• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    ९ जनाको हत्या हुदाँ यसरी बाँचिन १२ बर्षीया सीता, मध्यरातमा के भयो ? कान्छीमायाले खोलिन रहस्य

    15.6K
    SHARES

    पाँचथर । आरुबोटे, पाँचथर — ‘बोजु, बोजु !’ गहिरो निद्रामा रहेकी कान्छीमाया फियाकले मधुरो स्वर सुनिन् । आफूलाई नै बोलाएको ठम्याएपछि ‘को हो ?’ भनेर सोधिन् । ‘ढोका खोल्नू न,’ उताबाट आत्तिएको स्वर सुनियो ।

    चकमन्न रातमा बाहिर पानी पर्दै थियो । आकाश गड्याङगुडुङ गर्दै थियो । यस्तो बेला को हो, के हो दोधार पर्दै कान्छीमायाले जसै ढोका खोलिन्, सीता खजुम बेगिएर घरभित्र छिरिन् । रगत देखेपछि कान्छीमायाले हत्त न पत्त ढोका बन्द गरी पनि हालिन् । उनले सोधीखोजी गरिन् ।

    ‘सबैलाई सखाप पार्‍यो !’ सीताले ओठ कमाउँदै सानो स्वरमा यति मात्र भन्न सकिन् । त्यसपछि पानी मागिन् । पानी बाहिर बरन्डामा थियो । आफैं डरले थरथरी भइसकेकी कान्छीमायाले ढोका खोलेर बाहिर जाने आँट गरिनन् । लगत्तै सीता बेहोस भएर ढलिन् । कान्छीमाया पनि डरले रातभर काँप्दै बसिन् ।

    भोलिपल्ट बिहान गाउँलेले कान्छीमायालाई बोलाए । उनले ढोका खोलेपछि थाहा पाइन्, करिब १० मिटर पर रहेको सीताको मावलीघरमा चार जनाको संहार भएछ !

    मिक्लाजुङ–३, आरुबोटेस्थित घरमा सीताका बाजे बमबहादुर र बोजु बिर्छाहाङमा फियाक सधैं ५ बजेअगावै उठेर आगो फुक्थे । खसीबाख्रालाई घाँस हाल्ने गर्थे । मंगलबार बिहान भने ५ बजेसम्म पनि त्यस घरमा चहलपहल नदेखिएपछि छिमेकी पुगेका रहेछन् । जब त्यहाँ पुगे, ७४ वर्षीय बमबहादुर, उनकी श्रीमती बिर्छाहाङमा, कान्छी छोरी ३३ वर्षीया मनकुमारी, नातिनी १२ वर्षीया आसिकाका शव क्षतविक्षत देखे ।

    बमबहादुरका माइली छोरीज्वाइँको परिवारको पनि त्यसै रात हत्या भएको थियो । बमबहादुरको घरदेखि करिब एक किलोमिटर दूरीमा घर रहेका ज्वाइँ ४१ वर्षीय धनराज सेर्मा, छोरी ३६ वर्षीया जस्मिता, छोरीहरू १३ वर्षीया युहाना, ७ वर्षीया मुना र भतिजी ६ वर्षीया इक्साको हत्या भएको हो ।

    ५१ वर्षीया कान्छीमाया छिमेकमा भएको घटनापछि राम्ररी निदाएकी छैनन् । खाना रुचेको छैन । ‘अब कहाँ बस्ने, कसरी बस्ने ?’ चिन्तालेपिरोलिएकी छन् । मुकुन्डो लगाएर आएको व्यक्तिले खुकुरी प्रहार गर्न थालेपछि सीता भागेर कान्छीमायाको घर पुगेकी थिइन् ।

    दौडने क्रममा लड्दा ढुंगाले उनको हातमा गहिरो चोट लागेको छ । दमकस्थित लाइफलाइन अस्पतालमा उपचाररत उनको अवस्था सामान्य रहेको चिकित्सकहरूले बताएका छन् । सीतालाई मानसिक दबाब नपरोस् भनेर प्रहरीले अरूसँग खासै कुराकानी गर्न दिएका छैनन् । १२ वर्षीया सीता मावलीघर बसेर स्थानीय स्कुलमा ९ कक्षा पढ्दै थिइन् ।

    धामी बसिसकेपछि घटना
    सोमबार राति बमबहादुरका माइली छोरीज्वाइँ जस्मिता र धनराजको घरमा धामी बोलाइएको थियो । राति करिब ११ बजेसम्म सेर्माको घरमा धामी बसेको जस्मिताकी जेठी दिदी दिलमाया लिम्बूले बताइन् । ‘धामी बसिसकेपछि घटना भएको रहेछ,’ उनले भनिन् ।

    वैशाख ३० गते धनराजको घरको नुनको बट्टामा सिसाका टुक्रा फेला परेको थियो । नुन मिसाएर पकाएको खाजा खाँदा ८ जना बिरामी भएका थिए । घरमा नराम्रो घटना भएपछि धनराज र जस्मिताले जोखाना देखाएर सोमबार राति धामी बसाएको दिलमायाले बताइन् ।

    समाजकी अगुवा जस्मिता ढाका बुनाइको कुशल प्रशिक्षक थिइन् । उनले आफ्नै घरमा करिब एक दर्जन महिलालाई ढाका बुनाइ तालिम दिइरहेकी थिइन् । उनी नजिकैको आरुबोटे माविको व्यवस्थापन समिति सदस्य पनि थिइन् ।

    ‘टुहुरा भयौं’
    हत्याकाण्डपछि बमबहादुर र धनराजको परिवारै सखाप भएको छ । बमबहादुरका चार छोरीमध्ये दुई छोरी र एक ज्वाइँको हत्या भएको छ । एक ज्वाइँ झुन्डिएको अवस्थामा फेला परेका छन् । घटनाको खबर सुनेपछि माइती पुगेका दिलमाया र बुद्धिमाया शोकाकुल छन् । ‘हाम्रो त आफ्नो भन्ने कोही रहेन,’ बुद्धिमायाले भनिन् ।

    उनले हत्यामा संलग्न जो भए पनि कडा कारबाही हुनुपर्ने माग गरिन् । ‘परिवारलाई सखाप पार्नेले हामीलाई पनि मार्ने हो कि भन्ने डर लागिरहेको छ,’ दिलमायाले भनिन् ।

    एकै ठाउँ सुत्छन् गाउँले
    हत्या घटनापछि बमबहादुर फियाकको घर भएको टोलका गाउँले राति एक्लाएक्लै सुत्न सकिरहेका छैनन् । बीभत्स घटना देखेका गाउँले राति एकै ठाउँमा भेला भएर सुत्न थालेका छन् । ‘हामी आ–आफ्नो घरमा बस्न सकिरहेका छैनौं, भोक न निद्रा भएको छ,’ कान्छीमायाले भनिन्, ‘गाउँको मनोज फियाकको घरमा सबै गाउँले भेला भएर रात बिताउने गरेका छौं ।’

    यसैबीच पाँचथरको दक्षिण पश्चिमी गाउँ मिक्लाजुङ गाउँपालिकामा ९ जनाको हत्या भएको घटनामा संलग्न रहेको भनी आशंका गरिएका व्यक्ति मृत भेटिएका छन् । घटनास्थलभन्दा करिब डेढ घण्टा पैदल दुरीको लिम्बा गाउँमा उनी झुन्डिएको अवस्थामा फेला परेका हुन्।

    स्थानीय बासिन्दासँगको कुराकानी र घटनास्थल अवलोकनपछि प्रहरीले हत्यामा संलग्न रहेको शङ्का गरेका व्यक्ति मानबहादुर माखिम झुन्डिएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ।

    मानबहादुर हत्या गरिएको परिवारका कान्छा ज्वाइँ हुन्। उनको श्रीमतीसँग सम्बन्ध राम्रो नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको प्रक्रिया चलिरहेको थियो। बेमेल भएपछि श्रीमती माइत बस्दै आएकी थिइन्।

    प्रदेश १ प्रहरी प्रमुख डिआईजी केदार रिजालका अनुसार घटनाको प्रकृतिका आधारमा शङ्का गरिएका व्यक्ति झुन्डिएको अवस्थामा फेला परेका छन्। बाँच्न सफल १२ वर्षीया सीता खजुमले घटनाका बेला एक जना मात्र व्यक्ति देखेको प्रहरीलाई बताएकी छन्। घटनास्थलमा कुनै हतियार फेला परेको छैन।

    घटनास्थल मिक्लाजुङ ३ आरुबोटेभन्दा केही टाढा रहेको वडा ७ लिम्बा भन्ने स्थानको एक रुखमा मानबहादुर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटना भएका दुवै घर सिल गरी प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

    पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको छ। आफूसहितको टोली पनि घटनास्थलतर्फ गइरहेको उनले बताए। घटनास्थल पाँचथर सदरमुकाम फिदिमभन्दा करिब ६० किलोमिटर टाढा पर्छ।

    पाँचथरका प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगिसकेको छ।
    प्रदेश १ प्रहरी कार्यालयले पाँचथर हत्याकाण्डको अनुसन्धान गर्नका लागि प्रहरीको विभिन्न विभागको टोली परिचालन गरेको जनाएको छ।

    अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो, प्रदेश १ प्रहरी कार्यालयको अनुसन्धान समूह, धरानस्थित संघीय प्रहरी इकाइबाट वरिष्ठ प्रहरी उपरीक्षकसहितको टोली सक्रिय बनाइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले बताएको छ। अनुसन्धानका लागि तालिम प्राप्त कुकुर पनि प्रयोग गरिएको कार्यालयले जानकारी दिएको छ।

    प्रतिक्रिया