• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    15.3K
    SHARES

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका छन् ।

    देशका विभिन्न ठाउँमा भएको विस्फोटमा परी सयौँको मृत्यु भएपछि त्यसको जिम्मेवारी लिँदै राजीनामा दिन उनले प्रहरी प्रमुख पुजिथ जयसुन्दर र रक्षा सचिव हेमासिरि फेर्नान्डोलाई आदेश दिएका हुन् ।

    राष्ट्रपति सिरिसेनाले घटना लगत्तै केही दिन अगाडि नै एउटा बैठकमा उनीहरुलाई राजीनामा दिन आदेश दिएको सरकारी अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । राष्ट्रपति सिरिसेनाले मंगलबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दा पनि सुरक्षा निकायका प्रमुखहरुलाई परिवर्तन गर्ने संकेत गरेका थिए ।

    विनाशकारी घटनालाई नियन्त्रण गर्न सकिने अवस्था हुँदाहुँदै पनि सुरक्षा प्रमुखहरुको लापरवाहीका कारण घटना भएको ठहर गर्दै उनीहरुलाई परिवर्तन गर्न लागिएको हो ।

    श्रीलंकाको राजधानी कोलम्बोका तीनओटा पाँचतारे होटल र दुईओटा गिर्जाघर (चर्च)मा गत आइतबार भएका शृंखलाबद्ध बम विस्फोटमा मृत्यु हुनेको संख्या बुधबार मध्याह्नसम्म ३५९ जना पुगेको प्रहरीले जनाएको छ ।

    मृत्यु हुनेमा भारतीय, अमेरिकी, बेलायती, जापानीसमेतका ३७ जना विदेशी नागरिक रहेको श्रीलंकाको विदेश मन्त्रालयले जनाएको छ । विस्फोटबाट करिब ५०० व्यक्ति घाइते भएका छन् । उपचार गराइरहेका घाइतेमध्ये अझै केही व्यक्तिको स्वास्थ्य अवस्था गम्भीर रहेको अस्पतालहरुले जनाएका छन् ।

    राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र राजधानीनजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा विस्फोट गराइएको थियो । यस्तै, राजधानीका पाँचतारे होटलहरु सांग्रिला, सिनमन ग्रान्ड र किङ्सबरीमा पनि विस्फोट भएका थिए । मुलुकको पूर्वी क्षेत्र बाट्टिकोलोवा नगरको चर्चमासमेत शक्तिशाली विस्फोट भएको थियो ।

    विस्फोटको जिम्मेवारी इस्लामिक स्टेट समूहले लिएको छ । तर, सरकारले श्रीलंकामै सामान्य सक्रिय समूह नेसनल थोहित जमाथको संलग्नताको आशंका गरेको छ । यो समूहलाई अन्तर्राष्ट्रिय आतंकवादी समूहले मद्दत गरेको हुनसक्ने श्रीलंका सरकारको अनुमान छ ।

    प्रधानमन्त्री रनिल विक्रमासिंघेले पनि मंगलबार राति सन्चारकर्मीसँग कुरा गर्दै देशको सुरक्षा संयन्त्रले घटनामा विदेशी संलग्नताको आशंका गरेको र केही तथ्य प्रमाणले त्यही देखाएको बताए ।

    मंगलबार राति पनि श्रीलंकाली प्रहरीले खोज अभियान सन्चालन गरेको र त्यसक्रममा १८ जनलाई नियन्त्रणमा लिएको जनाएको छ । हालसम्म करिब ६० जनालाई पक्राउ गरिसकिएको छ ।

    बौद्धमार्गी बहुल श्रीलंकामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा विस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भइरहेका थिए ।

    यसैबीच खलाबद्ध बम विस्फोट गराउने ८ जना आतंककारीको तस्वीर सार्वजनिक गरिएको छ । आक्रमणको जिम्मेवारी लिएको आतंकवादी संगठन इस्लामिक इस्टेट (आइएस) ले विष्फोटमा संलग्न सबै ८ जना लडाकुको तस्वीर सार्वजनिक गरेको हो ।

    ट्वीटमार्फत सार्वजनिक तस्वीरमा देखिएका ८ जना लडाकुले नै आक्रमण गराएको दावी गरिएको छ । @Natsecjeff बाट सार्वजनिक गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । कालो कपडा लगाएका उनीहरु मध्ये एक जनाले मुख छोपेका देखिन्नन् ।

    यसअघि ‘अमाक न्युज एजेन्सी’लाई उद्धृत गर्दै ‘रोयटर्स’ले आक्रमणको जिम्मेवारी आइएसले लिएको जनाएको थियो । श्रीलंका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले पनि घटना आइएसले गराएको हुनसक्ने बताएका थिए । यसअघि श्रीलंकाली सरकारले स्थानीय मुस्लिम समूह नेसनल तौहिद जमात(एनटीजे)को हात रहेको आशंका गरेको थियो ।

    यसैबीच श्रीलङ्कामा बसोबास गर्ने नेपाली समुदायका सदस्यबारे अहिलेसम्म कुनै अप्रिय जानकारी नआएको र सबै सुरक्षित भएको हुन सक्ने श्रीलङ्काका लागि नेपाली राजदूत विश्वम्भर प्याकुर्‍यालले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

    दूतावासकी प्रथम सचिव धनकुमारी जोशी भन्छिन्, “यहाँ बस्ने नेपालीहरूले सामाजिक सञ्जाल फेसबुकको एउटा समूहमा आफूहरू सुरक्षित भएको जानकारी दिएका छन्।” हताहत भएका विदेशी नागरिकहरूको राष्ट्रियता भने अझै स्पष्ट भइसकेको छैन।

    श्रीलङ्का सरकारले विदेशी कूटनीतिज्ञहरूसँग भेटघाट गरेर औपचारिक जानकारी दिएपछि मात्र त्यो स्पष्ट हुन सक्ने राजदूत प्याकुर्‍यालको भनाइ छ। कोलम्बोमा बौद्ध भिक्षु, विद्यार्थी, व्यापारी र विभिन्न सेवाक्षेत्रमा काम गर्ने व्यक्तिहरू एवम् तिनका परिवारका सदस्यसमेत झन्डै चार सय नेपालीहरू भएको अनुमान नेपाली दूतावासको छ।

    श्रीलङ्काभरि भने झन्डै एक हजार नेपालीहरू भएको बताइन्छ। यसैबीच नेपाल सरकारले श्रीलङ्कामा भएका विस्फोटनहरूको निन्दा गर्दै श्रीलङ्का सरकार र जनताप्रति सहानुभूति प्रकट गरेको छ।

    उक्त घटनाप्रति नेपालका प्रधानमन्त्री र परराष्ट्रमन्त्री तथा अन्य दक्षिण एशियाली देशका नेताहरूले गहिरो दु:ख प्रकट गरेका छन्। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले ती विस्फोटनमा निर्दोष मानिसहरू मारिएको भन्दै दु:ख व्यक्त गरेका छन्।

    उनले आइतवारको घटनालाई “मानवताविरोधी काम” भनेका छन्। उनले ट्विटरमा भनेका छन्, “श्रीलङ्काका सम्माननीय प्रधानमन्त्री रनिल विक्रमसिङ्घे र क्रूरताको सिकार भएका शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्छु। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्छु।”

    त्यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले “श्रीलङ्कामा धेरै मानिसहरूको ज्यान जानेगरी भएको घटनाबाट आफूलाई गहिरो धक्का लागेको” बताएका छन्।

    ट्विटरमार्फत् उनले श्रीलङ्कका सरकार र त्यहाँका जनताप्रति नेपाल सरकारको तर्फबाट समवेदना प्रकट गरेका छन्। ज्ञवालीले भनेका छन्, “नेपाल जुनसुकै नाममा हुने आतङ्कवादलाई स्पष्टरूपमा निन्दा गर्छ।”

    प्रतिक्रिया