• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    ९ जना मन्त्रीले एकैपटक सामूहिक राजीनामा दिएपछि सरकारलाई धक्का, समर्थन भने यथावत

    16.5K
    SHARES

    काठमाडौं । श्रीलंकामा नौजना मन्त्रीले पदबाट राजीनामा दिएपछि सरकारलाई धक्का लागेको छ। इस्टरका दिन २१ अप्रिलमा भएको बम विस्फोटपछिको हिंसामा कम्तिमा २५८ जना मारिएको विषयमा मन्त्रीले सामूहिक राजीनामा दिएका हुन् ।

    मुस्लिम मन्त्रीहरुले हिंसामा अल्पसंख्यकलाई निशाना बनाउँदा पनि सरकार निरीह भएको भन्दै पद त्याग्ने निर्णय लिए । देशभरमा बौद्ध भिक्षुले गरेको प्रदर्शनपछि सोमवार ९ मन्त्री र दुई प्रान्तीय राज्यपालले राजीनामा दिने निर्णय गरेका हुन् ।

    यिनमा क्याबिनेट मन्त्री कबीर हाशिम, गृह मन्त्री हलीम र रिशद बतिउद्दिन सामेल छन् । यिनका साथै राज्यमन्त्री फैजल कासिम, हारेश, अमीर अली शिहाबदीन, सैयद अली जाहिर मौलानाका उपमन्त्री अब्दुल्ला महरूफले पनि राजीनामा दिने निर्णय गरेका छन् ।

    न्याय र जेल मन्त्री रऊफ हकिमका अनुसार सबै मन्त्रीले आफ्नो पदबाट राजीनामा दिने भएका छन् । तर सरकारलाई समर्थन भने यथावत हुनेछ ।

    उता सुडानको राजधानी खार्तुम सेनाले चलाएको गोली लागि मृत्यु हुनेको संख्या कम्तिमा ३० पुगेको छ । सैनिक शासनविरुद्ध प्रदर्शनमा उत्रिएकाहरुमाथि सेनाले गोली प्रहार गरेको हो । घटनामा सयौं घाइते भएका छन् ।

    सेनाले खार्तुमस्थित एक अस्पतालभित्रै प्रवेश गरेरसमेत गोली चलाएको र ठूलो संख्यामा मानिसको मृत्यु भएको अधिकारकर्मीहरुले जनाएका छन् । सैन्य मुख्यालय अगाडि धर्नामा बसेका प्रदर्शनकारीलाई हटाउने क्रममा सेनाले गोली चलाएको हो । प्रदर्शनस्थलमा लगातार गोली चलेको आवाज आएको पनि बताइएको छ ।

    सैनिक शासनविरुद्ध प्रदर्शनकारीहरु सैनिक मुख्यालय बाहिर र शहरका मुख्य प्रशासनिक केन्द्र वरपर महिनौंदेखि अवरोध खडा गरेर धर्नामा बसेका थिए । आन्दोलनका कारण राजधानी खार्तुमका सबैजसो क्षेत्रमा मेसिनगन जडान गरिएका ठूलो संख्यामा सैनिक ट्रकसहितको टोलीको बाक्लो उपस्थिति रहेको छ ।

    चिकित्सकहरुको केन्द्रीय टोलीले घटनामा सयौं व्यक्ति घाइते भएको र मृत्यु हुनेहरुको संख्या अझै बढ्न सक्ने दाबी गरेको छ । रेडक्रस र मानवीय सहयोगका लागि गठन भएका अन्य संघसंस्थाले पनि खार्तुममा ठूलो संख्यामा प्रदर्शनकारीहरु मारिएको र आपत्कालिन सहयोगको आवश्यकता परेको बताएका छन् ।

    सुडानी प्रोफेसनल एसोसिएसन (एसपीए)ले सेनाले ‘रक्तपातपूर्ण आमहत्या’ गरेको आरोप लगाउँदै सैनिक शासनलाई पूर्णरूपमा असफल तुल्याउन ‘नागरिक अवज्ञा’ गर्न आह्वान गरेको छ । सेनाको वर्तमान नेतृत्वले सेनाकै सहयोगमा ३० वर्ष शासन गरेका राष्ट्रपति ओमार अल बसिरलाई केही महिना अगाडि सत्ताच्यूत गरेर सत्ता आफैंले लिएको थियो ।

    सेना र प्रदर्शनकारीबीच नागरिकलाई सत्ता हस्तान्तरण गर्न शर्तसहितको सहमति भए पनि सत्ता हस्तान्तरण नभएकाले आन्दोलनकारीहरूले प्रदर्शन गरिरहेका हुन् ।

    यसैबीच संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अस्पतालभित्रै प्रवेश गरेर गोली चलाइएको घटनाबारे निष्पक्ष छानबिन गर्न आग्रह गरेका छन् । संयुक्त राज्य अमेरिका र बेलायतले प्रदर्शनकारीमाथिको दमनलाई तत्काल रोक्न आग्रह गरेका छन् ।

    यस्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र बेलायतबीचको अनन्त मित्रवत सम्बन्धको प्रशंसा गरेका छन् । बेलायतको तीन दिने राजकीय भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति ट्रम्पले दुई देशबीच सदियौंदेखि रहँदै आएको मित्रवत सम्बन्ध उत्कृष्ट रहेको बताएका हुन् ।

    बेलायती महारानी एलिजावेथ द्वितीयले राष्ट्रपति ट्रम्प र प्रथम महिला मिलानिया ट्रम्पको सम्मानमा बकिंघम प्यालेसमा आयोजना गरेको राजकीय भोजमा ट्रम्पले दुई मुलुकबीचको सम्बन्धको प्रशंसा गरेका हुन ।

    त्यस क्रममा महारानी एलिजाबेथले दुई देशले दशकौंदेखि दुवै देशका नागरिकको सुरक्षा र समृद्धिका लागि सहकार्य गरेको बताइन । तीन दिने भ्रमणका लागि ट्रम्प हिजो लण्डन पुगेका हुन् । लण्डन पुगे लगत्तै ट्रम्पले स्थानीय मेयरको आलोचना गरेका थिए । उनले लण्डनका मेयर सद्दिक खानलाई असक्षमको संज्ञा दिएका थिए ।

    मेयर खानले ट्रम्पका लागि रातो कार्पेट बिच्छ्याउन नहुने र राजकीय भ्रमणको मान्यता पनि दिन नहुने बताएका थिए । ट्रम्पले त्यसकै जवाफ लण्डन पुगे लगत्तै ट्वीटरमार्फत दिएका हुन् ।

    तर रात्रीभोजको क्रममा दिएको वक्तव्यमा भने बेलायत र बेलायती नागरिकको प्रशंसा गरे । उनले महारानी एलिजाबेथ ‘महान महिला’ भएको पनि बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ