News Portal

  • यसरी देशको नाम चम्काउँदै नेत्रहीन नेपाली महिला क्रिकेट खेलाडी

    संचारकेन्द्र संवाददाता
    ३७ पटक

    काठमाडौं । पुरुष क्रिकेटले युएईमा पहिलो पटक एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय शृङ्खला जितेकै समयमा नेपाली नेत्रहीन महिला क्रिकेट टोलीले पनि पाकिस्तानविरुद्धको शृङ्खला कब्जा गर्‍यो।

    यो सफलता यस अर्थमा पनि उनीहरूका लागि महत्त्वपूर्ण थियो कि महिला टोलीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको थियो र शतप्रतिशत जित हासिल गरेको थियो।

    महिला टोलीले यसै हप्ता प्राप्त गरेको उक्त सफलतालाई क्रिकेट अधिकारीहरूले उनीहरुको मेहनतको प्रतिफल भनि प्रशंसा गरे। खेलाडीहरूले भने डेढ दशक लामो नेत्रहीन महिला क्रिकेटको इतिहासमा पाएको सफलतालाई आफ्नो उज्यालो भविष्यसँग जोडेर हेरिरहेका छन्।

    पाकिस्तानको यात्रामा उनीहरूले जितको खुशी, सम्मान अनि देशप्रेमको भाव एकैसाथ अनुभव गरेको बताए। टोलीकी कप्तान भगवती भट्टराईले भनिन्,”१० वर्ष देखि खेल्दै आएकी छु। सात महिनाको छोरी बोकेर पनि खेलेँ। यो आशामा कि कुनै न कुनै समय हाम्रो आउने छ। अहिले कप्तानको रूपमा पाकिस्तानमा शृङ्खला जित्दा त्यो खुशी अनुभव गर्न पाएँ।”

    नेपालले सन् २००९ मा विश्वमै पहिलो नेत्रहीन महिला राष्ट्रिय टोली निर्माण गरेर कीर्तिमान बनाएको थियो। तर टोलीलाई पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न त्यसको ५ वर्ष लाग्यो। अनि विदेश भ्रमण गर्न १० वर्ष कुर्नुपर्‍यो।

    पाकिस्तानसँग खेलिएको ४ वटै खेल जितेर श्रृङ्खला कब्जा गरेपछिको अनुभवलाई युवा खेलाडी विनिता पुन मगर यसरी बयान गर्छिन्, “पत्याउनै गाह्रो भयो। ट्रफी पाउँदा एकछिन त स्वर्गमै पुगेजस्तो भयो। खुशीको आँशु झरेछ। थाम्नै सकिएन।”

    देशमा नेत्रहीन महिला खेलाडीको अवस्था राम्रो मानिँदैन। वर्षमा एकाध फाट्टफुट्ट प्रतियोगिता हुनेगर्छ त्यो पनि अभावै अभावका बीचमा। तर जुनसुकै परिस्थिति भएपनि क्रिकेट खेल्न कहिल्यै नछाडेकाले सफलता पाएको मुना अर्याल बताउँछिन्। घरका तीन जना दिदीबहिनी सबैजना दृष्टिविहीन भएपनि आफूले क्रिकेटको सहारामा दुनियाँ देख्न सकेको उनको अनुभव छ।

    भन्छिन्, “क्रिकेट नखेल्दा म परिचयविहीन थिएँ। अझ मेरो घरमा दुईजना दिदी दृष्टिविहीन छन्। उनीहरु विस्तरामा नै छन्। मैले क्रिकेटबाट आफूलाई चिनाएँ। जीवनमा पहिलो पटक प्लेन चढेँ। विदेशी भूमिमा ट्रफी उचालेँ। विश्वास छ यसले मेरो भविष्यलाई अझ अगाडि बढाउनेछ।”

    पूर्ण रूपमा आँखा देख्न नसक्ने मुनाले ‘बी वान’ समूहमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन्। ५ मिटर टाढासम्मको मात्र दृष्य देख्न सक्ने ‘बी टु’ समूहकी मनकेसी चौधरी शाहले पाकिस्तानमा आफ्नो समूहमा प्लेयर अफ द सिरिज जितिन्। एउटा चाउचाउ कारखानामा मजदुरी गर्ने उनले १० वर्षका बीचमा क्रिकेट भने कहिल्यै त्यागिनन्।

    दृष्टिविहीन आफ्नो श्रीमान महेश शाहले उनलाई सधैँ खेल्न प्रेरित गरे भने कम्पनीका साहुले पनि खेल्ने वातावरण दिएको उनको अनुभव छ। “नत्र यति लामो समय कसरी विदा पाइन्थ्यो र? मेरो साहुले पनि मलाई निकै सहयोग गरे। अब गएर काम गर्छु तर क्रिकेट कहिल्यै छोड्दिन,” प्रतियोगितामा सबैभन्दा राम्रो खेलेकी मनकेसी मनको कुरा यसरी व्यक्त गर्छिन्।

    नेपालमा अहिले दुई सय भन्दा बढी नेत्रहीन महिला क्रिकेट खेलाडी रहेको नेपाल नेत्रहीन क्रिकेट संघको आकलन छ। आफूहरूसँग खुसी साट्ने सीमित माध्यम मात्र रहेको बताउने खेलाडीहरू क्रिकेट खेल्न कहिल्यै नछोड्ने बताउँछन्।

    हुन त समग्रमा नेपाली क्रिकेट समस्याग्रस्त भएको मानिन्छ। नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय निलम्बनमा छ। यस्तोमा नेत्रहीन पुरुष र महिला क्रिकेटसम्ममा सुविधा प्रवाह हुनेमा कमैले आशा गरेका छन्। त्यसैले नेत्रहीन महिला खेलाडीहरू सरकारले नै आफूहरूमाथि चासो राख्ने विश्वासमा छन्।

    नेपाल फर्किए लगत्तै खेलाडीहरूले खेलकुदमन्त्री जगतबहादुर सुनारबाट मन्त्रालयमा स्वागत पाएका थिए। तर त्यहाँ सेवा सुविधाको आश्वासनमात्र पाएको बताउने खेलाडीहरू कम्तीमा सरकारले निरन्तर खेल्ने वातावरण बनाइदेओस् भन्ने कामना गर्छन्।

    कप्तान भट्टराई भन्छिन्,” हामी पनि कम छैनौँ। हामीले पनि राष्ट्रकै लागि उपाधि जितेका हौँ। त्यसैले सरकारबाट उचित सुविधाको आशा हामीले राखेका छौँ। आशा छ हाम्रो चाहना सरकारले पूरा गर्नेछ।”

    नेत्रहीन महिला टोलीका प्रशिक्षक रिजन प्रजु नेपालमा प्रशस्त नेत्रहीन महिला प्रतिभा रहेको बताउँछन्। उनका अनुसार अन्य खेलाडीसरह नेत्रहीन खेलाडीहरू व्यावसायिक हुने सम्भावना न्यून हुने हुनाले सरकारले नै साथ दिनुपर्छ।

    उनी भन्छन्,” प्रतियोगिताको निरन्तरता नै मुख्य महत्त्वपूर्ण विषय हो। सरकारले टेवा पुर्‍याए यी खेलाडीहरू फेरि गुमनाम हुनुपर्दैन। मेरो चिन्ता छ कि यिनीहरूको खुशी वर्षौँसम्म छायाँमा नपरोस्।”

    पुरुष क्रिकेट टोलीले युएईसँगको एकदिवसीय र टी २० अन्तर्राष्ट्रिय श्रृङ्खला जितेपछि सरकारले प्रति खेलाडी ५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। उनीहरू सँगसँगै अन्तर्राष्ट्रिय शृङ्खला जितेको नेत्रहीन महिला टोलीलाई सरकारले के गर्ला त्यो पर्खिरहेको नेपाल नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे बताउँछन्।

    उनले खेलाडीहरूमा जागेको आशालाई खेलमार्फत् निरन्तरता दिन संघले प्रयास गर्ने बताए। उनले भने, “चाँडै नै बांग्लादेश भ्रमणमा लाने तयारी छ।” बीबीसी

    २०७५ माघ २६ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    बीस वर्षमा १९ प्रधानमन्त्री, २४ मन्त्री र २९ आयोजना प्रमुख फेरिए तर मेलम्चीको पानी काठमाडौं आएन

    काठमाडौं । ०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी काठमाडौं ल्याएर खानेपानीको समस्या समाधान...