News Portal

  • ‘चुनाव गराउनु पर्छ सरकार भन्दा ज्ञानेन्द्रले जेल हाले’

    संचारकेन्द्र संवाददाता
    २४१ पटक

    काठमाडाैं । जेल जीवन भनेको मनसँग जोडिएको विषय हो । जेलमा सुख त हुँदैन । मनले सुख मान्यो भने दुःख पनि हुँदैन । जेलमा बस्दा दुःख मानिनँ । त्यसकारण पछिल्लो समय १३ महिना जेलमा आरामसँग बसेँ । अलिकति ध्यान, योग गरेँ, अलिकति पुस्तक पढेँ । करिब ५०–६० पुस्तक पढेँ हुँला । साहित्य, दर्शन, धार्मिक, इतिहास, जुन उपलब्ध हुन्छन्, ती पुस्तक पढेँ । जेलमै एउटा पुस्तक पनि लेखेँ, ‘बन्धनशालमा खीर’ । उपन्याय हो, प्रकाशित भइसकेको छ ।

    ०४६ को परिवर्तनपछि केन्द्रमा सत्ताको लुछाचुँडी, विश्वास–अविश्वास, घात–प्रतिघातमा लाग्यौँ । हाम्रा सांसदहरू सुरा, सुन्दरी र द्रव्यको प्रयोगमा लागे । माओवादी हत्या–हिंसामा हाम्रै मान्छे पनि काटिए, मारिए । यो समस्या समाधनमा भन्दा कांग्रेस र एमाले सत्ताको लुछाचुँडीमा लागे । राजा यी दुवैलाई हेर्दै रमाएर बसे  कांग्रेस, एमाले र राप्रपा एक–आपसमै लुछाचुँडीमा लाग्छन् र मेरो हातमा सत्ता आउँछ भन्ने सपनामा राजा लागे । मुलुक नै बन्धनशालाजस्तो भएकाले यी विषयलाई समेट्दै ‘बन्धनशालामा खीर’ लेखेँ । एकातिर अँध्यारो भए पनि प्रकाश र उज्यालोको प्रतीक खीर भएकाले पुस्तकको नाम जुराएँ ।

    कोइराला परिवारका भेट्नै आएनन्

    ०६७ मा जेल परेपछि हजारौँ मान्छे भेट्न आए । शेरबहादुर देउवा र रामचन्द्र पौडेल दुई÷तीनपटक आए । गिरिजाप्रसाद कोइरालासँग नजिक भएका साथीहरू आएनन् । तर, उहाँहरू नजिक भएका नेताहरू भेट्न आए । विजय गच्छदार पनि भेट्न आए । त्यतिवेला, गिरिजाबाबु बितिसक्नुभएको थियो । गिरिजाप्रसादसँग नजिक भएका मान्छेहरू नआउँदा पनि त्यस्तो नराम्रो लागेन । किनकि, मैले जानेरै र बुझेरै असहमति राखेको थिएँ । ‘पार्टी फुटाउन दिनुहुँदैन, शेरबहादुरजीसहितका नेतालाई रोक्नुपर्छ’ भनेको थिएँ ।

    उहाँले किसुनजीलाई हटाउने, खेल्ने र स्वार्थ देखाउने व्यवहार देखाउनुभएको थियो । पार्टीमा एकछत्र राज गर्नुभएको थियो । उहाँ बिपीजस्तो विवेक भएको नेता पनि होइन । गिरिजासँग असहमति राख्दा यिनले पिर्छन् भन्ने थाहा थियो । प्रजातन्त्रको पक्षमा, राजाको शासनको विपक्षमा लागियो, आन्दोलन गरियो । त्यसैले नेताले गरेको अन्याय किन सहने भनेर गिरिजाबाबुको विरुद्धमा लागेको हुँ । पेल्छन् भन्ने जानेरै खिलाफमा लागेको हुँ, जति सकेँ, त्यति लडेँ ।

    राजा ज्ञानेन्द्रलाई भेटेपछि मुद्दा

    शेरबहादुरले संसद् विघटन गरे । त्यसपछि कांग्रेस फुट्यो । सुरक्षाका कारण स्थानीय चुनाव हुन सक्दैन भन्ने लागेपछि संसद् विघटन गरिएको थियो । प्रधानमन्त्री शेरबहादुर बाहिर गएकाले म कार्यवाहक प्रधानमन्त्री थिएँ । त्यो हप्ताभरि नै चुनाव हुँदैन भन्ने सुनेँ । चुनाव नहुँदा मुलुक संकटमा जाने थियो । ०५९ साउनतिर हो, कार्यवाहक प्रधानमन्त्री भएपछि राजालाई भेट्ने काम प-यो । राजाको मनस्थिति बुझ्न पनि मन लागेको थियो ।

    दरबार गएर एउटा कुर्सीमा बसेँ । राजाले ‘मन्त्रीजी, मुलुकको हालखबर के छ ?’ भनेर सोधे । मैले ‘सरकार, जनता चुनाव हुँदैन भनिरहेका छन्’ भनेँ । ‘किन चुनाव हुँदैन भनेका हुन्, यसै भन्न सकिन्न । तर, सबै पक्ष र कर्नरका मान्छे त्यसै भन्छन्’ भनेर ज्ञानेन्द्रलाई भनेँ । राजा केही बोलेनन् । मैले फेरि ‘सरकार, अस्थिरता भयो भने सबै विदेशी तत्वले खेल्छन् । मुलुकको नोक्सान हुन्छ । त्यसकारण हाम्रो कर्तव्य कुनै हालतमा पनि मुलुकमा स्थायित्व दिनुपर्छ’ भनेँ । स्थायित्व दिने प्रमुख अंग संसद् भएको उल्लेख गर्दै कुनै मूल्यमा चुनाव गराउनुपर्छ भनेँ । राजा फेरि पनि बोलेनन् ।

    एकछिनपछि राजाले भने, ‘मन्त्रीजी, तपाईंले भनेको ठीक हो । अस्थिरता भयो भने विदेशीले खेल्छन् भन्ने ठीक कुरा हो । तर, अस्थिरता मुलुकले कतिसम्म धान्छ ? हिजो संसद्को चुनाव हुँदा पनि स्थायित्व भएन । भोलि चुनाव गराएर पनि स्थायित्व हुँदैन ।’ उनको यस्तो आशय आएपछि राजा चुनावको पक्षमा छैनन् भन्ने थाहा पाइहालेँ । कुराकानी हुँदाहुँदै ‘मन्त्री एउटा कुरा’ भन्दै राजाले भने, ‘नेपाली जनता साँच्चै प्रजातन्त्रको पक्षमा छ ?’ मैले भनेँ, ‘दलका कार्यकर्ता, शिक्षक, विद्यार्थी, वकिल, इन्जिनियर, डाक्टर, उद्योगी, सञ्चारमाध्यमसहित सचेत मान्छे प्रजातन्त्रको पक्षमा छन् । प्रजातन्त्रको माध्यमबाट समाज र देश समृद्ध होस् र आफू सम्मानित नागरिक होऔँ भन्ने चाहन्छन् । पेसा–व्यवसाय गरेर बाँच्न चाहनेले सोच्ने पनि यही हो ।’ मैले यत्ति भन्दासम्म राजाको अनुहार सोहोरिसकेको थियो । अनुहार नै बिग्रेको थियो । सायद मेरो कुराले उनलाई बिझेको थियो । त्यसपछि फर्किएँ ।

    त्यसको केही दिनमा ममाथि मुद्दा लगाउने प्रपञ्च सुरु भएछ । अख्तियार र सम्पत्ति आयोग लगाउने तयारी भएको रहेछ । तीन÷चार दिनमा शेरबहादुर फर्किएपछि मैले ‘चुनाव हुँदैन, पद्धति पनि जान्छ र यो सरकार पनि रहँदैन । मेरो खिलाफमा मुद्दा दायर गरिएको सरकार फाल्नका लागि हो’ भनेँ । उनले ‘के भो ? के भो ?’ भनेर सोधे । त्यसको १५ दिनपछि शेरबहादुरले ‘तपाईंलाई जस्तै अरूलाई पनि ज्ञानेन्द्रले सोधेका रहेछन् । तपाईंले भनेजस्तो हुँदैन’ भने । तर, म कन्भिन्स भइनँ । एक महिनापछि त्यस्तै भयो । चुनाव पनि भएन, पद्धति पनि गयो । सरकार पनि गयो । ममाथि मुद्दा लाग्यो ।

    गिरिजाको मुद्दा मुल्तवीमा

    पद्धति नै गएपछि मुद्दा झन् अघि बढ्यो । मेरो बयान सकिएपछि सूर्यनाथ उपाध्याय (अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त)जीले आयुक्त माधवराज भट्ट र पुलिसको एसएसपी पनि सँगै रहेका वेला भने, ‘तपाईंलाई मुद्दा नलाग्नेरहेछ । तर, तपाईंलाई मुद्दा नलगाई भएको छैन । म तपाईंलाई मुद्दा लगाउन तपाईंको छोरालाई थुन्छु । किनकि, तपाईंको छोराले व्यापार–व्यवसाय गरेको छ, केही न केही फेला पर्छ ।’ मैले ‘त्यस्तो नि हुन्छ ?’ भनेर सोध्दा उनले ‘हुन्छ’ भने । त्यसपछि छोरालाई थुन्यो । छोराको कारोबारको हिसाबलाई मानेनन् । मैले नै कमाएर राख्न दिएको भन्ने चार्ज लगायो । तर, राजाले सत्ता आफ्नो हातमा लिएको जस्टिफाइड गर्नका लागि मुद्दा लगाए ।

    माओवादी शान्तिप्रक्रियामा आएपछि गिरिजाबाबु प्रधानमन्त्री हुनुहुन्थ्यो । मलाई जस्तै उहाँमाथि पनि मुद्दा लगाइएको थियो । तर, उहाँ प्रधानमन्त्री भएको भोलिपल्ट मुद्दा मुल्तवीमा राखियो । कांग्रेस, माओवादी र एमाले सबै सरकारमा आएपछि ‘राजनीतिक प्रतिशोध साध्न मुद्दा लगाइएको हो, त्यही रूपमा न्याय दिनुपर्छ’ भनेर उनीहरूले भनेको भए हामी सबैले न्याय पाउँथ्यौँ । तर, गिरिजाबाबुले संसद् पुनस्र्थापनापछिको सरकारमा यस्तो गर्न चाहनुभएन । मैले एक्लै गिरिजालाई मुद्दा फिर्ता गराउन आग्रह गरेँ । उहाँ सकारात्मक बन्नुभएन ।

    गिरिजाबाबुलाई ‘मेरो सँगसँगै तपाईंको पनि मुद्दा जोडिएको थियो । प्रधानमन्त्री भएपछि तपाईंको मुद्दा मुल्तवीमा राखियो । यसकारण कानुनले हाम्रो मुद्दा फिर्ता लिन नमिल्ने भए नगर्नुस्, तर राजनीतिक सहमतिका आधारमा १८ असोज ०५९ पछि राजाले ज–जसलाई मुद्दा लगाए, राजनीतिक रूपले लगाएका हुन् । राजनीतिक उद्देश्यले लगाएकाले यसलाई राजनीतिक रूपमै टुंग्याउनुपर्छ भनेर क्याबिनेटबाट निर्णय गराउनुस्’ भनेँ । सरकारले राजनीतिक भनेको भए हामीले सर्वोच्च अदालतबाट पनि न्याय पाउँथ्यौँ । तर, गिरिजाबाबुले यस्तो गर्नुभएन ।

    मुद्दा नजितोस् भन्ने चाहना गिरिजाबाबुमा थियो । हामीलाई मुद्दा लगाउन प्रारम्भमा राजाको महत्वाकांक्षा भयो । पछि धेरैले खेले । हाम्रो खिलाफमा पार्टीभित्रै र बाहिरबाट पनि खेल्ने काम भयो । राजाले हजारौँ मान्छेलाई मुद्दा लगाउने तयारी गरेका रहेछन् । अख्तियारले मात्रै सकेन भनेर भक्तबहादुर कोइरालाको संयोजकत्वमा एउटा आयोग नै बनाइयो । यसले शेरबहादुर र प्रकाशमान सिंहजीलाई मुद्दा लगायो । व्यक्तित्व सिध्याउन यस्तो प्रपञ्च गरियो । पाकिस्तानमा बेनजिर भुट्टो, नवाज सरिफलाई मुद्दा लगाइयो । बंगलादेशमा त्यस्तै भयो ।

    म जन्मँदै मेरी आमाले मुखमा हेरेर मेरो छोरा मन्त्री र प्रधानमन्त्री होला भनेर सोचेकी थिइनन् । हदै भए पण्डित होला भनेर सोचेकी थिइन् । किनकि, बाबुबाजे पण्डित थिए । मामाहरू पण्डित थिए । आमाले सोचेभन्दा ठूलो पण्डित भइसकेको छु । ७३ वर्षको भएँ । अब बाँचुन्जेल प्रजातन्त्र, देश र जनताको हितमा काम गर्छु ।

    राजाको ज्वाइँका दुई काम

    यसमा मलाई पश्चात्ताप छैन । चार पुस्तक लेखिसकेँ, दुइटा पुस्तक तयार छन् । अरू पनि पुस्तक लेख्छु । राजनीतिमा लागिरहेको भए व्यस्त भइन्थ्यो होला । तर, अहिले पुस्तक लेखनमा समय खर्चिंदै छु । अर्को सकारात्मक बाटोमा लाग्न पाएको छु । हामीलाई मुद्दा लगाएपछि राजाका ज्वाइँ कुमार खड्गविक्रम शाहका दुइटा काम गरेको थिएँ । एउटा जानेर गरिदिएँ, अर्को नजानेर । शेरबहादुर प्रधानमन्त्री हुँदा म सञ्चारमन्त्री थिएँ । आफ्नो घरमा टेलिफोन जोड्नका लागि उनले प्रधानमन्त्रीलाई भनेछन् । प्रधानमन्त्रीले सञ्चारसचिवलाई भनेछन् । तर, सचिवले नभनेपछि ६ महिनासम्म पनि टेलिफोन जोडिएको रहेनछ ।

    ६ महिनामा पनि फोन नजोडिएपछि उनले कुमार शेरबहादुरलाई फोन गरेछन् । संयोगले देउवासँग फोन सकिँदानसकिँदै म पुगेँ । देउवाले ‘६ महिनासम्म किन फोन नलगाइदे’को ?’ भने । सचिवलाई सोध्दा ‘भन्नुभएको त थियो, तर के–केमा अल्मलिँदा बिर्सें’ भने । टेलिफोन जसले पनि पाउँथ्यो । व्यापार गर्नेहरूले त झन् पाउने नै भए । यसले त राजस्व पनि बढाउँथ्यो । त्यसको भोलिपल्टै सचिवलाई भनेँ र टेलिफोन लाइन जोडियो पनि । त्यसको एक हप्तापछि पार्टीमा कुमार खड्गविक्रमसँग भेट भयो । उनले ‘तपाईंले भनेको भोलिपल्टै टेलिफोन लाग्यो’ भने ।

    संखुवासभामा चियाखेती गर्ने भनेर कुमार खड्गविक्रमहरूले ३० हजार रोपनी जग्गा मागेका रहेछन् । किन्नका लागि अनुमति मागेका थिए । किनकि, ८५ रोपनीभन्दा बढी पाइने थिएन । यसका दर्जनौँ फाइल भूमिसुधार मन्त्रालयमा रहेछन् । म भूमिसुधारमन्त्री हुँदा यो थाहा पाएँ । सचिव रेवती पोखरेललाई ‘३० हजार रोपनी सिंगै गाविसभन्दा ठूलो हुन्छ । चियाबगान भएपछि मानिसले रोजगारी पाउँछन् । खान पनि नपाएकाहरूलाई काम गरेर गर्जो टार्ने ठाउँ हुन्छ । यस्तो फाइल नरोक्नुस्’ भनेर एकैदिन १५–२० वटा फाइल सदर गरिदिएँ ।

    ज्ञानेन्द्रले भान्जाकै आग्रह सुनेनन्

    यो सबै कुमार खड्गविक्रमले घरमा भनेका रहेछन् । मलाई मुद्दा लगाएको कुमारको छोराले थाहा पाएपछि उसको मेनेजरलाई मेरो छोराले गरेको बिजनेस हेर्न पठाएछन् । ती मेनेजरले तीन दिन लगाएर मेरो छोराका सबै कारोबारका सबै कागजात हेरे । मेरो छोराको ट्रेकिङ, ट्राभल र होटेलका सबै कारोबार हेरे । ‘ठीक छ, अवैध काम भएको छैन’ भन्ने थाहा पाएपछि कुमारका छोराले राजा ज्ञानेन्द्रलाई ‘मामा, चिरञ्जीवी त्यस्तो मान्छे होइन, उनीमाथि अन्याय भएछ’ भनेछन् । त्यसो भन्दा राजा बोलेनछन् ।

    विश्ववन्धु थापाले ज्ञानेन्द्रलाई तीनपटक भेटेर मेरो बारेमा कुराकानी गरेछन् । ‘सरकार, म केही पनि माग्न आएको होइन । सरकारकै बुबाले विश्ववन्धु, तिमीले राजीनामा नगर, म तिमीलाई प्रधानमन्त्री बनाउँछु भन्नुभएको थियो । मैले हामी थापाहरूलाई प्रधानमन्त्री फापेको छैन । म प्रधानमन्त्री हुन्न भनेर छाडेको हो । सरकारसँग केही माग्नु छैन । तर, नेपालमा प्रजातन्त्र खोसियो भने अनिष्ट हुन्छ’ भनेछन् ।

    त्यसपछि ‘सरकार चिरञ्जीवी र खुमबहादुरलाई किन मुद्दा लगाइबक्सेको ?’ भनेर सोधेछन् । राजाले ‘मैले होइन’ भनेछन् । त्यसपछि फेरि थापाले ‘कसले पत्याउँछ, सरकारले होइन भनेर ? यो कुरा कसैले पत्याउँदैन । यिनीहरू कसैको गल्लीबाट तानेर ल्याइएका नेता होइनन्, आफ्नो बलबुताले उठेका नेता हुन् । राजाले सके जनतालाई सुख दिने हो, नत्र दुःख दिन हुन्न’ भनेछन् ।

    तीनपटक भन्दा पनि नबोलेपछि ‘उनीहरूले भनेर म यस्तो बिन्ती गर्न आएको होइन । आफ्नै विवेकले भनेको हुँ’ भनेछन् । हामीले भनेका पनि थिएनौँ । तर, राजा नबोलेको उनले हामीलाई पछि बताए । विश्ववन्धु जिउँदै छन् । अहिले पनि उनलाई यो कुरा सोध्न सकिन्छ । राजाको भान्जाले कागज हेरेर ममाथि अन्याय भयो भनेर भन्दा पनि राजाले मलाई छोेडेनन् ।

    बदनाम भएँ, तर हारेको छैन

    रामशरण महतले भिडिएस ल्याए । सबै व्यापारीले पैसा बाहिर लगे । नेपालीले पैसा बाहिरी देशमा पठाउन थालेपछि मेरो छोराले पनि ‘बाहिर लगानी पठाउँछु’ भन्यो । छोराले दुई लाख डलर पठाउँछु भनेपछि ‘तैँले पूरा कर तिरेको छैनस् । सरकारले कर नतिरेको पैसामा कर तिर्ने सुविधा दिएको छ । यहीँ व्यापार गर्ने भएपछि कर तिर’ भनेँ । उसले सबै कर ति-यो । तर, सूर्यनाथजीले ‘तपाईंलाई मुद्दा नलगाईकन भएको छैन, म बाध्य छु’ भनेका रहेछन् । विवेक शाहले आफ्नो पुस्तकमा पनि यो कुरा लेखेका छन् । सूर्यनाथले राजासँग भेटेको दिन ‘अब राजनीतिक दलका नेताहरूलाई मुद्दा लाग्छ’ भनेर बोलेको विषय शाहको किताबमा उल्लेख छ ।

    तर्साउनभन्दा पनि शासन गर्ने राजाको महत्वाकांक्षाको औचित्य पुष्टि गर्न मुद्दा लगाइएको हो । तर, उनलाई पनि केही फाइदा भएन । राजसंस्था नै गयो । म लेखेर बाँचिरहेको छु । दुःख पाएँ, जेल बसेँ, बदनाम भएँ एउटा कुरा हो । तर, राजाको त राजसंस्था नै गयो, हामीले मानेको स्थायित्वको प्रतीक नै गयो ।

    उनले के जिते त ? म जन्मँदै मेरी आमाले मुखमा हेरेर मेरो छोरा मन्त्री र प्रधानमन्त्री होला भनेर सोचेकी थिइनन् । हदै भए पण्डित होला भनेर सोचेकी थिइन् । किनकि, बाबुबाजे पण्डित थिए । मामाहरू पण्डित थिए । आमाले सोचेभन्दा ठूलो पण्डित भइसकेको छु । ७३ वर्षको भएँ । अब बाँचुन्जेल प्रजातन्त्र, देश र जनताको हितमा काम गर्छु ।

    कांग्रेस नेता चिरञ्जीवी वाग्लेकाे याे संस्मरणा नयाँ पत्रिकामा प्रकाशित छ ।

    २०७५ माघ १९ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...