News Portal

  • त्यो दिन प्रहरीको कब्जामा यसरी परियो

    १८५ पटक

    खाजाघरअगाडि इन्स्पेक्टर रामकुमार राईलाई देख्नेवित्तिकै मनमा चिसो पस्यो । आजचाहिँ फन्दामा परियो भन्ने परिहाल्यो तर उताउति गर्ने परिवेश थिएन । खाजाघरमा तीन कप चिया भनेर बसियो, त्यहीँ नै प्रलेसको अफिसको ढोकैको छेउमा बस्ने युवा चाउमिन खाइरहेका थिए ।

    मलाई देखेर उनी फेरि पनि फिस्स हाँसे । परिवेश पनि कस्तो थियो भने त्यहाँबाट यताउति गर्न बिल्कुल असम्भव थियो । मलाई त्यतिखेर स्पष्ट नै भइसकेको थियो कि अब परिहालियो । त्यसैले म जुरुक्क उठेर वैरागी र अच्युतलाई “एकछिन है” भनेँ र त्यहाँबाट निस्किएँ तर खाजाघरको ढोकामै मोबाइल खेलाएर बसेका इन्स्पेक्टर पछि लागिहाले । “सर एकछिन है” भन्दाभन्दै तिनका अन्य प्रहरीहरूले घेरिहाले । त्यसको पहिलो मोडमा पनि गलफत्ती हुँदै अघि बढेँ । दोस्रो मोडमा पुगेपछि झन्डै १५–२० जनाले मलाई बीचामा घेरा हाले । त्यहाँ इन्स्पेक्टर रामकुमार राईले आफू नेपाल प्रहरीको इन्स्पेक्टर भएको परिचय दिंदै आफू महानगरीय प्रहरी पसिरबाट आएको कुरा खुलाएका थिए ।

    त्यसपछि त्यहाँ पनि सबैले एकै स्वरमा “सरले लिएर आउनु भन्नुभएको छ, त्यसैले तपाईं हामीसित जानुपर्छ” भनियो । मैले भनेँ, “के गरेको यस्तो । आउन परे पनि भोलि आऊँला, यति बेलुका घर जान लागेको मानिसलाई तपाईंंहरू के गर्दै हुनुहुन्छ, के भन्दै हुनुहुन्छ ?” “को हो मलाई लिएर आउनु भन्ने, मलाई उहाँको फोन नम्बर दिनुस् । म आफैँ उनीसित कुरा गर्छु” भनेँ । उनीहरूले “कहाँ त्यसरी हुन्छ” भने । मैले लिखित आदेशपत्र मागेँ । उनीहरूले दिन सकेनन् । “उतै गएपछि सबै कुरा हुन्छ” मात्र भनिरहे । दुईजनाले पछाडि झोला भिरेका थिए ।

    एउटाले झोला छामछुम गरेजस्तो गरे । त्यो झोलामा उनीहरूको हतियार रहेछ । अहिले सिभिलमा प्रहरीले हतियार बोकेर हिंड्ने गरेका छन् भनेर मलाई केही पत्रकार साथीहरूले सूचना पनि दिएका थिए । कथित निर्वाचनको सन्दर्भमा काठमाडौंमा सिभिल प्रहरी छ्यापछ्याप्ती पारिएको सूचना आइरहेका थिए । मैले त्यो कुरा सम्झिएँ । पद्मकन्या क्याम्पस अगाडिको त्यो मुख्य मोडमा निकैबेर चर्काचर्की प¥यो । प्रलेसको केन्द्रीय कार्यालयको पूर्व, पश्चिम, उत्तर र मूल सडकको छेउमा सादा पोसाकका प्रहरीहरू राखिएका रहेछन् ।

    ती सबै त्यहाँ जम्मा भए । झन् सर्वसाधारणको घुइँचो त हुने नै भयो । “आउनुस् आउनुस्” भन्दै इन्स्पेक्टर रामकुमार राई अघि लागे । त्यति नै बेला वैरागी र अच्युतलाई पनि त्यही ल्याइयो । त्यसपछि मैले “त्यसो भए उहाँहरूलाई छोडिदिनुस्, म जाऊँला” भनेँ । उनीहरूले “हैन हैन, सबै जानुपर्छ” भने । करिब–करिब बल प्रयोगको अवस्था सिर्जना भयो । सिभिलमा रहेका दुई प्रहरीले बोकेको झोलामा हतियार पनि भएको र योजनाबद्ध रूपमा आफूलाई नै टार्गेट गरेर लिन आएको कुरा स्पष्ट भएपछि त्यहाँ अर्को उपाय देखापरेन ।

    अन्ततः यसरी प्रहरीको कब्जामा परियो ।पद्मकन्या क्याम्पसअगाडि पजेरो राखिएको रहेछ । पजेरोमा पस्नेबित्तिकै इन्स्पेक्टर रामकुमार राईले एकैसासमा भनेका थिए, “कहाँ बेपत्ता सर । यत्रो दिन कहाँ हराउनुभयो । हामीले तपाईंंलाई खोजेको यत्रो दिन भयो । तपाईंंहरूको टुँडीखेलमा कार्यक्रम थियो नि ! त्यो कार्यक्रममा हामी पनि आएका थियौँ । त्यसको भोलिपल्ट नै तपाईंंलाई लिनू भन्ने थियो ।” स्मरणीय रहोस्— नेपाल कम्युनिस्ट पार्टीले महान् अक्टोबर क्रान्ति दिवस टुँडीखेलमा भव्यरूपमा मनाएको थियो । त्यसपछि मलाई पजेरोको पछिल्लो सिटमा राखियो । मोबाइलमा कुरा नगर्न भनियो ।

    त्यहाँबाट लिएर हिंड्ने बेलामा सिभिलमा रहेका प्रहरी र इन्स्पेक्टरका बीच बधाई साटसाट गर्दै हात मिलाए । उनीहरू प्रफुल्ल मुद्रामा देखिन्थे । मोटर हिंड्ने सुरु गरेपछि इन्स्पेक्टरले भनेका थिए, “सर पहिला पनि गिरफ्तारीमा पर्नुभएको थियो हैन ?” मैले भनेको थिएँ, “तपाईंंकै नेतृत्वमा मलाई पुरानो बसपार्कमा आधा घन्टासम्म सडकमा कब्जा गर्नुभएको थियो नि ।” उनले भनेका थिए, “हो, मैले माथि राम्रासित कुरा गरेपछि थपलियाजीलाई छोडिदिनू भनेर आदेश आयो, त्यसपछि छोडिएको हो ।” उनी हाँसे । त्यसपछि त्यहाँबाट रत्नपार्कको दिशातर्फ पजेरो हुँकियो ।

    उनले जोड दिंदै भनेका थिए, “सरहरूको त जतिपटक गिरफ्तारीलाई परियो, त्यति नै पटक प्रमोसन हुन्छ, हैन ?” मैले भने, “प्रमोसन त हाम्रो होइन, अब तपाईंंको चाहिँ हुने भयो । अहिले इन्स्पेक्टर हुनुहुन्छ, अब डीएसपी पक्का भयो तर तपाईंंहरूको यो तरिका ठीक भएन ।” उनले भने, “के गर्नू सर, हाम्रो त र जागिर नै यस्तै हो । आदेशको पालना गर्नैप¥यो ।” मैले भनेको थिएँ, “जागिरकै लागि सबै आदेशको पालना गर्नु पनि त भएन नि ! तपाईंंहरूले पनि आफ्नो विवेकको प्रयोग गर्नुप¥यो नि ! विवेकहीन पनि कहीँ प्रहरी हुन्छ ?” त्यसबेला वैरागी र अच्युतले पनि आ–आफ्नो कुरा राख्नुभयो तर वैरागी निकै नै हडबडाउनुभएको थियो ।

    पजेरो रत्नपार्क पुगेपछि इन्सपेक्टर राईले माथि (सम्भवतः उपत्यका पृतना किनभने निर्वाचनको बेला सङ्कटकालीन युनिफाइड कमान्ड सक्रिय बनाइएको सूचना थियो, जसको नेतृत्व नेपाली सेनाले गर्दथ्यो) “जय नेपालसा’ब” भन्दै फोन लगाए, “एकजना परिचित नै सर हुनुहुन्छ, उहाँको भेरीफाई भइसक्यो सा’ब । अरू दुईजनाको पनि भेरीफाई हुँदैछ । केटाहरूले धेरै मिहिनेत गरेपछि सफल भइयो सा’ब । यसमा केटाहरूको धेरै मिहिनेत छ सा’ब ।” त्यतिखेर इन्स्पेक्टर राई ठूलै विजयीभावमा देखिन्थे । बागबजार र टेकुको बीचमा त्यति धेरै दुरी थिएन तर काठमाडौंको जामका कारण त्यहाँ पुग्न निकै समय लाग्यो । महानगरीय प्रहरी परिसर टेकु पुग्दा झमक्क साँझ परिसकेको थियो ।
    (खेम थपलियाद्वारा लिखित ‘खोर’ पुस्तकबाट)

    २०७५ माघ ५ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वामपन्थी नेता कृष्णदासको निधनले विप्लव र बैद्य स्तब्ध, निकाले यस्तो विज्ञप्ति

    काठमाडौं । नेपालका पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधनले नेकपा महासचिव विप्लव र नेपाल कम्युनिष्ट पार्टी...

    लिटिल ब्वाइ मेस्सीले गरे ५० औं ह्याट्रिक, सेभिया ४-३ पराजित

    काठमाडाैं । अर्जेन्टिनी फुटबल भेट्रान लियोनल मेस्सीले करिअरको ६५० औं गोल तथा ५० औं ह्याट्रिक...

    यसरी खुल्यो विदेश पठाउने कन्सल्टेन्सीको ठगी धन्दा, सञ्चालकहरू विदेश टाप

    काठमाडौं । मिनी म्यानपावरको रुपमा खुलेका शैक्षिक परामर्शदाताको कमजोरीका कारण अस्ट्रेलियामा ७ सय ४३ विद्यार्थीको...

    बम बिस्फोटको घटनापछि के बादलले गृहमन्त्रीको पदबाट राजीनामा दिदैछन् ?

    काठमाडौं । शुक्रबार राति भएको शृंखलाबद्ध बम बिस्फोटपछि शनिबार काठमाडौंमा गाईंगुईं हल्ला चल्यो, गृहमन्त्री रामबहादुर...

    सरकारको कामबारे प्रतिक्रिया दिएपछि दैनिक पत्रिकाका प्रधान सम्पादक निवासबाटै पक्राउ

    एजेन्सी । सुडानको सुरक्षा निकायले यहाँको प्रसिद्ध पत्रिकाका सम्पादकलाई राष्ट्रपति अमेमार अल–बासिरद्वारा देशमा सङ्कटकालको घोषणा...