• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    ९ जनाको सामुहिक हत्याका भएकै ठाउँमा घट्यो अर्को घटना, गाउँपालिका अध्यक्षको बयानसहित

    23.8K
    SHARES

    फिदिम । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७, आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको केही घण्टामा सोही गाउँमा एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

    मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ की वडाध्यक्ष उर्मिला राईका अनुसार एक युवकको शव रुखमा झुण्डिएको अवस्थामा भेटिएको हो । झुण्डिएको अवस्थामा फेला परेका युवकको पहिचान हुन सकेको छैन ।

    युवक झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । यतिबेला प्रहरी घटनास्थलतर्फ गएको छ । आत्महत्या गर्ने युवाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले बताएको छ । घटनास्थल पुगेर अनुसन्धान गरेपछि थप कुरा आउने प्रहरीले बताएको छ ।

    यस्तै पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्यूराे सीआईबीको टोली त्यसतर्फ प्रस्थान गरेको छ । सीआईबीका एसपी उमा चतुर्वेदीको नेतृत्वमा एक इन्सपेक्टर र एक जुनियर प्रहरी अधिकृतको टोली पाँचथर प्रस्थान गरेको हो ।

    घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थलतर्फ गइसकेको प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।

    उता प्रदेश १ का डिआइजी केदार रिजाल पनि घटनास्थलतर्फ जाने तयारीमा रहेका छ । अनुसन्धानमा कुनै कसर बाँकी नराख्न भन्दै सम्पूर्ण नाकाहरु शिल गरेर प्रहरीले अभियुक्तको खोजी सुरु गरिसकेको जनाएको छ।

    गतराति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको थियो। धनराजको परिवारका ५ जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका ४ जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्थामा भेटिएको छ ।

    ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स तरिकाले हत्या भएको हो।

    १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । हत्यामा संलग्न व्यक्तिले आफ्नो अनुहार छोपेर २ परिवारका ९ जनाको हत्या गरेको घटनामा भागेर बाँच्न सफल १२ वर्षीया बालिका खजुमले बताएकी छिन् ।

    भागेर बाँच्न सफल सीता खाजुमका अनुसार कपडाले अनुहार छोपेर नचिनिने गरी आएका केही व्यक्तिले सबैलाई धारिलो हतियार प्रहार गरेका थिए । घाइते भएर उपचार गराइरहेकी खजुमले प्रहरी सामू भनेकी छन्, ‘पालैपालो सबैलाई हानेर भागे।’

    पाँचथरका प्रहरी नायब उपरीक्षक नरेन्द्र कुवँरका अनुसार दशमी र राँकेस्थित प्रहरी चौकीबाट टोली घटनास्थल पुगेको छ। स्थानीय सामाजिक कार्यकर्ता अर्चना गुरुङका अनुसार धनराजको परिवारका ५ जनाको हत्या भएको बिहान गाउँलेले थाहा पाएका थिए।

    यस्तै घटनास्थलतर्फ एक नम्बर प्रदेश प्रहरीका अनुसार हत्या अनुसन्धानका लागि संघीय प्रहरी इकाई कार्यालय सुनसरीबाट प्रहरी वरिष्ठ उपरीक्षक शरदकुमार खत्री आफैं हिँडेका छन्।

    उनीसँगै क्षेत्रीय अनुसन्धान समूह पनि अनुसन्धानका लागि पाँचथर हिँडेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले घटनाको प्रारम्भिक अनुसन्धानपछि टोली पठाउने तयारी गरेको छ। ‘यहाँबाट अनुसन्धानमा टोली पठाउने तयारी भइरहेको छ,’ ब्युरो निर्देशक निरजबहादुर शाहीले भने ।

    घटनाबारे के भन्छन् गाउँपालिका अध्यक्ष ? उनकै शब्दमा जस्तो त्यस्तै

    मैले यो घटना मंगलबार बिहान ६ बजेर ११ मिनेटमा थाहा पाएँ । थाहा पाउने वित्तिकै नजिकैको प्रहरी चौकीमा खबर गरेँ । र, इन्सपेक्टरसहित हामी घटनास्थलमा पुग्यौं । तत्कालै जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई पनि खबर गरियो ।

    हामी घटनास्थलमा पुग्दा ससुरा र ज्वाइँको घरमा घटना भएको देखियो। ससुरा र ज्वाइँको घर माथि र तल छ। सुरुमा हामीले ससुरा बमबहादुर फियाकको शव देखियो। बमबहादुर घरबाहिर सिखुवामा सुतेका रहेछन्।

    उनको अनुहारभरी धारिलो हतियार प्रहार गरेको देखियो। अनुहार नचिन्ने गरी हानिएको छ। छ्याकछ्याक पारेको देखियो। यताउता रगत लत्पतिएको देखियो। बमबहादुरको घरमा ४ वटा शव थिए। जसमा एउटा बाहिर र ३ वटा भित्र। हेर्नै नसकिने अवस्था थियो।

    त्यसपछि ज्वाइँ धनराज शेर्माको घरमा जाँदा झनै विभत्स दृश्य देखियो। भित्र जान सकिएन। बाहिरैबाट हेर्दा २ बालबालिका खाटमा रगताम्य भएर लडिरहेको देखियो। ३ वटा शव खप्टिएको देखियो। जताततै रगतै रगत थियो। रगतको ‘खोलै’ बगे जस्तै थियो।

    अहिले गाउँ शोकमग्न भएको छ। भागेर बाँच्न सफल भएकी १२ वर्षीया सीता खजुमका अनुसार हत्याराले मुख नचिनुन् भनेर अनुहार छोपेर आएका थिए। अहिलेसम्म कसले, के कारणले हत्या गर्‍यो अनुमान गर्नै सकिएको छैन। जिल्ला सदरमुकामबाट पनि अनुसन्धानका लागि डिएसपीको नेतृत्वमा आउँदै छ भन्ने सुनेको छु।

    हाम्रो गाउँपालिकाका सबैजसो जनप्रतिनिधि यहाँ भेला भएका छौं। यहाँको वातावरण निकै भावविह्वल छ। प्रहरीले घटनास्थल सिल गरेको छ। वरपर कसैलाई जान दिएको छैन। फोटो खिच्न दिइएको छैन। मृतकहरुको त्यस्तो कोहीकसैसँग नराम्रो भए जस्तो त मलाई लागेको थिएन। कसले, किन हत्या गर्‍यो प्रहरी अनुसन्धानबाट खुल्छ भन्ने विश्वासमा हामी छौं।

    ( समय सान्दर्भिक भएको गाउँपालिका अध्यक्षको भनाइ इकान्तिपुरबाट साभार गरिएको हो । मिक्लाजुङ गाउँपालिकाका अध्यक्ष अमरराज माखिमसँग कञ्चनअधिकारीले गरेको कुराकानीमा आधारित )

     

    प्रतिक्रिया