News Portal

  • दुई मिनेट चलेको हावाहुरीले कसरी पुर्‍यायो यति ठुलो मानवीय क्षति ? यस्तो रहेछ डरलाग्दो कारण

    संचारकेन्द्र संवाददाता
    १४४१ पटक

    बारा । आइतबार साँझ एक्कासी आएको हावाहुरीका कारण र बारा र पर्सामा ज्यान गुमाउनेहरुको आँकडा फरक फरक आएको छ । स्थानीयले अहिलेसम्म ३५ जनाको ज्यान गएको बताइरहेका बेला प्रहरीले भने अहिलेसम्म २७ जनाको मात्रै शब भेटिएको पुष्टि गरेको छ । अन्य हराइरहेका केहि व्यक्ति सम्पर्कमा नआएका कारण मृतकको संख्या बढ्नसक्ने बारा प्रहरीले जनाएको छ ।

    तर यता प्रदेश नं. २ का मुख्यमन्त्री मोहम्मद लालबाबु राउतले अहिलेसम्म बारामा २९ जना र पर्सामा १ कजना गरी ३० जनाको ज्यान गएको बताएका छन्। घटनामा परी ६ सयभन्दा बढी घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हुरीले अधिकांश घरका छाना उडाइदिएको छ ।

    घरको छाना र कतिपय घरै भत्किएका कारण भण्डारण गरिएको अन्न पनि नष्ट भएको छ । तराईका फुसका घरहरु अधिकांश सग्ला छैनन् । सडक किनारामा पार्क गरिएका मालबाहक ट्रक पल्टिएर क्षतिग्रस्त भएका छन् भने रोकिराखेका बस पनि पल्टिएका छन् । बस्ने घरनै नभए पनि हजारौं सर्वसारधारणको बिचल्ली छ ।

    राति साढे आठ बजेतिर बेस्सरी चलेको हावाले बाराको फ्रेटा, पर्सौनी, महागढीमाई र सुवर्ण गाउँपालिका र पर्साको वीरगञ्जमा ठूलो मानवीय क्षति गरेको हो। सांसद पारस साहले आइतबार राति २ मिनेटसम्म मात्रै यस्तो भूमरी चलेको र त्यति नै बेला सारा तहसनहस भएको बताएका छन् ।

    उनले भनेका छन्- ‘साँझ एक्कासी पानी पर्लाजस्तो भएको थियो ।दुई मिनेट मिनेट यस्तोसँग भूमरी चल्यो कि केही अत्तोपत्तो नै भएन। त्यति नै बेला सारा तहसनहस भयो। स्थानीयका अनुसार त्यो न अरुबेलाको हुरी जस्तो थियो न तुफानी झरी जस्तो। कानै छेउमा आएर हेलिकप्टर उड्न लागेको बेला जस्तो आवाज आएको थियो। डरलाग्दो आवाज आयो र एकैछिन जादू जस्तै गरी के के भयो भयो।’

    आउनाले अगाडि थपे – ‘राति भरबलिया गाउँ पुग्दा अचम्म लाग्दो अवस्था थियो। सबैको घरको छाना उडेका थिए। पर्खाल ढलेका थिए। घरभित्रका सामान उडेर कता कता पुगेका थिए। भूमरी कति शक्तीशाली रैछ म त छक्कै परे। बाटोमा रोकिराखेका दुईवटा ट्याक्टर नै उडेको थियो रे। ती ट्याक्टर बाटो छेउमा लडेका थिए। टेम्पु नै ५ सय मिटर माथिसम्म उडाइदिएको थियो। हुण्डरी कति शक्तिशाली रहेछ भने चापाकल (धारा) नै उखेलिएको थियो।’

    चैत वैशाखमा साँझपख गड्याङगुडुङ हुनु र हावाहुरी चल्नु सामान्य नै हो। जमिनको सतह तातेर तातो हावा माथि जाने र त्यसमा माथिको चिसो हावा मिसिने हुँदा मनसुन सुरू हुनुअघि पहाडी र तराई क्षेत्रमा यस्तो हुन्छ। तर बारा र पर्सामा आइतबार चलेको हावा हुरी असामान्य थियो।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार दुई तिरबाट आएका चिसो र तातो हावाका प्रणाली बाराको आकाशमाथि भेट हुँदा भूमरी चलेको हो।

    ‘एकातिर भू-मध्य सागरबाट आएको पश्चिमी वायुको प्रणाली पोखरा हुँदै दक्षिणपूर्व गइहरेको थियो अर्कोतिर बंगालको खाडी र अरेबियन सागरबाट आएको प्रणाली भारतबाट उत्तरपूर्व गइरहेको थियो,’ अर्यालले भने,‘यी दुई प्रणाली बाराको आकाशमा एकअर्कामा मर्ज हुँदा ठूलो भूमरी र हावाहुरी चल्यो।’

    पश्चिमी वायुको प्रणाली जमिनको सतहदेखि तीन किलोमिटर माथिबाट बहन्छ। यो प्रणाली निकै चिसो हुन्छ। बंगालको खाडी र अरेबियन सागरबाट आउने प्रणाली जमिनबाट १ देखि डेढ किलोमिटर माथिबाट जान्छ। पर्याप्त जलवाष्पसहित आउने यो प्रणाली पश्चिमी वायूभन्दा तातो हुन्छ।

    ‘हिजो साँझ माथिबाट बेगमा गइरहेको चिसो हावा तलबाट त्यसरी नै आएको तातो हावासँग ठोक्किदा तल झर्‍यो। चिसो हावा तल झरेपछि खाली भएको माथिल्लो भागमा तातो हावा गयो। त्यही भूमरी बन्यो,’ अर्यालले भने, ‘प्रि-मनसुनमा यस्तो अन्त पनि हुन्छ। तर त्यहाँ दुइटा बलिया प्रणाली मिलेकाले हावाको गति निकै तीव्र भयो।’

    उनका अनुसार हुरी चल्दा हावा प्रतिसेकेण्ड १८ मिटरको गतिमा बहन्छ। हिजो राति बारामा प्रतिसेकेन्ड ३५ मिटरको गतिमा हावा चलेको देखिन्छ। ‘यसको थप अध्ययन गर्न बाँकी छ,’ अर्यालले भने। मौसम पूर्वानुमान महाशाखाले तीन दिनसम्मको मौसम पूर्वानुमान गर्न सक्छ। त्यसमा पनि पानी पर्ने र नपर्ने बादल लाग्ने/नलाग्ने कुरा मुख्य गरी समेटिन्छ। ‘अचानक आउने यस्तो हावा हुरीको पूर्वानुमान गर्न सक्ने प्रविधि अहिले हामीसँग छैन,’ अर्यालले भने।

    यसैबीच प्रदेश २ सरकारले प्रदेशको बारा र पर्सामा भीषण हावाहुरीका कारण ठूलो जनधानको क्षति भएको भन्दै संघीय सरकारलाई राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेको छ ।

    प्रदेशका मुख्यमन्त्री र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको टेलिफोन कुराकानीका क्रममा मुख्यमन्त्री राउतले राष्ट्रिय शोकको घोषणा गर्न आग्रह गरेका हुन् । ‘मुख्यमन्त्रीज्यूले प्रधानमन्त्रीज्यूलाई यस्तो आग्रह गर्नुभएको छ’ प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री शैलेन्द्र साहले भने, ‘अब संघीय सरकारले के गर्छ, हेरौं ।’

    प्रदेशमा आफूहरुले नै शोक घोषणा गर्न लागे पनि यत्रो क्षतिले राष्ट्र नै शोकमा पुगेकाले संघीय सरकारलाई यस्तो आग्रह गरिएको मन्त्री साहले बताए । मन्त्री साहका अनुसार सोमबार बिहानको प्रदेश सरकारको बैठकममै यो प्रस्ताव आए पनि आफूहरुले यस सम्बन्धमा कुनै निर्णय नगरी प्रधानमन्त्रीलाई आग्रह गरिएको हो ।

    बिहान बसेको प्रदेश सरकारको बैठकले मृतकका परिवारलाई रु ३ लाखका दरले क्षतिपूर्ति दिने र घाइतको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।

    यसैबीच बारा र पर्सामा आएको हावाहुरीका कारण घाइते भएकाहरुको उपचारको लागि रगत अभाव भएपछि नेपाली सेना र प्रहरी जवाहरुले रक्तदान गर्न थालेका छन् । रातभरी उद्धारमा खटिएका सेना र प्रहरी जवानले घाइतेहरुका लागि रक्तदान गरेका हुन् ।

    घाइतेहरुको उद्धार काम चलिरहेको छ । मृतकको संख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । प्रदेश नम्बर २ सरकारले आईताबार रातिदेखि नै घाइतेहरुको उद्धार गर्न प्रभावित क्षेत्रमा आफ्नो मातहतको उद्धार टोली पठाइ सकिएको मन्त्री यादवले जानकारी दिए ।

    एक्कासी तीव्र गतिको हावा चलेकाले सर्वसाधरणको भागदौड मच्चिएको थियो । कतिपय घरमै बसेका व्यक्तिको समेत घर भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ । तराईका अन्य जिल्लामा पनि हावाहुरीबाट सर्वसाधरण प्रभावित भएपनि ठूलो क्षति नभएको प्रहरीले जनाएको छ ।

    २०७५ चैत १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सर्वाेच्च अदालतले भन्यो – एनसेलसँग तत्काल कर नउठाउनू

    काठमाडौं । सर्वोच्च अदालतले विवादित टेलिकम कम्पनी एनसेललाई तत्काल कर असुल नगर्नु भनी अल्पकालीन अन्तरिम...

    अन्तर्राष्ट्रिय विमानस्थलमा बोइङमा एक्कासी आगलागी, के छ क्षतिको बिबरण

    काठमाडौं । एयर इण्डियाको विमानमा आगलागी भएको छ । भारतको राजधानी नयादिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अबेर...

    प्राधिकरणमा गयो भूकम्प, ४ हजार प्राविधिकले गरे सामुहिक राजीनामाको घोषणा, कारण भिडियोसहित

    काठमाडौं । राष्ट्रिय पूनर्निर्माण प्राधिकरणमा भूकम्प जाने निश्चित भएको छ । करिब चार हजार प्राविधिकहरुले...

    श्रीलंकामा फेरि अर्को भयानक विस्फोट, ज्यान गुमाउनेको सङ्ख्या ३ सय ६० पुग्यो

    काठमाडौं । श्रृङ्खलाबद्ध बम आक्रमणले शोकमा रहेको श्रीलंकामा बिहीबार फेरि अर्को भयानक विस्फोट भएको छ...

    तत्काल राजीनामा दिन प्रहरी र सेना प्रमुखलाई आयो निर्देशन, अब के हुन्छ ?

    एजेन्सी । श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रहरी र सेनाको नेतृत्वलाई तत्काल राजीनामा दिन आदेश दिएका...