• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    प्रचण्डसँग रिसाएका प्रधानमन्त्री ओली विमानस्थलमा कसैसंग बोलेनन्, यस्तो छ कारण

    20.4K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ स्वदेश फर्किएका छन् ।

    नवनिर्वाचित भारतीय प्रधानमन्त्री मोदीको सपथ ग्रहणमा सहभागी हुन प्रधानमन्त्री ओली विहीबार दिल्ली गएका थिए । मोदीको सपथमा पाकिस्तानबाहेक साना छिमेकी देश सरकार प्रमुखहरुलाई निम्त्याइएको थियो ।

    प्रधानममन्त्री ओली र भारतीय समकक्षी मोदीवीच शुक्रबार बिहान द्वीपक्षीय भेटवार्ता भएको थियो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले मोदीलाई रुद्राक्षको माला उपहार दिएका थिए ।

    स्वदेश फर्कने क्रममा विमानस्थलमा प्रधानमन्त्री ओलीले सधैंजस्तो विशिष्ट कक्षमा पत्रकारहरुलाई कुनै प्रतिक्रिया दिएनन् । उनी पत्रकारहरुसँग नबोली बालुवाटारतर्फ लागे । खासमा नेतृत्व फेरिने विषयमा पार्टीका अर्का अध्यक्ष प्रचण्डले सार्वजनिकरुपमै अभिव्यक्ति दिएपछि प्रधानमन्त्री ओली फायर बनेको नेकपा स्रोतले जनाएको छ ।

    प्रचण्डले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने लिखित सहमति भएको अभिव्यक्ति दिएको २४ घण्टा नबित्दै अर्का अध्यक्ष केपी ओलीले भारतबाटै जवाफ फर्काएका थिए । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले आलोपालो सरकारको नेतृत्व गर्ने कुरा पुरानै भएको बताएका थिए ।

    भारतको नयाँ दिल्लीमा रहेकै बेला उनले अर्का अध्यक्ष प्रचण्ड र आफूले सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने सहमति नयाँ नभएको बताएका हुन् । अनावश्यक कुरा उचाल्ने नेपालीको चरित्र नै यस्तो भएकाले यो सहमतिबारे अनावश्यक चर्चा र परिचर्चा नगर्न समेत उनले चेतावनी दिएका छन् ।

    नेकपाका अध्यक्ष प्रचण्डले प्राइम टाइम्स टेलभिजिनसँगको अन्तर्वार्तामा एक वर्षअघि पार्टी एकीकरणका क्रममा दुवै अध्यक्षले आलोपालो सरकार चलाउने सहमति भएको खुलासा गरेका थिए ।

    अघिल्लो वर्ष जेठ २ गतेको मितिमा हस्ताक्षरित तत्कालीन एमाले अध्यक्षओली र तत्कालीन माओवादी अध्यक्ष दाहालबीच भएको सहमति पत्रको चौथो बुँदामा ‘समानता र समान अवधिका आधारमा आवश्यकताअनुरूप दुवै अध्यक्षले सरकारको नेतृत्व गर्ने’ उल्लेख छ ।

    ऋषि धमलासँगको गफगाफमा के भनेका थिए प्रचण्डले ? पढ्नुहोस् जस्ताको तस्तै

    ”पार्टी एकता गर्दा पक्कै पनि हाम्रोवीचमा समझदारी भएको छ । हामीले सहमतिबाट नै निर्णय गरेर जानुपर्छ । पार्टीमा र सरकारको नेतृत्व पनि हामीले आलोपालो गर्ने नै भन्ने सहमति छ । त्यो लिखितै छ । त्यो बाहिरै आइसक्या छ । त्यो किताबमा छापिएरै आइसक्या छ । त्यसकारण यो के हो भनेर धेरै प्रश्न गरिराख्न आवश्यक म ठान्दिनँ । आलोपालोमा जाने सहमति भएकै छ ।

    केपीजी र मेरो कुरा हुँदा हामी सहमतिअनुसार नै जाने भन्ने कुरामा नै हामी प्रतिवद्ध छौं । त्यसकारण अहिले म आशंका गर्न पनि चाहन्न । यो विषय फेरि के हो भने उहाँ र मवीच सहमति भयो, पार्टीभित्र सहमति भयो भने पाँचै वर्ष केपी ओली हुन पनि हुन्छ । मलाई चैं प्रधानमन्त्री लिन हतारो विल्कुलै छैन ।

    देशमा सुशासन र विकासले गति लियो र जनतामा सन्तुष्टि आयो भने मैले पार्टीलाई मुख्यरुपमा हेर्ने र अर्को चाहिँ अध्यक्षले प्रधानमन्त्री मुख्यरुपमा हेर्ने गरी काम मिलायो भने मलाई सहज हुन्छ । मलाई प्रधानमन्त्री नभई नहुने, चाहिने भनेर मैले सोचेको छैन । मानिसहरुले त्यसै हो कि भन्छन्, कतिपय अलिकति संकीर्ण, अलिकति पूर्वाग्रही आँखाले हेर्नेहरुले चाहिँ मैले थोरै जनताका गुनासो, जनताका कुराहरु बोलें भने प्रधानमन्त्री हुन बोल्या हो कि भन्ने पनि मान्छे छन् ।

    तर, मेरो त्यो कुरा होइन । राम्रोसँग पार्टी रन भयो, राम्रोसँग सरकार रन भयो भने त्यो आलोपालो भनिएको भए पनि पाँचै वर्ष केपीजी बस्दा पनि मलाई आपत्ति हुँदैन । म समर्थन गरिराख्छु । म एउटा कुरालाई फेरि दोहो¥याउँछु– सुशासन र विकासले गति लियो, सरकार दिन प्रतिदिन अझ बढी लोकप्रिय कामहरु गर्दै अगाडि बढ्यो भने हामीले सहमति गरेकोमा प्रधानमन्त्री फेरिराख्नुपर्छ भन्नेमा म छैन ।

    तर, म पनि एउटा नेताको हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित त हुनुपर्छ । त्यसो भयो भने सरकारको नेतृत्व एउटा अध्यक्षले, पार्टीको नेतृत्व एउटा अध्यक्षले ग¥यो भने सन्तुलन मिल्छ र म फेरि प्रधानमन्त्री भइराख्न पनि पर्दैन । मैले खेल्ने पार्टी अध्यक्षका रुपमा राम्रोसँग भूमिका खेल्छु ।

    अहिले यो छलफलको विषय छ । हाम्रो पार्टी पंक्तिमा पनि, लिडरसिप लेबलमा पनि छलफल चलिराखेकै छ । तर, एउटा कुरा के हो भने फेरि विभिन्न परिस्थितिले काम पनि गर्छ । त्यो सबै परिस्थितिमा हिजो हामीले एकता गर्दा जे सहमति गरेका थियौं, त्यो सहमतिप्रति हामी सबैले इमान्दार त हुनैपर्छ ।

    म अहिले कसैप्रति आशंका गर्दिनँ । म के विश्वास गर्छु भने कामरेड केपी ओलीले समय आएपछि सत्ता हस्तान्तरण गर्न उहाँले नै अप्ठ्यारो मान्नुहुन्न । मैले लिन नि अप्ठ्यारो मान्दिनँ ।

    राम्रो काम भयो र सहमति पार्टीभित्र भयो भने उहाँलाई नै पाँचै वर्ष चलाउन दिन मैले केही नै अप्ठ्यारो मान्दिनँ । उहाँले पनि पार्टी सञ्चालन तपाईले राम्रोसँग गर्नुहोस् भनेर दिन उहाँले अप्ठ्यारो मान्न हुँदैन ।

    (वीचैमा ऋषि धमलाकाको प्रश्न– ओलीजीले छाड्नुभएन भने ?)

    सबैचिज सहमतिबाट हुनुपर्छ भन्ने हाम्रो छ । त्यो त पार्टीले गर्ने कुरा हो । त्यस्तो कुराको म अहिले कल्पना गर्न चाहँदिनँ । मैले प्र धानमन्त्रीजीलाई दुःख–सुख, अप्ठ्यारो सबैमा रक्षा गर्न मैले मेरो ठाउँबाट बल गरिराखेकै छु । तपाईहरुले देखिराख्नुभएकै छ ।

    मैले सरकारको पक्षमा, प्रधानमन्त्रीजीको पक्षमा जनताका वीचमा, पब्लिक कार्यक्रमहरुमा सरकारले गरेका राम्रा कामहरु के–के हुन् भन्ने कुरा पनि मैले भनिराखेकै छु । त्यसकारण, तपाईको यो प्रश्नमा म अहिले जान चाहँदिनँ । त्यसो गर्नु वास्तवमा उचित पनि हुँदैन । किनभने, हामी सहज ढंगले कुराकानी गरी पनि राख्या छौं ।

    हामीमा केही कमी छन् भने त्यसलाई सच्याउनुपर्छ भन्नेतिर हामी गई पनि राखेका छौं । त्यसकारण भोलि उहाँले छोड्नुहुन्न भन्ने म कल्पना गर्न चाहन्न । यो विषय हामीले जे समझदारी गरेका छौं, त्यो समझदारीअनुसार जान्छ भन्ने विश्वासका साथ काम गर्ने भन्ने छ मेरो । यसमा यसरी नै बुझ्नु होला । योभन्दा बढी यसमा नसोध्दा ठीक हुन्छ ।

    दोस्रो, म फेरि पनि के भन्न चाहन्छु भने सवाल सुशासन र जनताको विकास र समृद्धिको आकांक्षालाई सम्वोधन गर्ने कुरा हो । जनताले कम्युनिष्ट पार्टीको नेतृत्वको सरकार भएका बेलामा सुशासनको अनुभूति ग¥यो कि गरेन ? यो एउटा सवाल हो भने जनताले अबचाहिँ देशमा विकास हुने भयो, भ्रष्टाचारमुक्त समाजतिर पनि यो अगाडि बढ्यो, विकास र समृद्धितिर पनि अगाडि गयो, सरकार र पार्टीका नेताहरुको अर्को कुनै स्वार्थ छैन भन्ने कुरा जनताले बुझ्यो, चिज एक ढंगले जान्छ ।

    जनताले होइन, भ्रष्टाचार त उस्तै छ, झन बढी बढेको पो छ, विकास पनि भन्याजस्तो गरी अगाडि आइराख्या छैन भन्ने ठान्यो भने परिस्थिति अर्को ढंगले जान्छ । कुरा बुझ्नु भो त ?

    पार्टीभित्र सबै कुरा छलफलले, हिजो हामीले एकता गर्दा जे सहमति भएको छ, त्यो स्पिरिटमा हामी अगाडि बढ्यौं भने चिजहरु एक ढंगले जान्छ । त्यो सहमतिभन्दा विपरीत कुराहरु गर्न थालियो भने चिजहरु अर्को ढंगले जान्छ ।

    म पार्टीको अध्यक्षको नाताले, यो पार्टी एकता गर्न मुख्य भूमिका खेल्ने प्रस्तावकको नाताले पनि मेरोचाहिँ के छ भने यसलाई बचाउने, यसलाई सुदृढ गर्ने एकताको आधार भनेर हामीले सैद्धान्तिक राजनीतिकरुपले पनि एउटा बनाएका छौं, त्यो आधारमा टेक्ने ।

    त्यो आधार भत्किन नदिने । र, जे सहमति गरिएको छ, त्यो इमान्दारितासाथ कार्यान्वयन गर्ने । केका लागि भने यो देशका लागि र जनताका लागि । राष्ट्रको एकता र स्वाधीनताका लागि । र, अनि जनताको विकासको आकांक्षा सम्वोधन गर्नका लागि ।

    तर, त्योबाट दायाँवायाँ भयो भने त्यो घमण्डको अन्तिम परिणति राम्रो हुँदैन । दायाँ वायाँ कोही गर्न खोज्यो भने त्यो टिक्नेवाला छैन भन्ने छ मेरो । मैले गर्न खोजें भने म टिक्दिनँ । अर्कोले गर्न खोज्यो भने अर्को पनि टिक्दैन ।

    आपसी समझदारीमा आवश्यक गम्भीरता, निर्णय लिँदाखेरि इमान्दार र पारदर्शी तरिकाको छलफल र छलफलबाट निर्णय लिने प्रक्रियामा हामी गम्भीर हुनैपर्छ । त्यहाँ गम्भीर भइएन भने स्थिति अप्ठ्यारोतिर जाने खतरा हुन्छ ।

    तर, केपीजीसँग मेरो खुलेर छलफल हुन्छ । दुई चार दिनअघि हामी बालुवाटारमा बस्यौं । खुलेर मनमा लागेका कुरा एक–अर्कालाई भनियो । खुल्लम खुल्ला नै भनियो दुईजना मात्रै बसेर । यसले गर्दा हिजो हामीले गरेको एकता र विश्वास तोड्नेतिर हैन, ठीकै दिशातिर जान्छ भन्ने नै मेरो विश्वास छ ।

    प्रतिक्रिया