• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    4.7K
    SHARES

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर थापा ‘बादलले राजीनामा दिँदैछन् ।

    एककान, दुईकान मैदान हुँदै उक्त हल्ला गृहमन्त्री थापाको कानमा समेत पुग्यो । ललितपुरको एनसेल टावरमा भएको बम विस्फोटन र पार्टी एकीकरणका लागि गठति बादल नेतृत्वमा गठित कार्यदल विघटन भएको पृष्ठभूमिमा बादलको राजीनामाको हल्ला फैलिएकाले धेरैले सही हुनसक्ने अनुमाग पनि गरे ।

    सत्तारुढ नेकपाभित्रबाटै चुहिएको यो सूचना सामाजिक सञ्जालसम्म पनि पुग्यो । गृहमन्त्रीले राजीनामा दिन लागेको बिषय पूर्व एमाले र पूर्व माओवादीका लागि बढी चासोको बिषय बन्नु स्वाभाविक पनि हो । उनीहरुले राजीनामाको बिषय हल्ला मात्रै हो या वास्तविकता हो भन्नेबारे बुझ्न चाहे ।

    नेकपाका नेता, कार्यकर्ता र सञ्चारकर्मीले बादल र उनका निकटस्थहरुलाई टेलिफोन गरी राजीनामाको हल्लाबारे एकिन हुन चाहे । एकातिर आगामी फागुनको २०/२१ गतेतिर मन्त्रिपरिषदमा हेरफेरको चर्चा चलिरहेका बेला गृहमन्त्रीको राजीनामाले बजार तात्यो । तर, राजीनामाको हल्ला सही थिएन ।

    स्वकीयसचिव समेत रहेका बादलपुत्र प्रतीकले राजीनामाको कुनै सम्भावना नरहेको बताए । ‘राजीनामाको सम्भावना छैन’, उनले भने, ‘गलत हल्ला चलाइएको होला ।’ यद्यपि स्रोतका अनुसार बादलको नाम प्रधानमन्त्री ओलीले हटाउन चाहेका मन्त्रीको सूचीमा छ ।

    अरबौं करछली गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएको छ । शुक्रबार एकैरातमा एनसेलका २ दर्जन बढी टावर ध्वस्त पारिएका छन् ।

    ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयमा शुक्रबार साँझ करिब साँझ ७ बजेर ५५ मिनेटमा भएको उक्त विस्फोटमा परेर एक जना बाटो हिड्दै गरेका बटुवाको ज्यान गएको छ । अन्य २ जना घाइते छन् । घाइतेमध्ये १ जनाको अवस्था गम्भीर छ ।

    विस्फोटनमा परी ज्यान गुमाउनेमा लमजुङ घर भई ललितपुरको भैंसेपाटी बस्दै आएका ४९ वर्षीय सिंहप्रसाद गुरूङ रहेका छन् । उनको मेडिसिटी अस्पतालमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको हो।

    शनिबार मात्रै गृहमन्त्री बादलले नख्खु बम विस्फोटमा परी घाइते भएकाहरूको उपचार खर्च व्यहोर्ने बताएका छन्।शनिबार मेडिसिटी अस्पतालमा घाइतेको अवस्था बुझ्न आइजिपी सर्वेन्द्र खनालसँगै पुगेका गृहमन्त्री रामबहादुर थापाले सो कुरा बताएका हुन्।

    यसका साथै,उनले घटनाबारे सरकारले छानबिन गर्ने र सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कारबाही गर्ने प्रतिवद्धता जनाए। घाइते भएका ललितपुर ४ बागडोल बस्ने २६ को प्रतिक्षा खड्का र काभ्रेको बनेपा घर भई मेडिसिटी अस्पतालमा स्टाफ नर्सको रूपमा कार्यरत २५ वर्षीया उरुशा मानन्धरको उपचार भइरहेको छ।

    घाइतेका परिवारजनले घटनाका दोषीलाई छिटो कारबाहीको दायरामा ल्याउन आग्रह गरेका थिए। गृहमन्त्री थापाले देशैभर भएका घटनाप्रति दु:ख व्यक्त गर्दै सरकार गम्भीर रहेको बताए। बम कसले राखेको हो भन्नेबारे अहिलेसम्म प्रहरीले पत्ता लगाउन सकेको छैन। यस्तै देशका विभिन्न ठाउँमा एनसेलका टावरमा आगजनी भएका छन्।

    प्रहरी हाइअलर्ट

    एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद व्यक्तिलाई तत्काल समातेर हिरासतमा राख्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएका छन् । बादलको आदेश पाएलगत्तै शनिबार नै प्रहरी हेर्डक्वाटरले देशभर सर्कुलर पठाईसकेको छ ।

    करछली गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएपछि ओली सरकारलाई आक्रमणकारी पहिचान गर्न हम्मेहम्मे परेको छ । तर देशमा ओली सरकारलाई चुनौती दिएर समानान्तर सत्ताको अभ्यासमा रहेको बिद्रोहि नेपाल कम्युनिष्ट पार्टीले नै उक्त आक्रमण गरेको आशंका सरकारको छ ।

    आशंकाकै आधारमा प्रहरीले अनुसन्धानका लागि भन्दै नेकपाका १८ कार्यकर्तालाई पक्राउ गरेको स्रोतले बताएको छ। शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गरेर सुरु भएको विष्फोटको घटनापछि भैरहवा, रौतहट पोखरा, काभ्रे, बाग्लुङ, नवलपुर र कंचनपुरसहित करिब २ दर्जन बढी एनसेल टावरमा पनि बम बिस्फोट रआगजनी भएको थियो।

    प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले देशभरको सुरक्षा हाई अलर्टमा राखिएको बताए। उनले भने, ‘एनसेलका टावरमा विष्फोट र आगजानी गर्नेमाथि फेरी धरपकड सुरु भएको छ। अहिलेसम्म १८ जना पुगिसके।’ प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरी संभावित घटनाबारे उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

    सुवेदीले भने, ‘हामीले प्रहरी युनिटलाई सुरक्षा सतर्कता अपनाउन सर्कुलर जारी गरेका छौं ।आगजानी गर्ने समुहमाथि थप धरपकड जारी छ।’ ललितपुरमा एनसेलको कार्यालय अगाडि भएको विष्फोटमा संलग्न भएको आशंकामा मात्रै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। गिरफ्तार परेकाहरुको बारेमा प्रहरीले केहि पनि खुलाएको छैन ।

    ‘उपत्यकाका सबै जिल्लाका युनिटहरुलाई एलर्ट गराइसकेका छौँ, सुरक्षा व्यवस्था कडा भएको छ’, प्रवक्ता सुवेदीले भने, ‘ठाउँ ठाउँमा चेक जाँच खानतलासी र शंकास्पदहरुमाथि निगरानी बढाइरहेका छौँ ।’

    उता महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता होबिन्द्र बोगटीले चेक जाँचमा कडाइ गरिएको जनाउँदै परिसर अन्तरगतका सबै युनिट अहिले सुरक्षा व्यवस्था कडा बनाउन जुटेको बताए । प्रहरीका अनुसार एनसेलमा बम पड्काउने समूहको अहिलेसम्म पहिचान हुन सकेको छैन । कमल पोखरीस्थित आँगन स्विट्समा पनि बम राख्नेको कुनै विवरण पनि खुलेको छैन ।

    एनसेलले सरकारलाई कर नतिरेको भन्दै यसअघि नेकपानले आन्दोलन गर्दै आएको थियो । दुई साता अघि मात्रै सर्वोच्च अदालतले एनसेलले तिर्न बाँकी रहेको करिब ७० अर्ब लाभकर सरकारलाई बुझाउन आदेश दिएको थियो । तर सर्वोच्चको त्यो आदेश कार्यान्वयनमा सरकारले अहिलेसम्म चासो दिएको छैन ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ