News Portal

  • ओली नेपाल बाहिर हुँदा प्रचण्डले के-के गरे ? गोप्य वैठकदेखि बक्तब्यसम्म बाहिरियो यस्तो रहस्य

    संचारकेन्द्र संवाददाता
    २६५ पटक

    काठमाडौं । प्रधानमन्त्री विदेश रहेका बेला नेकपाले तीनवटा महत्वपूर्ण विषयमा निर्णय तथा छलफल गर्‍यो। संसद्बाट चिकित्सा शिक्षा विधेयक पारित, भेनेजुयलाको राजनीतिक संकटमा नेकपा अध्यक्ष पुष्पकमल दाहालको कडा वक्तव्य तथा तथा झम्सिखेलमा शीर्ष नेताको गोप्य बैठक तीन गतिविधि नेकपा भित्र देखियो।

    प्रमुख प्रतिपक्षी कांग्रेसको अवरोध, होहल्ला तथा घम्साघम्सीका बीच ‘चिकित्सा शिक्षा विधेयक’ प्रतिनिधिसभाबाट वहुमतले शुक्रबार पारित भयो। संसदीय प्रणालीमा वलजफ्ती पारित विधेयकको अर्काे नजिरमा यो विधेयक पनि पर्‍यो। विधेयक पारित गर्दा प्रतिपक्षीले रोस्टम घेराउ, नारावाजी र होहल्ला जारी राखे। सडकमा पनि विधेयकप्रति असहमति प्रकट भइरहेकै थियो।

    विधयेक आफूसँग भएको सहमति विपरितका प्रावधान समेटेर ल्याइएको भन्दै डा.गोविन्द केसी अनशनमा छन्। प्रधानमन्त्री केपी ओली देश बाहिर थिए। प्रधानमन्त्री शनिबार बिहान स्वदेश फर्कंदै थिए। अन्नपूर्ण पोस्टमा खबर छ ।

    प्रधानमन्त्रीलाई २० घण्टा पनि नकुरी हतारमा सत्तापक्षले विधेयक किन पारित गर्‍यो ? नेकपाका केन्द्रीय सदस्य तथा पूर्वस्वस्थ्यमन्त्री खगराज अधिकारील अन्नपूर्णसँग भने, ‘प्रधानमन्त्री देशभित्र–बाहिर जहाँ भएपनि यो विधेयकमा गर्ने के हो र ? उहाँ भए पनि, नभए पनि संसद्को प्रक्रिया अन्तर्गत पारित हुने विषय हो विधेयक, त्यही अनुसार पारित भयो।’

    सत्तापक्षका सांसदहरूले प्रक्रियागत रूपमा विधेयक पारित भएको बताए पनि प्रधानमन्त्री आफू विदेश जाने बेला नै विधेयक पारित गर्न निर्देशन दिएकाले सत्तापक्षले हतारो देखाएको कांग्रेस नेता मीनेन्द्र रिजाल जिकिर गर्छन्।

    ‘प्रधानमन्त्रीले विदेश जानु अघि विधेयक आफू नआउँदै पारित गर्न भनेर ‘भगवान’ ले जसरी निर्देशन दिनुभएको थियो, त्यही आदेशलाई सत्तापक्षका नेताले शिरोधार्य गरे’, कांग्रेस नेता रिजालले भने।

    ६ माघमा विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्वीजरल्याण्डको डावोस जानुअघि विमानस्थलमा प्रधानमन्त्रीले सभामुख कृष्णबहादुर महरासँग चिकित्सा विधेयक कहिले पारित हुन्छ भनी जिज्ञासा राखेका थिए। सभामुखले ‘अबको बैठकबाट’ पारित हुने जवाफ दिएका थिए। महरामा पनि विधेयक पारित गर्ने त्यही हतारोमा थिए। यो अवस्था उनको विधेयक पारित गर्दा लरवरिएको बोलीले पनि प्रस्ष्टै देखाउँथ्यो।

    सत्तापक्षका नेताहरूकै भनाइलाई मान्ने हो भने चिकित्सा विधेयक संसद्मा सबैभन्दा बढी छलफल भएको मध्येको एक हो। चिकित्सा शिक्षा सुधारको माग राखी पटक–पटक अनशनरत डा.केसीलाई समेतलाई संसद्को विषयगत समितिमा बोलाएर विधेयकका बारेमा छलफल गरिएको थियो।

    तर केसी अघिल्लो पटकको अनशनमा आफूसँग भएको सहमति विपरितका प्रावधान समेटेर विधेयक ल्याइएको भन्दै पुनः अनशनमा बसिरहेका छन्।

    पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले भने, ‘अरु विधेयक र यो विधेयकमा फरक के छ ? अरु विधेयक संसद्मा आएपछि सरसर्ती छलफल हुँदै पारित भएका छन्। तर यो विधेयक मात्र यस्तो हो जुन लामो समयसम्म संसद्मै छलफलमै रहिरह्यो।’ सांसद अधिकारीले भने, ‘यो कसरी हतारो गरेको भन्न मिल्यो ? ’

    प्रधानमन्त्री ओलीले स्वदेश फर्केलगत्तै अन्तर्राष्ट्रिय विमानस्थलमा यो विषयमा कसैले पनि धेरै चिन्ता लिइरहनु नपर्ने बताए। ‘तीन करोड मान्छे भएका यत्रो देशमा केही मानिसमा असन्तुष्टिहरू अलिअलि हुन सक्छन्, केही चित्त नबुझेको हुन सक्छ। यस्तै कुरामा हामीले किन अब उधुम मच्चाउनु। लोकतन्त्रमा पक्ष–विपक्ष, अलिकति मत मतान्तर जस्ता कुरा साधारण हुन्।’

    भेनेजुएलामा नेकपा वक्तव्य

    भेनेजुएलामा निर्वाचित राष्ट्रपति निकोलस मादुरोविरुद्ध जुआन गुआइडोले अन्तरिम कार्यवाहक राष्ट्रपति घोषणा गरे। त्यसलाई अमेरिकाले तत्कालै मान्यता दियो। भेनुजुयलाका विषयमा विभिन्न राष्ट्रबाट प्रतिक्रिया आइरहेका छन्। त्यहाँको गहिरिँदो राजनीतिक संकटबारे नेकपा अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार विज्ञप्ती प्रकाशित गरे। पार्टीका अर्का अध्यक्ष तथा प्रधानमन्त्रीको अनुपस्थितिमा दाहालले आफ्नो पार्टी नेकपा भेनेजुएलाका जनताका पक्षमा रहेको र विदेशी हस्तक्षेपविरुद्धमा रहेको भन्दै आलोचना गरे।

    ‘भेनेजुएलको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीबाट गरिएको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ’, दाहालले भने, ‘अमेरिकाले भेनेजुएलका जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको छ। अमेरिकाले भेनेजुएलको सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौति दिएको कुरा निन्दनिय छ।’

    नेपालले असंलन्न परराष्ट्र नीति अवलम्बन गर्दै आएको छ। यस्तो बेला सरकारको नेतृत्व गरिरहेको दलका एउटा अध्यक्षले पक्ष÷विपक्षमै वक्तव्य जारी गरेको विषय पनि अहिले चर्चामा छ।

    प्रधानमन्त्री ओली फर्केपछि यो विषयमा धारणा नेकपाले बनाउन सक्थ्यो। तर यसमा पनि नेकपाले हतारो गरेको देखिन्छ। नेकपा स्रोतका अनुसार यो वक्तव्यका लागि नेकपाका शीर्ष नेताका बीचमा ओली देश बाहिर नै रहेका बेला छलफल भएको थियो। त्यही छलफलमा वक्तव्य दिने सहमति पनि बन्यो। संयुक्त राष्ट्रसंघ र युरोपेली युनियन (ईयू) का मुलुक राजदूतहरूले संक्रमणकालीन न्यायका विषयमा दिएको संयुक्त वक्तव्यबाट नेकपा नेताहरू चिढिरहेका बेला दाहालको भेनुएजुलाका विषयमा बक्तव्य आएको थियो।

    तर, प्रधानमन्त्रीले स्वदेश फर्केपछि दाहालले दिएको वक्तव्यलाई विषयान्तर गर्न खोजे। उनले यस्ता विषयमा हतारो गर्न नहुने संकेत गर्दै पत्रकारले दाहालले जारी गरेको वक्तव्यमा प्रधनमन्त्रीको धारणा बुझ्न गरेको प्रयासलाई विषयान्तर गरे।

    प्रधानमन्त्रीको जवाफ थियो, ‘मैले सुनेको छु अलिकति। तर, म भर्खर मात्र आएको छु। यस्ता विषयमा राम्ररी नबुझिकन, नपढिकन प्रतिक्रिया दिनु वाञ्छनीय होला जस्तो मलाई लाग्दैन्।’

    नेकपा नेताको ‘झम्सिखेल बैठक’

    प्रधानमन्त्री विदेश रहेका बेला नेकपाका शीर्ष नेताहरूको ललितपुर झम्सिखेलमा ‘गोप्य बैठक’ बस्यो। बिहीबार साँझ अध्यक्ष दाहाल, वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायत नेताको बैठक बस्यो।

    चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट वहुमतले पारित गर्नु अघिल्लो साँझ बसेको शीर्ष नेताहरूको उक्त बैठक विधेयक पारित गर्ने विषयदेखि पार्टीको अड्किएको एकता प्रक्रिया, सरकारका नियुक्तिलगायत विषयमा केन्द्रित थियो।

    सरकारले नियुक्तिलागयत विषयमा छलफलपछि निर्णय गर्ने स्थायी समिति बैठकको सारलाई पछिल्लो नियुक्तिमा प्रधानमन्त्रीले वेवास्था गरी अघि बढेको आवाज पनि उठेको स्रोतले बतायो। संवैधानिक परिषद्ले गत ६ माघमा ५ वटा आयोगका अध्यक्षको नाम सिफारिस गर्ने निर्णय गरेको थियो। झम्सिखेल बैठकमा सचिवालय तथा सरकारमा रहेका नेताहरू ईश्वर पोखरेल र रामबहादुर थापा भने सहभागी थिएनन्।

    २०७५ माघ १३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...

    नेकपाकी अभियान टोली कमान्डर बन्धु चन्द गिरफ्तार, प्रहरीका डिएसपी भन्छन्- भेट्न मात्रै बोलाएको

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीकीनिकट अखिल नेपाल महिला संघ क्रान्तिकारीकी केन्द्रीय अध्यक्ष बन्दु चन्दलाई प्रहरीले...

    कमल थापालाइ ठुलो झट्का, राप्रपाका एक महामन्त्रीसहित २२ जनाले गरे पार्टी परित्यागको घोषणा

    काठमाडौं । कमल थापाको पार्टीमा पहिरो गएको छ । कमल थापा नेतृत्वको राप्रपाका एक महामन्त्री...