• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    सकियो नेकपाको हेडक्वार्टर बैठक, नेता कार्यकर्तालाई चकित पार्दै भए यस्ता निर्णय

    11.6K
    SHARES


    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सकिएको छ । बैठकले पार्टी एकताका लागि गठन गरेको  ९ सदस्यीय कार्यदलले थप एक हप्ताको समय माग गरेको छ । विभिन्न कारणले काम गर्न नसकिएको भन्दै तल्ला कमिटी एकता गर्न गठित कार्यदलले अन्तिम प्रतिवेदन तयार गर्न एक साताको समय मागेको हो ।

    बिहीबार कार्यदलका सदस्यसहित बसेको सचिवालय बैठकमा बोल्ने कार्यदलका सदस्यहरुले थप समय माग गरेका हुन् । बैठकमा कार्यदलले एक साताको समय मागेको र एक सातामा सुझाव र सिफारिससहित अन्तिम प्रतिवेदन तयार गरेर चमत्कार गरेर देखाउने प्रतिबद्धता व्यक्त गरेको बताएइको छ ।

    बैठकपछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बिहीबारको बैठकमा कार्यदलका सबै सदस्यले आफ्नो धारणा राखेको र बाँकी निर्णय शुक्रबार बस्ने बैठकले गर्ने बताए । ‘कार्यदलका सबै साथीहरुले आफ्नो धारणा राख्नुभयो । उहाँहरुले बाँकी काम कार्यदललेनै गर्न सक्ने भन्दै थप समय माग गर्नुभएको छ । अब कार्यदललाई दिने वा के गर्ने भन्नेबारे भोलिको बैठकले निर्णय गर्छ’, प्रवक्ता श्रेष्ठले भने ।

    बैठकमा कार्यदलका नौ सदस्य मध्ये अधिकाशं नेताहरुले प्रदेश कमिटी हेरफेरमा विवाद भएपछि त्यसलाई थाँती राखेर अन्य विषयमा छलफल गर्ने निर्णय भएपनि संयोजक रामबहादुर थापा बादलले बैठक नबोलाएको भन्दै उनको आलोचना गरेका थिए । बैठकमा सहभागि एक नेताका अनुसार त्यसपछि संयोजक बादलले आफू ‘कन्फ्युज भएको बताए थिए ।

    ‘माघ ६ गतेको बैठकमा प्रदेश कमिटी हेरफेरमा कार्यदलका सदस्यबीच मतैक्यता हुन सकेन । त्यसकै कारण बाँकी विषयको लागि नरोकिऔँ भन्ने भएपछि संयोजकले अर्को बैठक बस्ने भन्नु भएको थियो’, ती नेताले भने, ‘तर उहाँले बैठकनै बोलाउनु भएन बरु केही नेताहरुबाट कार्यदल असफल भयो भन्ने खालका टिप्पणी बाहिर आए । माघ २१ गतेको सचिवालय बैठकले यथास्थितिमा प्रतिवेदन माग्यो । त्यसपछि बैठक बसेर अहिलेसम्म भएको प्रगति प्रतिवेदन सचिवालयलाई बुझायौँ ।’

    ती नेताले अगाडि भने, ‘बैठकनै नबोलाउने अनि कार्यदल असफल भयो भन्ने टिकाटिप्पणी बाहिर गर्ने भएपछि कार्यदलका अधिकांश साथीहरुले वाँकी काम कार्यदललेनै टुंगाउने भन्दै सचिवालयमा थप समय माग गरेका छाैं । आजको बैठकमा सबै साथीहरुले आ–आफ्ना सुझाव धारणा राख्नु भएको छ । बाँकी निर्णय अब सचिवालयले गर्छ ।’

    ती नेताका अनुसार कार्यदलका अधिकांश नेताहरुले संयोजकको कमजोरी रहेको बताएपछि बादलले प्रदेश कमिटीमा विवाद भएपछि अब बैठक नबस्ने भन्ने सुनेर बैठक नबोलाएको बताएका थिए । संयोजक बादलको भनाई उद्धत गर्दै ती नेताले भने, ‘कार्यदलको माघ ६ गतेको बैठकले केही प्रदेश कमिटीलाई लिएर सहमति हुन सकेन । त्यसपछि अव बैठक नबसौँ भनेजस्तो मैले बुझेछु । म कन्फ्युज भएछु ।’

    बैठकमा शंकर पोखरेल र रघुवीर महासेठले दुई जनालाई ( संयोजक बादल र महासचिव विष्णु पौडेल ) लाई मात्र दोष दिन नहुने भन्दै काम हुन नसकेको सवै जिम्मा कार्यदलका सवैले लिनुपर्ने धारणा राखेको पनि ती नेताले जानकारी दिए । तर, अव कार्यदललाई थप समय दिने वा नदिने भन्नेबारे सचिवालयका नेताहरुबीच मतैक्यता नभएको सचिवालयका एक नेताले बताए ।

    ‘कार्यदललाई थप समय दिने वा सचिवालयले नै टुंगाउने भन्नेबारे एकमत छैन’ ती नेताले भने, ‘केहीसचिवालयलेनै टुंगाएर कार्यदल विघटन गर्नुपर्छ भन्ने धारणा छ । अरु केही नेताहरुको कार्यदललाई नै थप समय दिने पक्षमा हुनुहुन्छ । बाँकी निर्णय भोलिको बैठकले गर्छ ।’

    गत मंसिर २९ देखि पुस १३ सम्म बसेको नेकपा स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो । कार्यदललाई १० दिनभित्र बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको छ । अघिल्लो सचिवालयको बैठकले कार्यदलको सदस्यसहितको बैठक बस्ने निर्णय गरेपछि आज बैठक बसेको थियो ।

    कार्यदलको संयोजकमा गृहमन्त्री रामबहादुर थापा बादल, महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, सुरेन्द्र पाण्डे, वर्षमान पुन, लेखराज भट्ट, योगेश भट्टराई, बेदुराम भुसाल, रघुवीर महासेठ सदस्य रहेका छन् ।

    सचिवालय बैठक कुनै निर्णय नगरी सकिएको छ । कार्यदलको कुरा सुनिएको र थप समय दिने वा बाँकी काम सचिवालयले नै गर्ने भन्ने निर्णय भोलिको सचिवालय बैठकले गर्ने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठक भोलि शुक्रबार बिहान ९ बजे बस्नेछ ।

    कार्यदलमा रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, बेदुराम भुषाल, लेखराज भट्ट, रघुवीर महासेठ सदस्य छन् । विधान परिमार्जन, प्रदेश कमिटी पुनर्गठन, पोलिट्ब्युरो गठनको प्रस्ताव, केन्द्रीय सदस्यहरूको कार्यविभान गर्ने कार्यादेश कार्यदलले पाएको थियो । सहमति नजुटेपछि कार्यदलले काम पुरा गर्न सकेको छैन ।

    प्रतिक्रिया