• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    7.7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले गिरफ्तार गरेको छ । नेकपा केन्द्रीय सदस्य समेत रहेकी चन्दलाई शनिबार प्रहरीले अछामको पन्चदेवल विनायकको लयती भन्ने ठाउँबाटबाट अपहण शैलीमा गिरफ्तार गरेको प्रत्यक्षदर्शीले संचारकेन्द्रलाई बताए ।

    नेकपाले सन्चालन गरेको सङ्गठन सुदृढ तथा बिस्तार अभियान-२ को नेतृत्व गर्दै अछाम पुगेकी चन्दलाई इलाका प्रहरी कार्यालय विनायकबाट गएको प्रहरी टोलीले बिना कारण समातेर लगेको सो पार्टीले जनाएको छ ।

    चन्दलाई विनायकबाट सदरमुकाम मंगलसेन ल्याउने तयारी प्रहरीले गरेको छ  । यसैबीच जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी जनक बहादुर शाहीले भने चन्दलाई गिरफ्तार नगरेको दावी गरेका छन् ।

    संचारकेन्द्रसँगको टेलिफोन कुराकानीका क्रममा डिएसपी शाहीले नेतृ चन्दसँग आफुहरुले भेटेर छलफल गर्न खोजेको भने स्वीकार गरे । ‘उहाँलाई गिरफ्तार गरेको भन्न मिल्दैन’ शाहीले संचारकेन्द्रसँग भने- ‘उहाँसँग भेटघट गर्न चाहिँ खोजेको हो, त्यसैले बोलाएको हो । केहि समयपछि भेटघाट हुन्छ । त्यसपछि थप कुरा गरौला ।’

    यस विषयमा उनले थप केहि बोल्न चाहेनन् । पार्टीको अभियानमा रहेका बेला नेतृ चन्दलाई प्रहरीले एकाएक गिरफ्तार गरेपछि नेकपा अछामले आपत्ति जनाएको छ । शान्तिपूर्णरुपमा आफूहरुले चलाएको अभियानमा धरपकड गरेर प्रहरीले नेतृ चन्दलाई गिरफ्तार गरेको नेकपाले जनाएको छ ।

    यसैबीच एनसेलमाथि आक्रमण गरेको आशंकाकै आधारमा प्रहरीले अनुसन्धानका लागि भन्दै नेकपाका १८ कार्यकर्तालाई पक्राउ गरेको स्रोतले बताएको छ।

    एनसेल टावरमा शृंखलाबद्ध बम बिस्फोट र आगजनी भएपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संकास्पद व्यक्तिलाई तत्काल समातेर हिरासतमा राख्न प्रहरी प्रधान कार्यालयलाई आदेश दिएका छन् । बादलको आदेश पाएलगत्तै शनिबार नै प्रहरी हेर्डक्वाटरले देशभर सर्कुलर पठाईसकेको छ ।

    करछली गर्दै आएको एनसेलमाथि चरणबद्ध आक्रमण भएपछि ओली सरकारलाई आक्रमणकारी पहिचान गर्न हम्मेहम्मे परेको छ । तर देशमा ओली सरकारलाई चुनौती दिएर समानान्तर सत्ताको अभ्यासमा रहेको बिद्रोहि नेपाल कम्युनिष्ट पार्टीले नै उक्त आक्रमण गरेको आशंका सरकारको छ ।

    शुक्रबार राती ललितपुरको नख्खुस्थित एनसेलको मुख्यालयलाई लक्षित गरेर सुरु भएको विष्फोटको घटनापछि भैरहवा, रौतहट पोखरा, काभ्रे, बाग्लुङ, नवलपुर र कंचनपुरसहित करिब २ दर्जन बढी एनसेल टावरमा पनि बम बिस्फोट रआगजनी भएको थियो।

    प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले देशभरको सुरक्षा हाई अलर्टमा राखिएको बताए। उनले भने, ‘एनसेलका टावरमा विष्फोट र आगजानी गर्नेमाथि फेरी धरपकड सुरु भएको छ। अहिलेसम्म १८ जना पुगिसके।’ प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयलाई सर्कुलर जारी गरी संभावित घटनाबारे उच्च सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।

    सुवेदीले भने, ‘हामीले प्रहरी युनिटलाई सुरक्षा सतर्कता अपनाउन सर्कुलर जारी गरेका छौं ।आगजानी गर्ने समुहमाथि थप धरपकड जारी छ।’ ललितपुरमा एनसेलको कार्यालय अगाडि भएको विष्फोटमा संलग्न भएको आशंकामा मात्रै प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    देशभर नेकपाको अभियान तिब्र

    नेपाल कम्युनिस्ट पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान रुकुममा तीव्र रुपमा अघि  बढाएको छ । अभियानअन्तर्गत पश्चिम रुकुमको सानोभेरी गाउँपालिकाको केन्द्रमा पर्ने पेदीबजारमा शुक्रबार जनसभा सम्पन्न भएको छ । जनसभालाई नेकपाका केन्द्रीय सदस्य मिलन र जनमुक्ति सेनाका पूर्वबिग्रेड कमान्डर शिशिरले सम्बोधन गरेका थिए ।

    सम्बोधनका क्रममा नेता मिलनले अहिलेको सरकारले जनतालाई जबरजस्ती युद्वमा धकेल्न खोजेको बताए । आफूहरुले त्यसको डटेर सामना गर्ने उनले बताए । उनले भने, “अहिलेको सरकारले भ्रष्टाचारी, दलाल, राष्ट्रघाती र अपराधीहरुलाई संरक्षण गरिरहेको छ । हामीले त्यसको विरोध गर्दा सरकारले दमन गरेर युद्धतिर धकेल्न खोजिरहेको छ ।’

    उनले वर्तमान सरकार काण्डैकाण्डमा संलग्न भएको बताए । उनले भने, “सरकारसुनकाण्ड, घूसकाण्ड, निर्मलाकाण्ड, ठेकापट्टाकाण्ड, एनसेललगायत थुप्रै काण्डमा सामेल छ ।” नेकपाका सानोभेरी सेक्रेटरी विष्णु ओलीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता नगर इन्चार्ज मोतीराम खड्काले गरेका थिए । कार्यक्रममा सिस्ने जनसांस्कृतिक परिवारले जनवादी गीतसङ्गीत प्रस्तुत गरेको थियो ।

    यसैबीच नेकपाले आठबीसकोट नगरपालिका ३ जलिघाडमा विजय शाहीको अध्यक्षतामा युवा सङ्गठनको ९ सदस्यीय एकाइ समिति गठन गरेको छ । उक्त स्थानमा मानबहादुर बस्नेत अध्यक्ष रहेको ९ सदस्यीय किसान सङ्गठन, सङ्गीता बस्नेत अध्यक्ष रहेको ११ सदस्यीय महिला सङ्गठनको एकाइ समिति पनि गठन भएको जानकारी अभियानकर्मीले दिएका छन् ।

    यस्तै वडा नम्बर ६ होलीमा चित्र शर्मा संयोजक रहेको ५ सदस्यीय युवा सङ्गठनको एकाइ समिति पनि गठन गरिएको नेकपा पश्चिम रुकुमले जनाएको छ । यहाँ अमृत खत्री संयोजक रहेको ५ सदस्यीय किसान सङ्गठन, शिला बिष्ट संयोजक रहेको ५ सदस्यीय महिला सङ्गठनको पनि समिति गठन भएको छ । ६ नम्बर वडाको दमाचौरमा नन्दकुमारी विकको अध्यक्षतामा ९ सदस्यीय महिला एकाइ समिति पनि बनाइएको छ ।

    यसैगरी चैरजहारी नगरपालिका ६ घर्तीडाँडामा सुन्दर सेक्रेटरी रहेको ९ सदस्यीय पार्टी सेल समिति बनाइएको छ । यहाँ सीता महतरा संयोजक रहेको ७ सदस्यीय महिला सङ्गठनको एकाइ समिति, छवि बोहराको संयोजकत्वमा १३ सदस्यीय युवा सङ्गठन, उमा विकको अध्यक्षतामा ९ सदस्यीय महिला सङ्गठन, गणेश विकको अध्यक्षतामा ७ सदस्यीय युवा सङ्गठन बनाइएको जानकारी प्राप्त भएको छ ।

    त्यस्तै त्रिवेणी गाउँपालिका ४ कालीमाटीमा सुरेन्द्र खड्का अध्यक्ष रहेको ७ सदस्यीय युवा सङ्गठनको एकाइ समिति पनि बनाइएको छ । यहाँ दलबहादुर खत्रीको संयोजकत्वमा ७ सदस्यीय युवा सङ्गठनको खुम्तेरी एकाइ समिति र महेश विकको अध्यक्षतामा युवा सङ्गठनको ११ सदस्यीय एकाइ समिति पनि बनाइएको छ ।


    प्रतिक्रिया

    आजको ट्रेन्डिङ