• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    तलब बुझेर गाडीमा फर्किँदै गरेका सेनालाई लक्षित गरी शक्तिशाली बम विष्फोट, १० जनाको मृत्यु

    18.8K
    SHARES

    काठमाडौं । अफगानिस्तानमा भएको बम विष्फोटमा कम्तीमा १० सुरक्षाकर्मीको ज्यान गएको छ । पश्चिम अफगानिस्तानको फराह प्रान्तमा सडक छेउ राखिएको बम विष्फोट हुँदा उनीहरुको ज्यान गएको अधिकारीले जनाएका छन्।

    तलब बुझेर बख्तरबन्द गाडीमा फर्किँदै गरेका सुरक्षाकर्मीलाई लक्षित गरी बम विष्फोट भएको जनाइएको छ । आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानले लिएको छ । त्यसबाहेक तालिबानले मुलुकका विभिन्न स्थानमा गरेका आक्रमणमा ४ प्रहरीको ज्यान गएको अधिकारीले जनाएका छन् ।

    तालिबानको आक्रमणमा अन्य २२ जना घाइते भएका छन् । तालिबान लडाकुले पछिल्ला केही समययता सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्दै आएको छ ।

    यसैबिच ब्राजिलका विभिन्न कारागारमा ४२ जना मृत अवस्थामा फेला परेका छन् । अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको भोलिपल्ट विभिन्न चार कारागारमा ४२ जना मृत अवस्थामा भेटिएका हुन् ।

    अक्सिजनको अभावमा श्वासप्रश्वासमा अवरोध भई कैदीबन्दीको ज्यान गएको हुनसक्ने बताइएको छ । ब्राजिलका अधिकारीहरुले कारागारभित्रको झडप अन्त्य गर्न र अवरोध हटाउन निर्देशन दिएका छन् ।

    आइतबार मात्रै अमेजोनास राज्यको एक कारागारमा कैदीबन्दीबीच भएको झडपमा १५ जनाको मृत्यु भएको थियो । अमेजोनास राज्यको राजधानी मानसबाट करिब २८ किलोमिटर बाहिर रहेको उक्त कारागारमा कैदीबन्दीले दाँत माझ्ने ब्रस र चक्कुलगायतका सामान प्रयोग गरी एक अर्कामाथि आक्रमण गरेको कारागारका सुरक्षा प्रमुख कर्णेल मार्कोस अल्मेडाले बताए ।

    यही कारागारमा सन् २०१७ को जनवरीमा हिंसा भड्किँदा ५६ जनाको मृत्यु भएको थियो । ब्राजिल विश्वमै तेस्रो धेरै कैदीबन्दी रहेको मुलुक हो । सरकारी तथ्यांक अनुसार ब्राजिलमा गत अप्रिलसम्म ७ लाख १२ हजार ३०५ जना कैदीबन्दी छन् । तर ब्राजिलका कारागारको क्षमताभन्दा दोब्बर बढी मानिस थुनामा रहेका छन् ।

    सन् २०१६ मा कारागारका क्षमता करिब तीन लाख ६८ हजार मात्र थियो । निकै भिडभाड देखिने ब्राजिलका कारागारमा ग्याङ भिडन्त हुने गरेको छ । यहाँ कारागारभित्र दंगा भड्किने र कारागार तोड्ने प्रयास पनि बेलाबखत भइरहन्छन् । अमेजोन जंगल नजिकको बेलेम कारागारमा गत अप्रिलमा भएको यस्तै भिडन्तमा २१ जना कैदीबन्दीको मृत्यु भएको थियो ।

    त्यस्तै भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

    गत फेब्रुअरीमा आणविक शक्ति सम्पन्न परस्पर विरोधी दुई क्षेत्रीय मुलुकबीच भएको हवाई आक्रमणपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानबीच फोनवार्ता भएको हो ।

    फोनमा पाकिस्तानी प्रधानमन्त्री खानले हालै सम्पन्न लोकसभा निर्वाचनमा समकक्षी भारतीय नेता मोदीको भारतीय जनता पार्टी (भाजपा) र भाजपा नेतृत्वको गठबन्धन नेशनल डेमोक्रेटिक अलाएन्सले पाएको सफलताका लागि मोदीलाई वधाई दिएको दुवै मुलुकले जारी गरेका छुट्टाछुट्टै विज्ञप्तिमा उल्लेख गरिएको छ ।

    पाकिस्तानी विदेश मन्त्रालयले दिएको जानकारीमा भनिएको छ, ‘दुई नेताबीचको कुराकानीका क्रममा खानले दुवै मुलुक र त्यहाँका जनताको हितका लागि दुई मुलुकबीच सँगसँगै मिलेर अघि बढ्ने इच्छा व्यक्त गर्नुभएको थियो ।’

    ‘दक्षिण एशियाको शान्ति, विकास र समृद्धिका लागि आफ्नो परिकल्पना दोहोराउँदै खानले आफूले भारतीय प्रधानमन्त्री मोदीसँग उक्त उद्देश्यका लागि काम गर्न चाहेको बताउनुभएको छ,’ पाकिस्तानी विज्ञप्तिमा उल्लेख छ ।

    ‘भारतीय प्रधानमन्त्री मोदीले हिंसा तथा आतङ्कवादरहित नेतृत्वमार्फत् यस क्षेत्रमा शान्ति, विकास र समृद्धिका लागि सहकार्य गर्न विश्वासको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभएको छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ ।

    पाकिस्तानमा बसेर गतिविधि सञ्चालन गर्दै आएको एक लडाकू समूह (जैश–ए–मोहम्मद)ले दावी गरेको एक आक्रमणमा ४० जना भारतीय सैनिक अधिकारीको मृत्यु भएको घटनालाई लिएर दुई मुलुकबीच तनाव चर्किएको थियो । जसका कारण दुवै मुलुकबीच हवाई आक्रमण र प्रतिरोधमा उत्रिएका थिए ।

    जैस–ए– मोहम्मद सन् २००१ देखि संयुक्त राष्ट्रसंघले आतङ्कवादी सूचीमा राख्दै आएको एक लडाकू समूह हो । यसअघि पाकिस्तानी प्रधानमन्त्रीले निर्वाचनमा पाएको विजयसँगै मोदीले फोनमार्फत् वधाई ज्ञापन गरेको घटना नै सम्भवत: दुई नेताबीचको पछिल्लो फोनवार्ता थियो ।

    मोदी र उनको हिन्दु राष्ट्रवादी भाजपाले गत हप्ता भारी बहुमतका साथ भारतीय लोकसभामा विजय भएपछि सफलताका लागि वधाई दिन पाकिस्तानी प्रधानमन्त्रीले उनका भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेका हुन् ।

    भ्रष्टाचार प्रकरणमा मुछिएको अष्ट्रियाको सरकारमाथि लागेको महाअभियोग प्रस्ताव पारित भएसँगै त्यहाँको सरकार ढलेको छ । संसद्का बामपन्थी पार्टीहरुले अष्ट्रियन चान्सलर सेबाष्टियन कुर्जविरुद्ध दर्ता गराएको महाअभियोगलाई उनको पूर्व साझेदार दक्षिणपन्थी दलले समेत समर्थन गरेको हो ।

    मुलुकका उपचान्सलर हाइन्ज क्रिष्चियन स्टार्चले रुसी लगानीकर्तासँग मोलमोलाई गरिरहेको भिडियो सार्वजनिक भएको थियो । उपचान्सलर पदबाट राजीनामा दिएसँगै वर्तमान दक्षिणपन्थी सरकारको चर्को आलोचना हुँदै आएको थियो ।

    त्यसलत्तै चान्सलर कुर्जले आम निर्वाचनको आह्वान गरेका थिए । अब चाँडै त्यहाँका राष्ट्रपति अलेक्जाण्डर भान डेर बलनले नयाँ सरकार गठनको आह्वान गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    प्रतिक्रिया