• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    माइतीघरमा प्रदर्शनकारी र प्रहरीबीच ठुलो झडप, केहि घाइते, प्रहरीले हान्यो पानीको फोहोरा

    15.2K
    SHARES

    काठमाडौं । सरकारले संसद्‍मा दर्ता गराएको गुठीसम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकको विरुद्ध काठमाडौंको माइतीघरमा भइरहेको विरोध प्रदर्शनमा  प्रहरीले हस्तक्षेप

    गरेको छ । माइघीघर मण्डलामा प्रदर्शनमा उत्रिएका सर्वसाधारणमाथि प्रहरीले पानीको फोहोरा हान्नुका साथै धरपकड गरेको हाे ।

    गुठी विधेयकका कारण धर्म संस्कृतिमाथि आक्रमण भएको भन्दै त्यसलाई खारेज गर्न माग गर्दै विभिन्न संघ संस्थाको अगुवाईमा सर्वसाधारण प्रदर्शनमा उत्रिएका छन् । सोहि क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप समेत भएको छ ।  प्रहरीसँगको झडपमा परी केही प्रदर्शनकारी घाइते समेत भएका छन्।

    गुठी सम्बन्धी संशोधन विधेयक जस्ताको तस्तै पारित भए धर्म, संस्कृति र सम्पदाको अस्तित्व नै मेटिन सक्ने विज्ञहरूको चेतावनी दिएका छन्। विधेयक संविधानविपरीत भएकाले खारेज गर्न उनीहरूको माग छ। उक्त विरोध कार्यक्रममा काठमाडौं‌ उपत्यकामा रहेका विभिन्न प्राचिन गुठीका गुठियारहरुको सहभागिता थियो ।

    मुलुकमा देवीदेवताका नाममा ७ लाख ५६ हजार बिघा जमिन र २ हजार ६ सय गुठी छन्। परापूर्वदेखि चलिआएका ती गुठीका जग्गा हडप्ने र आफ्ना मान्छे भर्ती गर्ने नियतले सरकारले गुठीसम्बन्धी कानुन संशोधन गर्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका हुन्।

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले वैशाख १६ गते संघीय संसद्मा दर्ता गराएको विधेयकमा गुठी संस्थान खारेज गरी गुठी प्राधिकरण बनाउने व्यवस्था छ।

    यसअघि प्रा.डा. केदारभक्त माथेमाले सरोकारवालासँग छलफल नगरी गुठीलाई रणबहादुर शाहकालमा पुर्‍याउन विधेयक ल्याइएको बताएका थिए । बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने- ‘गुठीका विषयमा कतिपयमा गलत धारणा छ । गुठी भन्नासाथ जग्गासँग सम्बन्धित भनेर सोच्नु गलत हो । जग्गाबाट आएको आयस्ताबाट गुठी सञ्चालन हुन्छ । तर, गुठी भनेकै जग्गा चाहिँ होइन ।’

    गुठीलाई पुरानो कुरा र रुढीवाका रुपमा चित्रण गरिएको भन्दै उनले अगाडि थपे -‘अहिलेको जीवनमा काम लाग्ने कुरा होइन भन्नेहरू पनि छन् । हिन्दु धर्मसँग मात्रै जोडिएको विषय हो भन्ने पनि गर्छन् । नेवार जातिको मात्रै हो भन्ने गर्छन् । यो सबै सही होइन । जस्तो– काठमाडौंमा नेवारको गुठी होला । तर, जनकपुर, प्युठान, दाङमा पनि गुठी छ भन्ने बिर्सन मिल्दैन ।’

    रणबहादुर शाहले पहिलोपटक गुठीमाथि प्रहार गरेको स्मरण गर्दै उनले भने-‘ उनले आफ्नी कान्छी श्रीमती कान्तिमतिको मृत्युपछि गुठीमाथि प्रहार गरेका थिए । रणबहादुरले गरेको गल्ती सुरेन्द्रप्रताप शाहले सुधार्ने प्रयास गरे । यो विधेयक पास भयो भने फेरि गुठीमाथि प्रहार हुन्छ ।संस्कृति, धर्मसँग जोडिएको विषयमा पनि सरोकारवालासँग सल्लाह लिइएको छैन । ‘

    नेपालमा गुठीको महत्व र उपादेयता शीर्षकमा मार्टिन चौतारीले राजधानीमा आयोजना गरेको कार्यक्रममा व्यक्त मन्तव्यको सम्पादित अंश यस्तो छ …

    गुठीको शुरुवात लिच्छवीकालदेखि भएको हो । चावहिल बौद्धस्तुपाको छेउमा रहेको शिलालेख अनुसार गुठीको शुरुवात वि.स. ५१७ मा भएको हो । त्यतिबेला मानदेवले तिलगंगा नजिक मन्दिर पनि बनाएका रहेछन् ।

    पहिला हरेक नेवारहरू एउटा न एउटा गुठीको सदस्य हुन्थे । अन्य काम छाडेर पनि गुठीको कार्यक्रममा सहभागी हुनैपथ्र्यो । गुठी धेरै प्रकारका हुन्छन् । कुनैलाई दिवाली गुठी भनिन्छ । कसैको मर्दापर्दा मात्रै सहभागी हुने गुठी हुन्छ । परेवालाई खुवाउने गुठी, बाँदरलाई खुवाउने, माछालाई खुवाउने गुठी पनि हुन्छ ।

    हामीले जति पनि मन्दिरहरू देख्छौं, त्यो सबै हाम्रा पूर्खाहरूको कृपाले गर्दा भएको हो । हामीले गरेर होइन । उहाँहरूले संरक्षण गरेर राख्नुभएको सम्पत्ति हो । गुठी सञ्चालन गरेर बचाइदिएकाले हामीले त्यो देख्न पाएका छौं ।

    गुठीका विषयमा कतिपयमा गलत धारणा छ । गुठी भन्नासाथ जग्गासँग सम्बन्धित भनेर सोच्नु गलत हो । जग्गाबाट आएको आयस्ताबाट गुठी सञ्चालन हुन्छ । तर, गुठी भनेकै जग्गा चाहिँ होइन ।

    गुठीलाई पुरानो कुरा हो, रुढीवाद हो पनि भन्छन् । अहिलेको जीवनमा काम लाग्ने कुरा होइन भन्नेहरू पनि छन् । हिन्दु धर्मसँग मात्रै जोडिएको विषय हो भन्ने पनि गर्छन् । नेवार जातिको मात्रै हो भन्ने गर्छन् । यो सबै सही होइन ।

    जस्तो– काठमाडौंमा नेवारको गुठी होला । तर, जनकपुर, प्युठान, दाङमा पनि गुठी छ भन्ने बिर्सन मिल्दैन । पशुपतिको गुठीको सिन्धुपाल्चोकमा जग्गा छ ।

    प्रस्तावित विधेयकले जग्गा कमाइराख्नेलाई जिम्मा दिन खोजेको हो कि ? कमाई गर्नेहरूलाई नदिने भन्ने होइन । तर, उहाँहरूका लागि सरकारले छुट्टै व्यवस्था गर्नुपर्छ ।
    गुठीको धेरै जग्गा हराइसकेको छ । कति जग्गा सट्टापट्टा पनि भएको छ । नुवाकोटको बाँदर लड्ने जग्गा र ठमेलको जग्गा साट्ने खोजिएको थियो । न्यायाधीशहरू रामप्रसाद श्रेष्ठ, बलराम केसीले गुठी जग्गा साटासाट गर्न पाइँदैन भन्ने निर्णय गरेर जग्गा बच्यो ।

    आधुनिक समयमा पनि यसको धेरै महत्व छ । विश्वविद्यालय कलेज, स्कुल पनि गुठी अर्थात् ट्रष्टिजले चलाउनुपर्छ । विदेशमा पनि शैक्षिक संस्थाहरू बोर्ड अफ ट्रष्टिजले चलाउने गर्छन् ।

    त्रिचन्द्र कलेज ५० वर्ष अगाडि म पढाउन जाँदा जस्तो थियो अहिले पनि त्यस्तै छ । एक दिन आफैंले पढाएको कक्षामा पुगेको थिएँ । ५० वर्षको अवधिमा त्यहाँ एक थोपा पेन्ट पनि लगाइएको रहेनछ ।

    त्रिचन्द्र कलेज कसको हो त ? यस्तै, पद्म कन्या वा पाटन कलेज वा त्रिभुवन विश्वविद्यालय कसको हो ? कसैको पनि होइनजस्तो भइरहेको छ । हो, कसैले पनि मेरो हो भनेर अपनत्व नलिँदा नै ती हाम्रा शैक्षिक संस्थाहरू यस्तो अवस्थामा पुगेका हुन् । ०२८ सालमा सरकारले स्वामित्व त लियो, तर अपनत्व भएन ।

    अपनत्व लिनका लागि पनि गुठीकै हिसाबले ‘बोर्ड अफ ट्रस्टिज’ बनाउन जरुरी छ । उदाहरणका लागि सिराहाको पुरानो विद्यालयलाई सिंहदरबारसँग के मतलब ?

    त्यसकारण गुठी भनेको सरकारले लिने होइन । सरकारले त आवश्यक प्रवद्र्धन, प्रोत्साहन गर्ने हो । जसको गुठी हो उसैलाई दिनुपर्दछ । विहारीकृष्ण श्रेष्ठले सामुदायिक वनको उदाहरण दिनु भएको छ । सरकारले प्रत्यक्ष रुपमा हेर्दा र समुदायले लिएपछि कस्तो भयो भन्ने सबैले देखेकै छ ।

    सामुदायिक विद्यालयको अवधारणा सफल नहुनुको कारण पनि त्यही हो । किनभने त्यहाँ अपनत्व भएन ।रणबहादुर शाहले पहिलोपटक गुठीमाथि प्रहार गरेका थिए । उनले आफ्नी कान्छी श्रीमती कान्तिमतिको मृत्युपछि गुठीमाथि प्रहार गरेका थिए ।

    रणबहादुरले गरेको गल्ती सुरेन्द्रप्रताप शाहले सुधार्ने प्रयास गरे । यो विधेयक पास भयो भने फेरि गुठीमाथि प्रहार हुन्छ । संस्कृति, धर्मसँग जोडिएको विषयमा पनि सरोकारवालासँग सल्लाह लिइएको छैन । गुठी, गुठीयार, मठमन्दिरसँग सम्बन्धित कसैसँग पनि छलफल गरिएको छैन । सरोकारवालासँग प्रशस्त छलफल नगरी गुठीसम्बन्धी विधेयक अगाडि बढाउनु हुँदैन ।

     

    प्रतिक्रिया