काठमाडौं । महानगरपालिकाले खुलामञ्चमा बनाइएका सटर भत्काउन सुरु गरेको छ । खुला मञ्चमा सटर बनाएपछि महानगरपालिकाले शनिबार डोजर लगाएर भत्काउन सुरु गरेको हो ।
काठमाण्डु महानरपालिकाका कार्यान्वयन महाशाखा प्रमुख धनपति सापकोटा नेतृत्वको नगरप्रहरीसहितको टोलीले सटर भत्काउन सुरु गरेको हो । खुला मञ्चमा ५१ वटा सटर निर्माण गरिएको थियो । टोलीले खुल्लामञ्चमा निर्माण गरिएका ५१ वटा सटरहरु भत्काएको हो ।
काठमाण्डु टावरको निर्माण गरिहेको जलेश्वर स्वच्छन्द विकोई विल्डर्स कम्पनीका मालिक मनोजकुमार भेटवालले नक्कली सम्झौता पत्र बनाएर खुल्ला मञ्चमा ५१ वटा सटरहरु अनधिकृत रुपमा निर्माण गरि बेचेका थिए ।
पुरानो बसपार्कमा निर्माणाधिन ‘भ्यु–टावर’ सम्पन्न नहुँञ्जेलसम्म सो क्षेत्रलाई अस्थायी बसपार्कको रुपमा प्रयोग गर्ने सहमति भएपनि अहिले आएर ठेकादार कम्पनीको नै अगुवाइमा उक्त सटरहरु निर्माण भएको थियो । एक सटरको१५ हजारदेखि २५ हजारसम्म उनीहरुले भाडामा लगाएका थिए ।
खुलामञ्चमा बिना टेन्डर, बिना बिल भरपाई ब्यापारिक प्रयोजनका लागि सटरहरुको निर्माण गरेपछि केही दिनअघि नयाँशक्ति पार्टी, कांग्रेस र स्थानीयको अगुवाइमा विरोध प्रदर्शन भएको थियो । उनीहरुले वैशाखभित्र ती संरचना नहटाए आफ्नै पैसामा डोजर ल्याएर भए पनि हटाउने चेतावनी दिएका थिए ।
पछिल्लाे समय खुल्लामञ्च अतिक्रमण भएकाे भन्दै चौतर्फीरुपमा विराेध भइरहेकाे छ । महानगरले डोजर लगाएपछि व्यापारीको भागाभाग भएको छ । भने सर्वसाधारण खुसि भएका छन् । त्यस्तै नेकपा नेता भिम रावलले पनि खुलामञ्च अतिक्रमण भएकाे भन्दै विरोध गरेका छन् । उनले खुलामञ्च बेच्नेमाथि तत्काल कारबाही गर्न माग गरेका छन् ।
उनले भनेका छन्, ‘खुला मञ्चमा ब्यापारिक पसल ! बेथिति, कुत्सित स्वार्थको पराकाष्टा । कानूनी शासन र सामाजिक हित र मर्यादाको उपहास ! खुलामञ्च सरकारले तुरून्त खालि गराओस् र मिचेर ब्यापार गर्ने र गर्न दिनेलाई कानूनी कारवाही होस् ।’ अतिक्रमणको सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले पनि व्यापक निरोध गरेका छन् ।
अवरोधको सामना गर्नुपरेन – काठमाडौं महानगरपालिकाले डोजर चलाइरहँदा कुनै पनि अवरोधको सामना गर्नुपरेन । डोजर लगाउँदा खुल्लामञ्च वरिपरि प्रहरी परिचालन गरेर सर्वसाधारणलाई भित्र जान दिइएको थिएन । तर, पसलवालाहरु र पत्रकारलाई भने प्रवेह दिइएको थियो ।
डोजर चलिरहँदा पसलेहरु आफ्नो सामानको सुरक्षा गर्नतिर लागेको देखिनथ्यो । कतिपय पसलेहरुले सामान निकाल्न महानगरपालिकाले पर्याप्त समय नदिएको भन्दै गुनासो पोखेका थिए । कतिपय पसलेहरु चाहिँ त्यहाँ उपस्थित नभएको र सटरमा चाबी लागेको हुनाले त्यस्ता पसलका सामानहरु सडकसँगै छरपस्ट बनेका छन् ।
खुल्लामञ्च अतिक्रमण भएको विरोधमा जनताको अभिमत रहेका कारण महानगरपालिकाले डोजर चलाएकोमा स्थानीयहरु पनि खुशी देखिएका छन् । यही कारणले गर्दा कुनै अवरोध विनै महानगरपालिकाले एकाध घण्टामै करिब ४० वटा सटरहरु भत्काएर काम तमाम गरिदिएको छ ।
महानगरपालिकाले सडकहरु भत्काएपछि त्यहाँ रहेका पसलेहरु बिचल्लीमा परेका छन् । अब उनीहरु आफ्नो सामानको सुरक्षा गर्नेतिर लागेका छन् ।
प्रतिक्रिया