• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    काठमाडौंका नेवारहरुले यसकारण खान थाले राँगाको मासु, यस्तो अनौठो छ रहस्य

    27.2K
    SHARES

    काठमाडौं । उपत्यकाको सबैभन्दा लामो जात्रा मच्छिन्द्रनाथको भोटो देखाएसँगै आइतबार सकिएको छ। जात्रामा भोटो हेर्न राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थिति थियो। भण्डारीले मच्छिन्द्रनाथको दर्शन गरेपछि रथको देब्रेतिर उत्तर फर्केको ठाउँमा आसिन जीवित देवी कुमारीले आशीर्वाद दिइन्।

    जीवित देवी मानिने कुमारी रथमा बसेर जात्रा हेर्छिन्। आशीर्वाद दिन्छिन्। र त्यसभन्दा पनि महत्वपूर्ण कुरा जात्राका क्रममा विघ्नबाधा नपरोस् भनेर रथमा सवार भएर बस्छिन्।

    उनलाई जात्राको रक्षक मानिने जात्रा सञ्चालकहरू बताउँछन्। ३२ पानेजु संघका अध्यक्ष तथा मच्छिन्द्रनाथका पुजारी (पानेजु) यज्ञरत्न शाक्यले एउटा किम्वदन्ती सुनाए। अन्नपूर्ण पोस्टमा समाचार छ ।

    परापूर्वकालमा उपत्यकामा श्वेतकाली, रक्तकाली, भद्रकाली र महाकाली चार जना दिदीबहिनी राज्य गर्थे। उनीहरू चार जनामध्ये सबैभन्दा जेठी श्वेतकाली थिइन्। उनकी एकमात्र छोरी ‘कुमारी’ हुन्। त्यसै समयमा दानासुर दैत्य भैंसी चढेर उपत्यकामा आक्रमण गर्न आए। दानासुर र उनका सेनामेना देखेपछि चार जना दिदीबहिनी डराए। उनीहरू भूमिगत भए।

    दानासुरले उपत्यकामा कसले राज्य चलाएका छन् भनेर खोजीनिति गर्न थाले। खोजबिनका क्रममा श्वेतकालीको दरबार पुगे। उनी पुग्दा श्वेतकालीकी छोरी कुमारी शृंगार गरीरहेकी थिइन्। देशहितमा आफ्नो प्रेमको बलिदान दिएकाले कुमारीलाई संरक्षक मानेर श्रद्धा र भक्तीपूर्वक पुज्ने गरिएको छ।

    जब दानासुरले कुमारीलाई देखे। मोहित भए। आक्रमण गर्न आएका दानासुर कुमारीसँग आकर्षित भए। युद्ध गर्न आएको दैत्य कुमारीको प्रेममा फसे। दानासुर दिनहुँ कुमारीसँग भेट्न आउन थाले। यो कुरा रक्तकाली, भद्रकाली, महाकालीले थाहा पाए। उनीहरूले दिदी श्वेतकालीलाई कुमारी र दानासुरको प्रेमबारे जानकारी गराए। त्यसपछि चारै जना दिदीबहिनीले कुमारीलाई जन्मभूमि या प्रेमी दुईमध्ये एउटा रोज्न बाध्य पारे।

    कुमारीले प्रेमी छनोट गरिनन्। जन्मभूमि रोजिन्। त्यसपछि प्रेमजालमा फसाएर दानासुरलाई रेटेर मारिन्। दानासुर मरेको खबर पाउनासाथ जनता बाहिर निस्किए। उसले चढेर आएको राँगा काटेर मासु पोलेर खान थाले। त्यतिन्जेलसम्म नेवारहरू राँगाको मासु खाँदैनथे। दानासुरको रिसले उनीहरूले राँगाको मासु खाने प्रचलन सुरु भएको किम्वदन्ती रहेको शाक्यले सुनाए।

    त्यसपछि चारै दिदीबहिनीले गर्दा राज्यको संरक्षण भएको विश्वास गर्दै उनीहरूलाई भगवानका रूपमा पुज्न थालियो। कुमारीले पनि जिन्दगीभरि कसैलाई प्रेम नगर्ने र बिहे नगर्ने संकल्प गरिन्। कुमारी पनि पुजिन थालिन्।

    उनलाई उपत्यकाको संरक्षक मानिन्छ। मच्छिन्द्रनाथको जात्रा लिच्छवीकालमा सुरु भएको हो। तर सबै भगवानका पूजाआजा, जात्रामा विघ्नबाधा नआओस् भनेर कुमारीलाई राख्ने गरिन्छ। ‘कुमारीले रक्षा गर्छिन् भन्ने मान्यता छ’, शाक्यले भने, ‘उनी संरक्षक हुन्।’ कुमारीहरू क्रोधी हुन्छन्। सामान्यतया हाँस्दैनन्। उनले देशहितमा आफ्नो प्रेमको बलिदान दिएकाले संरक्षक मानेर श्रद्धा र भक्तीपूर्वक पुज्ने गरिएको उनको भनाइ छ।

    तर कुमारीको प्रचलनबारे फरक बुझाई र परम्परा पनि छ । नेपालमा कुमारीपूजाको चलन कसले कहिलेबाट चलाएको हो भन्ने भरपर्दाे आधार नभेटिए पनि पुराण एवम् शास्त्रकै आधार मान्ने हो भने सृष्टिकालमै महादेवले कन्यापूजा गरेको उल्लेख छ । नेपालका शासकहरूमा लिच्छवी राजा वृषदेवले सर्वप्रथम इष्टदेवीको पूजा गरेबाट नेपालमा कुमारीपूजा सुरुवाता गर्ने श्रेय उनैलाई दिइन्छ ।

    त्यसो त वृषदेवले मानेकी इष्टदेवी वृषदेवी नामले प्रख्यात छिन् । अर्का लिच्छवि राजा मानदेवले मनमानेश्वरीलाई इष्टदेवी मानी पूजाआजा गरिआएका बखत पनि जीवित कन्यालाई पूजा गर्ने चलन रहेको बुझिन्छ । लिच्छवि राजा आनन्ददेवले भक्तपुरलाई नेपालमण्डलकै राजधानी बनाई राज्य गर्नु अगावै यहाँ वानेलाय्कु, वलंपुली (ब्रह्मपुर) लाय्कुजस्ता राजकुलहरूमा समेत कुमारीको पूजा आएको मानिन्छ ।

    ‘नेपाल राजवंशावली’ मा समेत ठाउँ–ठाउँमा उल्लेख भएको बान्दिमग्वलको वानेलाय्कु हालको तचपाल क्षेत्रमा अद्यापि देख्न सकिन्छ । यहाँ विजया दशमीको अवसरमा मानेश्वरीदेवीको साथै कुमारीको समेत पूजा हुदै आएको छ । यद्यपि यस ठाउँमा राजभण्डारी थरकी कुमारीको पूजा हुने चलन छ । त्यस्तै भक्तपुरको नासमना टोलस्थित बलंपुली लायकुमा पक्वान थरकी कुमारीको पूजा हुन्छ ।

    आनन्ददेवले स्थापना गरेको त्रिपुरा दरवारसहितको लाय्कुमा माक थरकी कुमारीको पूजा हुने अनुसन्धानबाट देखिएको छ । अझ यहाँ माक अर्थात् किसान परिवारकी कुमारी राजकीय कुमारी रहेको अवस्थामा यो थप अध्ययन अनुसन्धानको विषय बन्न पुगेको छ । त्यसबाहेक भक्तपुर लाय्कु समीप रहेको बिलाछें लाय्कु जुन हाडा बिजुक्छेहरूको आगम हो, यहाँ हाडा थरकी कुमारीलाई पूजा गर्ने परम्पराबाट नेपालमा राजकीय स्तरबाट मात्र नभई आगम प्रथामा समेत कुमारी राख्ने चलन रहेको बुझिन्छ ।

    यता ने.स. ४४४ मा सिम्रौनगढबाट ल्याएकी तुलजा भवानीलाई भक्तपुरमा प्रवेश गराई हालको लाय्कुमा स्थापना गरिसकेपछि मल्ल राजाहरूले तुलजाभवानीलाई आप्mनी इष्टदेवी मान्ने परम्परा कायम हुन गयो । त्यसपछि उनै मल्ल राजाहरूले विगतकी कुमारीको परम्परामा रोचक एवम् धार्मिक सहिष्णुता कायम गर्ने क्रममा शाक्य बज्राचार्य थरकी कुमारी राख्ने चलन अगाडि ल्याए । त्यसमा ने.सं. ६११ को एउटा घटना महत्वपूर्ण छ ।

    ने.सं. ६०२ मा यक्ष मल्लको मृत्युपछि जेठा राय मल्ल त्रिपुरको गद्दीमा बसेका अवस्थामा माहिला छोरा रत्न मल्ल महत्वाकाङ्क्षी भई कान्तिपुर राज्य दखल गर्न पुगेको इतिहास साक्षी छ । उनै रत्न मल्लले त्रिपुरमा समेत आफ्नो अधिकार भएको प्रत्याभूति दिलाउन ने.सं. ६११ मा भक्तपुरकी तलेजुभवानी त्रिपुर दरबारमा प्रत्यक्ष संलग्न रहने गरी कान्तिपुरको तक्षेबहालमा जीवचन्द्र बज्राचार्यलाई भक्तपुर पठाई दरबारसँगै चतुब्र्रम्ह महाविहारमात्र बनाउन लगाएनन्, बरु शाक्य बज्राचार्य थरकी कुमारीको व्यवस्था गरी अन्य समय क्वाठण्डौस्थित प्रशन्नशील महाविहारमा रहने र विजया दशमीको अवधिभर उनै चतुब्र्रम्ह महाविहारमा रहने व्यवस्था भयो ।

    यता ने.सं. ६३३ तिर भक्तपुरका अर्का राजा सुवर्ण मल्लले लामो समयदेखिे बन्द भएको भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच पुनः सञ्चालनमा ल्याएपछि यहाँ नवदुर्गा भवानी तलेजु भवानी र कुमारीबीच त्रिपक्षीय साँस्कृतिक सम्बन्ध विकास भयो । यसले गर्दा वर्तमान लाय्कुसँग कुमारीको सम्बन्ध प्रगाढ बन्न पुग्यो ।

    लाय्कुसँगै सम्बन्ध रहने गरी एकमात्र राजकीय कुमारी रहने ठाउँमा नवदुर्गाका नौ देवीहरूसँग सम्बन्धित नौ विभिन्न कुमारीहरूको पूजा गर्ने परम्परा आयो । यसलाई गुमुलकुमारी वा गणकुमारी भनिन थाल्यो । परम्परादेखि पुजिंदै आएको वानेलाय्कु कुमारी, चनिगल कुमारी, बलंपुली कुमारी, हाडा आगमकी कुमारी, गणकुमारी नौ र एकान्तकुमारी (मूल कुमारी) गरी १४ कुमारीहरूको पूजा गर्ने परम्परा रह्यो ।

    यसमा मूल कुमारी र गणकुमारी शाक्य, बज्राचार्य थरकी हुनुपर्ने प्रावधान छ भने अन्य कुमारीहरूको हकमा वानेलाय्कुकी कुमारी राजभण्डारी थरकी, बलपुलीकी कुमारी पक्वान थरकी, हाडा आगमकी कुमारी हाडा थरकी, चनिगलकी कुमारी माक थरकी हुनैपर्दछ । यसबाट कुमारी भन्नासाथ बौद्धमार्गी अर्थात् शाक्य, बज्राचार्य थरकै मात्र हुने भन्ने आम बुझाई सत्य होइन ।

    भक्तपुरबाहेक काठमाडौं लाय्कु कुमारी, चाबही कुमारी शाक्य कुलकै हुने देखिए तापनि बटुकुमारी, क्वाबहाकुमारी बज्राचार्य कुलकी हुनुपर्ने परम्परा छ । यता चोखाछेँ गल्ली कुमारी ब्राह्मणकुलकी हुने गर्दछिन् भने तानावहा र किलागः कुमारी किसान परिवारकी हुने गरेका छन् । त्यस्तै पाटनमा बुगंकुमारी र गाबहाकुमारी शाक्य कुलकी हुने गर्छिन् भने एक अर्की कुमारी ब्राह्मणकुलकी हुने गर्छिन् ।

    तसर्थ यहाँ तलेजु वा तत्कालीन दरबारसँग सम्बन्ध रहेका कुमारीहरू शाक्यकुलमा हुने भए तापनि अन्य कुमारीहरूको पनि अस्तित्व रहेको पुष्टि हुन्छ । विशेषगरी तत्कालीन शासकहरूले मान्ने इष्टदेवी फरक भएझैं कुमारी पनि थरीथरीको जातको हुने गरेकोमा कुनै द्विविधा छैन । त्यसमा पनि नेवार समाजमा आगमको व्यवस्था भएका प्रायः साना–ठूला सबैको आ–आप्mनो जातकै कुमारीको व्यवस्था गरिएको हुन्छ ।

    चौधौं शताब्दीतिर यहाँ तान्त्रिक मतकै आधारमा आगम निगमको परिपाटीसँगै कुमारीपूजाले अझ व्यापकता पाउन थाल्यो । हरेक जनजातिका कन्या कुमारीको रुपमा पुजिन थालियो । धर्मशास्त्र अथवा तन्त्रमा कतै पनि कुमारीको लागि कुनै जातिको व्यवस्था गरेको पाइँदैन अर्थात् कुमारीपूजामा जातिभेद पूर्णतः बर्जित छ ।

    बरु हाम्रो धर्मशास्त्रमा त चतुर्वर्णको कन्यापूजा गरेमा फरक–फरक फल प्राप्त हुने मान्यता छ । ब्राह्मण कन्या पुजिएमा मनोरथसिद्धि प्राप्त हुने मान्यता छ भने क्षेत्री कन्या पुजिएमा यश प्राप्त हुने तर्क छ । यता वैश्य कन्या धनका लागि पुजिन्छन् भने सन्तान प्राप्तिको कामनार्थ शुद्रकन्याको पूजा गर्नुपर्ने उल्लेख छ ।

    जयस्थिति मल्लले समाजलाई चार वर्णमा बाँड्नुअगावै हामीकहाँ आ–आप्mनो वर्णानुसार कुमारीपूजा गर्ने चलन भइसकेको देखिन्छ । यसैलाई आधार मानी सम्पूर्ण हिन्दूधर्मालम्बीहरूले प्रत्येक वर्ष आश्विन शुदी नवमीका दिन ऋतुमति नभएका स–साना कन्याहरूलाई कुमारी मानी पूजा गर्ने चलन छ ।

    उक्त दिन आ–आफ्ना मातृका देवीगणहरूलाई पूजा गरिसकेपछि पशुबली दिई कुलदेवी (इष्टदेवी) को समेत पूजा गरिन्छ । त्यसपछि ऋतुमति नभएका कन्याहरूलाई निधारभरि रातो टीका लगाई घरपरिवारका सम्पूर्ण सदस्यहरूले पालैपालो पूजा गरी आशीर्वाद प्राप्त गर्छन् । भक्तपुरमा रहेका १४ विभिन्न मठहरूमा समेत उक्त दिन कुमारीको पूजाआजा गर्ने परम्परा छ ।

    ‘मन्त्रमहोदधि’ नामक ग्रन्थका अनुसार जन्मेको पहिलो वर्ष छोडी दुई देखि १० वर्षसम्मका कुमारीहरूको नाम अनि तिनीहरूको पूजाबाट प्राप्त हुने फलसमेत विविध देखिन्छ । जस्तोः २ वर्षकी कुमारी, ३ वर्षकी त्रिमूर्ति, ४ वर्षकी कल्याणी, ५ वर्षकी रोहिणी, ६ वर्षकी कालिका, ७ वर्षकी शाम्भवी, ८ वर्षकी दुर्गा, ९ वर्षकी चण्डिका र १० वर्षकी सुभद्रा कुमारीका नामहरू हुन् । त्यस्तै ‘रुद्रयामलतन्त्र’ मा जन्मेको वर्षदेखि सो¥ह वर्षसम्म फरक नामअनुसार कुमारीको पूजा गर्नुपर्ने उल्लेख छ ।

    धर्म र संस्कृतिले जे जस्तो उल्लेख गरे पनि विश्वमा छोरा र छोरीबीच भेदभाव गर्ने ताजा दृश्यहरू भइरहेको बेला आजभन्दा सयौं वर्षअगाडि हाम्रा पुर्खाहरूले छोरीलाई जीवित देवी मानी पूजा गर्न जुन परिपाटी बसाले, त्यसलाई अत्यन्त दूरदर्शी सोचको उपज मान्न सकिन्छ । (बिभिन्न अनलाइनहरुबाट)

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ