• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    ओली-प्रचण्ड र माधव नेपालबीच भयो यस्तो सहमति, नेता कार्यकर्ता चकित

    14.6K
    SHARES

    काठमाडौं । नेता कार्यकर्ताहरुको ढुकढुकी बढाउदै तत्कालीन एमाले र माओवादी केन्द्रबीच झण्डै एक वर्षपछि जिम्मेवारी बाँडफाँटसहित समायोजन गर्ने सैद्धान्तिक सहमति बनेको छ ।

    सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली, दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच शुक्रबार र शनिबार भएका बैठकहरूमा समायोजनको विषय वैशाख ९ गतेभित्र टुंगाउने सहमति भएको हो । स्रोतका अनुसार ६०–४० को सिद्धान्तभित्र रहेर तत्कालीन एमाले र माओवादी केन्द्रका नेताहरूलाई जिम्मेवारी दिइनेछ ।

    शीर्ष नेताहरूले आफू निकटका नेताहरूलाई व्यवस्थापन गर्न समायोजनमा ढिलाइ गरेको आरोप लाग्दै आएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालले आफूहरू नेकपाभित्र पेलानमा परेको गुनासो गर्दै आएका छन् । नेता नेपालले समायोजनमा पेल्ने प्रवृत्ति भयो भने समानान्तर कमिटीहरू बनाउने चेतावनी दिइसकेका छन् ।

    तर, नेकपाभित्रको विवादलाई समाधान गरेर समायोजन र जिम्मेवारी दिने गरी शनिबार प्रमुख नेताहरूका बीच सहमति भएको छ । नेताहरूबीच भएको सैद्धान्तिक सहमतिलाई अन्तिम रुप दिन आइतबार पनि शीर्ष नेताहरू सक्रिय रहनेछन् ।

    ११ महिनादेखि अल्झिएको एकता प्रक्रियाका बाँकी काम ९ वैशाखमा टुंग्याउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का चार शीर्ष नेताबीच सैद्धान्तिक सहमति भएको छ । शीर्ष नेताहरूबीचको छलफलले सकारात्मक निष्कर्ष निकालेको अवस्थामा तत्कालै केन्द्रीय सचिवालय बैठक बस्ने सम्भावना रहेको छ ।

    चार शीर्ष नेताबीच जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएको छ । आइतबार बिहान बस्ने बैठकले प्रस्तावलाई अन्तिम रूप दिने तयारी छ । सहमति जुटाउने मापदण्डका सन्दर्भमा विभिन्न विकल्पमा चारै नेताले लचिलो बनेर खुला छलफल गरेका छन् ।

    विशेषगरी पूर्वएमाले समूहमा एकता टुंग्याउने मापदण्डबारे अध्यक्ष ओली र नेपालबीच समझदारी जुटेको थिएन । नेपाल साबिक कमिटीमा रहेकामध्येबाट वरिष्ठलाई अध्यक्ष र सचिव बनाउनुपर्ने अडानमा छन् ।

    अध्यक्ष ओली सबै जिल्लामा एउटै मापदण्ड लागू हुन नसके पनि नेपाल समूहलाई पनि सम्मानजनक स्थानका साथ समेटेर प्रस्ताव टुंग्याउने निष्कर्षमा पुगेका छन् । बिहीबार अध्यक्ष ओली र प्रचण्डले वरिष्ठ नेता नेपाललाई मनाउन एकता प्रक्रियाका मापदण्डमा केन्द्रित रहेर छलफल गरेका थिए ।

    वरिष्ठ नेता नेपालले जिल्ला नेतृत्वमा साबिक कमिटीमा रहेका वरिष्ठमध्येलाई चयन गर्नुपर्ने मापदण्ड अघि सार्दै आएका छन् । जनप्रतिनिधिमा निर्वाचित र राजकीय मामिलामा रहेकालाई पार्टीमा कार्यकारी जिम्मेवारी नदिने सचिवालयको निर्णयलाई आधार मानेर वरिष्ठताको मापदण्डअनुसार एकता टुंग्याउनुपर्ने नेपालको सुझाव छ ।

    यता  एकता प्रक्रिया टुंग्याउन नेकपाका चार शीर्ष नेताहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा बैठक चलिरहेको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव बिष्णु पौडेलबीच सहभागी छन् । उनीहरुबीच अनाैपचारिक छलफल भइरहेको स्राेतले जनाएको छ ।

    आजको बैठकले जिल्ला अध्यक्ष र सचिव, पोलिटब्युरोको गठन र उपत्यका समितिको टुंगो लगाउने सम्भावना छ। नेकपाले सात प्रदेश कमिटीजस्तै र एउटा काठमाडौं उपत्यकाको कमिटी पनि बनाउने भएको छ।

    शीर्ष नेताहरुबीच आज अन्तिम सहमित भए सोमबार कम्युनिष्ट पार्टी स्थापना दिवसकाे अवसरमा नेकपाकाे एकता सम्पन्न गर्ने तयारी छ । अघिल्लो जेठ ३ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको घोषणा भएको थियो ।

    अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच सहमति भएपछि पछिल्ला केही दिनयता नेकपाको सांगठनिक एकता प्रक्रिया अगाडि बढेको थियो।

    नेकपाभित्र पूर्वएमालेले ४५ र पूर्व माओवादीले ३२ जिल्लाको नेतृत्व गर्ने सहमति भैसकेको छ। जिल्ला नेतृत्व पूर्वएमालेले पाए सचिव पूर्व माओवादीतर्फले पाउनेछ। त्यस्तै पूर्व माओवादीले नेतृत्व पाएको ठाउँमा सचिव पूर्व एमालेको हुनेछ।

    कम्युनिस्ट पार्टीको ७०औँ स्थापना दिवस भव्य रुपमा मनाउने

    यस्तै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले वैशाख ९ गते कम्युनिस्ट पार्टीको ७०औँ स्थापना दिवस भव्य रुपमा मनाउने निर्णय गरेको छ ।

    नेकपाका नेता एवम् सांसद कृष्णगोपाल श्रेष्ठका अनुसार नेकपाको ७०औँ स्थापना दिवस वैशाख ९ गते मध्यान्ह १ू बजे काठमाडौंको कमलादीस्थित प्रज्ञाभवनमा मनाइनेछ ।

    स्थापना दिवसका अवसरमा हुने विशेष कार्यक्रमलाई नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओली, दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।

    कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा हुन लागेको कार्यक्रममा सहभागी हुन नेकपाले आफ्ना नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूसँग आग्रह गरेको छ । तत्कालीन एमाले र माओवादी केन्द्रीबीच पार्टी एकीकरण भएपछि पहिलो पटक कम्युनिस्ट पार्टीको स्थापना दिवस नेकपाले मनाउन लागेको छ ।

    प्रतिक्रिया