदेश दिएको थियो ।

    अदालतको उक्त आदेश आएसँगै प्रहरीले अदालत परिसरबाहिर सुरक्षा सतर्कता बढाएको थियो । रिहा भएका ९ जना नेता कार्यकर्ताले प्रहरीले पुनः आफूहरुलाई गिरफ्तार गर्ने तयारी गरेको सूचना पाएपछि अदालत परिसरभित्रै बसेका छन् भने अहिले राति साढे दश बजिसकेको अवस्थामा समेत प्रहरीले उनीहरुलाई गिरफ्तार गर्न बाहिर धर्ना दिएको छ ।

    अदालतले नेकपा कास्कीका सेक्रेटरी आक्रोशसहित अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य द्वय मिलन राई, काजी गुरुङ त्यस्तै विद्यार्थीकै सुजन सापकोटा, प्रकाश बास्तोला, सन्तोष परियार, गगन परियार, राजन साउद र आस्था नेपालीलाई रिहा गर्न आदेश दिएको हो । तर प्रहरीले भने आफूहरु ९ जनालाई नै पुनः गिरफ्तार गर्न बाहिर घेराबन्दी गरेको अदालत परिसरभित्र रहेका राईले संचारकेन्द्रलाई जानकारी दिए । यो समाचार तयार पार्दासम्म अदालतबाहिर ठुलो संख्यामा प्रहरी परिचालन भएको छ ।

    ‘राति साढे १० बजिसक्यो अदालत भित्र उहाँहरु ९ जना हुनुहुन्छ, बाहिर प्रहरीले आफ्नो पहरा बढाएको छ । अहिले बाक्लो रुपमा प्रहरी उपस्थित भएको छ । ५ भ्यान सशस्त्र प्रहरीको गाडी बाहिर छ ।’ घटनास्थलन जिकैबाट एकजना प्रतक्ष्यदर्शीले संचारकेन्द्रसँग टेलिफोनमा भने, -‘प्रहरीले पुनः उहाँहरुलाई नसमाति नछोड्ने जस्तो देखिन्छ ।’

    पार्टीनिकट विद्यार्थी सङ्गठन अखिल ‘क्रान्तिकारी’को बैठक बसिरहेका बेला बैठकस्थल नै घेराबन्दीमा पारेर कास्की प्रहरीले सेक्रेटरी आक्रोशसहित २२ जनालाई गत शनिबार गिरफ्तार गरेको थियो ।

    अन्नपूर्ण गाउँपालिकाको घान्द्रुकमा विद्यार्थी सङ्गठनको वैठक बसिरहेकै अबस्थामा शनिबार अपरान्ह ४ बजेबाट प्रहरीले वैठकस्थल घेराबन्दी गरेको थियो । प्रहरीले नेकपा नेता कार्यकर्तालाई घेरा हालेपछि स्थानीय आमा समूहले प्रतिकार गरेको थियो ।

    तर प्रहरीले सबैलाई गिरफ्तार गरेर हिरासतमा राख्ने धम्की दिएपछि आमा समुह पछि हटेको प्रत्यक्षदर्शीले बताएका थिए । दिउसो ४ बजेदेखिको घेराबन्दी राखेका नेता कार्यकर्तालाई समात्न राति १० बजे जिल्ला प्रहरी कार्यालयबाट थप फोर्स मगाएर गिरफ्तार गरेको थियो ।

    प्रतिक्रिया