News Portal

  • बम्जनको आश्रममा प्रहरीको छापा, उनका कर्तुतबारे खुल्यो अर्को खतरनाक रहस्य

    संचारकेन्द्र संवाददाता
    १३७६ पटक

    काठमाडौं । आफूलाई तपस्वी भएको बताउने बाराका रामबहादुर बम्जनको सिन्धुपाल्चोकको बाढेगाउँस्थित आश्रममा प्रहरीले छानबिन सुरु गरेको छ । उनको आश्रमबाट मकवानपुरका दुईजना हराएको निवेदन परेपछि मकवानपुर प्रहरीले सिन्धुपाल्चोकसँगको सहकार्यमा खोजी सुरु गरेको हो ।

    अनुसन्धान टोलीले शुक्रबार आश्रम प्रवेश गरी सोधपुछ र आवश्यक अनुसन्धान सुरु गरेको हो । हामीसित कुरा गर्दै प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले सिन्धुपाल्चोकबाट अनुसन्धान सुरु भएको बताए । उनले फरेन्सिक टिम र विज्ञसहितको टोली खटाएर हराएका व्यक्तिको खोजी सुरु गरिएको जानकारी दिए ।

    आश्रममा छापा मारेको प्रहरीले अहिलेसम्म घटनाका सम्बन्धमा कसैलाई पक्राउ नगरेको प्रवक्ता सुवेदीले बताए । मकवानपुरका सन्चलाल वाइबा र फूलमाया रुम्बा सिन्धुपाल्चोक आश्रमबाट हराएको निवेदन प्रहरीमा परेको छ ।

    खुल्यो अर्को खतरनाक रहस्य

    प्रत्यक्षदर्शीहरूले बमजनका अनुयायी सञ्चलाल वाइवाको हत्यापछि उनको लास सिन्धुपाल्चोकस्थित आश्रममा दफन गरिएको खतरनाक खुलासा गरेका छन्। अर्का अनुयायी सुरेश आले, दुई आनी चुन्मो र डोल्मो पनि सिन्धुपाल्चोक आश्रमबाटै बेपत्ता भएकाले प्रहरीले त्यहीँबाट खोजतलास थालेको हो।

    तेस्री आनी सरिता बोट पनि बेपत्ता छिन्। तर उनी कुन आश्रमबाट बेपत्ता भएकी हुन् भन्ने टुंगो छैन। घटनाका प्रत्यक्षदर्शी दुई चेलाले केही समयअघि बताएअनुसार, बमजनले चार वर्षअघि वाइवा र अर्का अनुयायी इन्द्रमानलाई बोक्साको आरोपमा कुटेका थिए। कुट्दा कुट्दै वाइवाको तत्कालै ज्यान गयो।

    ‘आश्रममा हामी धेरै बिरामी भएका थियौं। त्यसैले गुरूले वाइवा र इन्द्रमानलाई बोक्सा लगाएको भन्दै पिटेका थिए। पिट्दा पिट्दै वाइवा ढले। केही बेरमै उनी मरे,’ प्रत्यक्षदर्शी बमजनका एक चेलाले भने।

    सिन्धुपाल्चोक आश्रममा २०७१ चैत ८ देखि १५ गतेसम्म मैत्रीपूजा भएको थियो। ती चेलाका अनुसार १५ गते आश्रममा धेरै आनी र चेलाहरू बिरामी परे। त्यत्तिकै रूने, कराउने, चिच्याउने गर्न थालेका थिए।

    बमजनले सञ्चलाल र इन्द्रमानलाई मन्त्र गरेर चेलाहरू बिरामी पारेको आरोप लगाए। पूजा सकिएको भोलिपल्ट दुवैलाई बमजनले पिटे। त्यसपछि आफ्ना अरू चेलाहरूलाई पनि पिट्न लगाए। छ, सात जना चेलाहरूले सञ्चलाल र इन्द्रमानलाई लठ्ठी, पाइप र लात्ताले पिटेको ती प्रत्यक्षदर्शी चेलाहरूले बताएका छन्।

    उनीहरूका अनुसार यसरी कुट्दाकुट्दै वाइवाको ज्यान गएपछि बमजनले आफू बस्ने घर पछाडि डाँडामाथि उनको लास गाड्न लगाए। ‘चेलाहरूलाई गुरूले नै खाल्डो खन्न अह्राए र वाइवाको लास त्यहीँ पुर्न लगाए,’ ती चेलाले भने। लासमाथि २५ पोका नुन खन्याउन लगाएको पनि ती चेलाले सम्झिए।

    ‘गुरूले वाइवाको लासमा २५ पोका जति नुन खन्याउन लगाए,’ उनले भने, ‘नुनले लास चाँडो सड्याउँछ भनेर त्यसो गरेको रे।’ प्रहरी स्रोतका अनुसार सिन्धुपाल्चोकस्थित आश्रममा खानतलासको मुख्य उद्धेश्य सञ्चलालको लास गाडिएको ठाउँ खोज्नु हो। ‘ठाउँ पत्ता लागे लास उत्खनन् गर्न हामीले फोरेन्सिक विज्ञहरू पनि लगेका छौं,’ स्रोतले भन्यो।

    सिन्धुपाल्चोकको बाँडेगाउँस्थित टोड्केभीर भन्ने ठाउँमा रहेको बमजनको आश्रम पुग्न सडकबाट जंगलको बाटो आधा घन्टा हिँड्नुपर्छ। बमजन अहिले सिन्धुपाल्चोकको आश्रममा बस्दैनन्। त्यहाँ उनका केही चेलाहरू मात्र रहने गरेका छन्। बजमन भने सिन्धुलीस्थित आश्रममा रहेको प्रहरीले बताएको छ। ‘हामीले बमजन तथा उनको सिन्धुलीस्थित आश्रमलाई कडा निगरानीमा राखेका छौं,’ प्रहरी स्रोतले भन्यो।

    कसरी बने बमजन ‘मैत्रेय बुद्ध’ ?  सेतोपाटीबाट साभार गरिएको उनको रामकहानीबारे बिस्तृतमा पढ्नुहोस्

    तेह्र वर्षअघि बारा, रतनपुरी-५ का १४ वर्षीय एक किशोर घरबाट हराए। घरमा खैलाबैला मच्चियो। गाउँभरि खोजे। भेटेनन्। भोलिपल्ट घरमुनि खोल्सीमा ठूला दाइले भेटे। ती किशोर घर फर्किन मानेनन्। एकोहोरो अघिअघि हिँडे, पछिपछि दाइ।

    एक ठाउँमा पुगेपछि दाइलाई भने, ‘म यहीँ बस्छु, तपाईं जानू।’ भोलिपल्ट जंगलभित्र एउटा पिपलको रूखमुनि उनी तपस्यारत भेटिए। त्यसअघि उनको तपस्या र ध्यानको खासै पृष्ठभूमि छैन। भारतको देहरादुनमा लामा पढ्न गएका उनी पढाइ नसकी फर्किएका थिए।

    तिनै किशोर हुन्, रामबहादुर बमजन। रतनपुरी जंगलमा ‘तपस्वी’ लाई हेर्न मानिसहरू आउन थाले। विस्तारै घुइँचो बढ्यो। स्थानीय मिडियाले समाचार लेखे। राष्ट्रिय मिडियाले लेखे। आगन्तुकको घुइँचो झनै बढ्यो। धुपबत्ती, खादा, ध्वजा र झन्डाहरूको खात लाग्न थाल्यो। कतिपयले नजिकै फूलगुच्छा, अगरबत्ती र खादाहरूको पसलै खोले। होटल खोले। सुनसान जंगल एकाएक गुल्जार भयो।

    बमजन रतनपुरीमा १० महिना बसे। कति तपस्या बसे, कति निराहार बसे, त्यो विवादास्पद नै छ। त्यहाँ उनलाई सघाउने भित्री ‘सर्कल’ मा परिवारका सदस्य मात्र थिए- जेठा दाइ, भाइहरू र मामाका छोरा। यथार्थ उनीहरूले मात्र भन्न सक्छन्।

    त्यो बेला रतनपुरीमा सँगै बसेका एक चेला बमजन १० महिना निराहारै ध्यानमा बसेको दाबी गर्छन्। यसमा अविश्वास गर्नेको कमी छैन। त्यति लामो समय नखाई तपस्या बसेका बमजन हृष्टपुष्ट नै देखिन्थे। त्यसैले धेरैले शंका गरे।

    बमजन नखाई तपस्या बसेका हुन् वा होइनन् भनी निर्क्यौल गर्न जाँच्ने कुरा आयो। डाक्टरको टोली तयार भयो। तर, उनले परीक्षणका लागि चाहिने रगत नमूना दिन मानेनन्।

    यसले धेरैलाई उनको तपस्यामाथि शंका भयो। शंका गर्नेमध्ये एक हुन्, सर्लाही, बाग्मती नगरपालिका वडा नम्बर १ का अध्यक्ष गम्भीरसिंह पाख्रिन। ‘उसले सत्य बोलेको थियो भने परीक्षण गरेर के बिग्रिन्थ्यो?’ पाख्रिनले भने, ‘मलाई पहिल्यैदेखि शंका थियो। त्यो दिनबाट त बमजनमाथिको विश्वास पूरै हट्यो।’

    बमजनमाथि शंका गर्नेहरू थोरै भए। उनलाई विश्वास गर्ने, उनको दर्शन गर्ने धेरै। देश-विदेशका दर्शनार्थीको घुइँचो बढ्दै गयो। शंका गर्नेहरू विस्तारै पाखा लागे। चुप बसे। विश्वास गर्ने कतिले उनलाई भगवान मान्न थाले, कतिले बुद्ध। दिनानुदिन मान्छेको मेला लाग्न थालेपछि बमजनले ‘भिड धेरै भयो, हल्ला भयो, मलाई शान्ति चाहियो’ भने।

    रतनपुरीमा बसेको करिब १० महिनापछि उनी २०६३ फागुन अन्तिम साता तपस्या बसेको ठाउँबाट एकाएक हराए। ‘बुद्ध’ हराएको कुरा आगोसरि फैलियो। त्यसले राष्ट्रिय मात्र हैन, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको पनि ध्यान तान्यो। केही दिनपछि उनी नजिकैको हलखोरिया जंगलमा भेटिए।

    बेलायती समाचार संस्था बिबिसीले उनको ‘स्टोरी’ गर्यो। प्रतिष्ठित डिस्कभरी च्यानलले ‘बुद्ध ब्वाइ’ भनेर बमजनमाथि वृत्तचित्र नै बनायो। उनी तपस्या गरेर, हलचल नगरी ७२ घन्टा एकैठाँउ बसेको भिडियो आफूले खिचेको डिस्कभरीले दाबी गर्यो। त्यसले अन्तर्राष्ट्रिय रूपमा उनको नाम झनै फैलियो। उनलाई हेर्न विदेशबाट पनि मानिसहरू आउन थाले। एकाएक उनी ‘लिटिल बुद्ध’ बने।

    देशभित्रै र बाहिरबाट पनि दान र सहयोग बढ्न थाल्यो। हलखोरियामा उनले आफ्ना सहयोगी र अनुयायीहरूलाई आश्रम बनाउन लगाए। तपस्याका लागि पाताल गुम्बा बनाउन लगाए। त्यो बेला पाताल गुम्बा निर्माणमा काम गरेका एक अनुयायी वरको ठूलो रुखमुनि ६० जना खटेर सात फिट अग्लो र सात फिट चौडा गुफा बनाएको सम्झन्छन्।

    ‘पहिले सिँढीबाट तल जानुपर्थ्यो। त्यसपछि थोरै माथि उक्लिएर गुम्बाको ढोकामा पुगिन्थ्यो,’ ती अनुयायीले भने, ‘गुम्बाभित्र तीन फिटजति अग्लो ठाउँमा गुरू बस्ने आसन पनि थियो।’ बमजनले पाताल गुम्बामा आफू ६ वर्ष ध्यान र तपस्या बस्ने बताएका थिए। उनको भनाइ थियो, ‘त्यसपछि मेरो तपस्या पूरा हुनेछ।’ त्यहाँ पनि ‘गुरू’ ध्यान बस्ने आश्रम वरिपरि तारबार लगाइयो। सुरक्षाको थप प्रबन्ध भयो।

    केही समय पाताल गुम्बामा बसेपछि बमजन बाहिर देखिन थाले। विस्तारै उनले आफ्ना हर्कत पनि देखाउन थालेको एक चेलाले बताए। २०६४ असारमा आश्रमको एक घटनाले बमजनको आपराधिक प्रवृत्ति झल्काउँछ। त्यो दिन बमजन नजिकै डाँडामा टहल्न निस्किएका थिए। उनले आफ्नी दिदीलाई त्यहीँबाट अलि चर्को स्वरमा भने, ‘मेरो गुम्बामा कोही हतियार लिएर पसेको छ, चेक गर।’

    उनका दिदी, दाजु लगायत वरिपरिका मानिस पाताल गुम्बाको कम्पाउन्डमा आए। बमजनले भनेको मान्छे पाताल गुम्बाभित्र पस्यो। चुकुल लगायो। बमजनको रिसको पारो चढ्दै गयो। उनले कराँते खेल्ने खेलाडीझैं उफ्रेर ढोकामा धेरैपटक हिर्काए। ढोकामा उनको लात्ती बजारिँदा ठूल्ठूलो आवाज आयो। ढोका भने खुलेन।

    त्यो घटनाका प्रत्यक्षदर्शी एक चेलाले भने, ‘त्यसपछि गुरूले तरबार निकालेर ढोकामा कसरी हान्यो कुन्नी, ढोका फ्याट्टै खुल्यो।’ त्यो व्यक्तिलाई बमजनले तानेर कम्पाउन्ड बीचमा ल्याए। उनी त्यही गाउँका स्थानीय युवा थिए। घुँडा टेकेर शिर निहुर्याएर बसे। ‘गुरूले तरबार हावामा कस्तो फिलिली नचाएको,’ बमजनले पहिलोपटक तरबार नचाएको देख्ने ती चेलाले सम्झिए।

    उनका अनुसार बमजनले तरबार नचाउँदै शिर निहुर्याएर बसेका ती युवामाथि उज्याए। धन्न दिदी राजकुमारीले रोकिन्। बमजनले तरबार त्यही व्यक्तिको छेउमा गाडे। ‘तँ किन यहाँ आइस्’ भन्दै केरकार गरे। उसले ‘गुरू बसेको ठाउँ दर्शन गर्न आएको’ भन्यो। ‘यो बाहुन किन सित्तै बुद्धिष्टकोमा आउँथ्यो र?’ बमजनले हकारे।

    अनि बमजन आफ्ना दाइसँग पनि झोक्किए, ‘तैंले गतिलो तारबार लगाएको भए यो कसरी यहाँ आउँथ्यो?’ त्यति बेलै बमजन बस्ने ठाउँमा तारका तीन तह थिए। दाजु केही बोलेनन्। बमजनले फेरि तरबार उचालेर हावामा घुमाए। ‘कतिखेर गुरूले तरबार चलाएछ, त्यो व्यक्तिको छालासहित टुप्पी तासियो,’ प्रत्यक्षदर्शी चेलाले भने, ‘उसको टाउकोबाट रगतको धारा छुट्यो।’

    बमजनका सहयोगीले त्यो व्यक्तिलाई तुरुन्तै त्यहाँबाट लगे। खोलामा लगेर टाउको धोइदिए। टाउकोमा जंगली झार लगाएर रगत बग्न रोके।गुम्बामा बसेर तपस्या गरेका, ध्यान गरेका मानिसले कराँते कहाँ र किन सिके? तरबार चलाउन कसरी त्यति निपूर्ण भए? यी प्रश्न अनुत्तरित छन्।उनमा हिंसाप्रति लगाव थियो र सुरूदेखि नै हातहतियारको मोह थियो भन्ने त्यो र पछिका घटनाले पुष्टि गर्छन्।

    हलखोरिया आश्रममै रहँदा बमजनको अर्को पाटो पनि विस्तारै खुल्न थालेको देखिन्छ। बमजनको आश्रममा एक जना पुरानी आनी थिइन्- विष्णु बल। उनी कहिलेदेखि त्यहाँ थिइन् भन्ने कसैलाई थाहा छैन। उनीसँग हलखोरिया आश्रमको पाताल गुम्बामै यौन दुर्व्यवहार गरेको हल्ला त्यो बेला भित्रभित्रै चलेको एक चेला बताउँछन्।

    पछि बमजनका जेठा दाजुले यौन दुर्व्यवहार गर्दागर्दै उनलाई रंगेहात भेटे। दिदी राजकुमारीले पनि अर्की आनीसँग त्यस्तै हर्कत गर्दै गरेको भेटिन्। दाइले बमजनलाई गाली गरे। दिदीले उसका गतिविधिको विरोध गरिन्। बमजनले विस्तारै दुवैलाई आश्रमबाट पन्छाए। जंगलमा तारबारको घेराभित्र बस्ने बमजनका विवादास्पद चरित्र क्रमश: वरिपरिका मानिसले देख्न थालिसकेका थिए।

    बाहिरको संसारलाई भने यी कुरा थाहै थिएन। ‘बुद्ध ब्वाइ’ र ‘लिटल बुद्ध’ का रूपमा उनको प्रचारप्रसार संसारभर फैलिँदै थियो। उनलाई संसारभरिबाट दान र सहयोग आउने क्रम जारी थियो।

    बमजन हलखोरिया बसेको दुई वर्षपछि त्यहाँ दार्जिलिङको मिरिकबाट एक जना अधवैंशे महिला पूजा र दर्शन गर्न आइन्। उनी आउने क्रमले तीव्रता पायो। पछि आश्रममै बस्न थालिन्। केही समयमै उनले बमजनलाई कम्प्युटर र भाषा सिकाउने सहयोगीका रूपमा आफ्नी भान्जीलाई आश्रममा स्थापित गरिन्।

    उनकी भान्जी हुन्, दिपशिखा डुमजन। जो केही समयपछि बमजनकी श्रीमती बनिन्। उनीहरूको अहिले एउटा छोरा छ। हलखोरियामै बस्दा बमजनले एउटा उत्ताउलो प्रण गरे- म यसपालिको गढीमाई मेलामा हुने बलि र रक्तपात रोक्छु। बारा जिल्लाको गढीमाई मन्दिरमा प्रत्येक पाँच वर्षमा मेला लाग्छ। नेपाल र भारतका कैयन भक्तालुले मेलामा बलि दिन्छन्। हजारौं पशुपन्छी काटिन्छन्।

    मन्दिर छेउको एउटा बत्ती बलेपछि बल्ल पशुबलि सुरू हुन्छ। बमजनले २०६६ को गढीमाई बलि रोक्ने घोषणा गरेपछि चेला र अनुयायीहरू छक्क परे। उनीहरूले सोधे, ‘गुरु कसरी सम्भव छ?’ उनले भने, ‘मेरो तपस्याको रापले गढीमाई मन्दिरको बत्ती बल्न दिने छैन। बत्ती नबलेपछि बलि सुरु हुने छैन।’

    कतिपय शुभचिन्तक, अनुयायी र चेलाहरूले शंका व्यक्त गरे। उनीहरूले एकअर्कासँग छलफल गरे- यत्रो घोषणा गरेपछि बलि रोकिएन भने फसाद पर्छ। गुरूको नाम जान्छ। एउटा बौद्ध संगठनका महासचिव प्रेम दोर्जेले बमजनलाई सम्झाए, ‘पशुबलि रोक्न सक्ने पक्का छैन भने अहिल्यै विज्ञप्तिमार्फत् घोषणा फिर्ता लिउँ। गुरूको मान रहन्छ।’

    बमजन टसमस भएनन्। पशुबलिको दिन बमजनले कसरी बलि रोक्छन् भन्ने हेर्न मानिसहरू भेला भए। उनको सुरक्षामा ठूलो संख्यामा प्रहरी तैनाथ भयो। तर, साँझसम्म कुर्दा पनि बमजन आएनन्। मन्दिर परिसरमा बत्ती बल्यो। पशुबलि सुरू भयो।

    त्यो दिन साँझ पर्नुअघि नै बमजन हलखोरिया जंगलबाटै हराए। उनी त्यो बेला कहाँ गएका थिए भन्ने अहिलेसम्म कसैलाई थाहा छैन। त्यसको तीन महिनापछि मिरिकमा छन् भन्ने खबर आयो। उनी दिपशिखा डुमजनको घरमा भेटिएकाले भागेर सुरूमै त्यहीँ गए भन्ने सबैको अनुमान छ।

    तर, उनी हलखोरियाबाट भागेर सिधै मिरिक पुगेका हैनन्। हलखोरियामा आनी बनेर बसेकी रिता वोटको घर पुगेका थिए। सर्लाहीको बाग्मती नगरपालिका-१२ स्थित काजीराम टोलमा रितासँगै झन्डै एक महिना लुकेर बसे।

    त्यो एक महिनाले पनि बमजनबारे धेरै कुरा बोल्छ। उनी खाना नखाई तपस्या गरेका तपस्वी हैनन् भन्ने त्यो समयले पुष्टि हुन्छ। रिता र बमजन सँगै एउटै कोठामा बस्थे र दुवै छाक भात खान्थे। ‘रिताले बिहान बेलुकै कोठामा खाना लैजान्थिन् र दुवै जना त्यहीँ खाना खान्थे,’ रिताकी माइली भाउजूले भनिन्।

    उता, बमजन मिरिकमा छन् भन्ने खबर पाएपछि उनका अनुयायी र व्यवस्थापन समितिका मानिसलाई अप्ठ्यारो पर्यो। उनीहरूमध्ये केही बमजनलाई लिन मिरिक गए। ‘धर्म जोगाउन’ नेपाल फर्किनू भनेर बमजनलाई अनुरोध गरे। गुरू नफर्किए आफूहरू बर्बाद हुने भन्दै अनुनयविनय गरे।

    ‘गुरूलाई केही हुन्न। हामी समिति बनाएर सबै व्यवस्थापन गर्छौं भनेपछि उनी नेपाल फर्कन मञ्जुर भए,’ त्यो बेलाको समितिका एक सदस्यले भने। बमजन रितालाई छाडेर कसरी दिपशिखाकहाँ पुगे र रिता कसरी बेपत्ता भइन् भन्ने अझै रहस्यमै छ। उनी रिताको घरमा एक महिना बसेर सँगै लिएर हिँडेका थिए। हलखोरिया भने गएनन्। सिधै तीन महिनापछि मिरिकमा दिपशिखासँग भेटिए, जो उनकी अहिलेकी श्रीमती हुन्।

    बमजनसँग घरमा बसेर गएको तीन महिनापछि रिता एकपटक फेरि परिवारकहाँ गइन्। आमाले उनलाई ‘अब बमजनकहाँ नजा’ भनिन्। बमजनले नै फोन गरेर बोलाएपछि घरबाट हिँडेकी रिता अहिलेसम्म बेपत्ता छिन्।

    रिता बेपत्ता भएपछि बमजन बारम्बार उनको परिवारकहाँ पुगेर प्रहरीमा उजुर नगर्न भनेका छन्। ‘प्रहरीमा उजुर गरे आफूलाई र परिवारलाई पनि अप्ठ्यारो पर्ने’ भन्दै उनले धम्की दिएको परिवारले जनाएको छ। दिपशिखालाई लिएर मिरिकबाट फर्केकै बेला बमजनले देखाएका कतिपय हर्कतले पनि उनको व्यक्तित्वको छनक दिन्छ।

    तपस्वी गुरूले श्रीमती लिएर आएको कुरा त्यो बेला आश्रममा आगोसरि फैलियो। कतिपय चेला र अनुयायी सत्यतथ्य बुझ्न गुरूकहाँ गए। त्यस बेला त्यहाँ पुगेका एक चेलाले हामीसँग भने, ‘हामीले सत्य के हो भनेर गुरूलाई सोध्यौं। गुरूले बोलेको पहिलो वाक्यले नै हामी झस्कियौं।’ उनका अनुसार गुरूले एक्कासि भने, ‘राँडीको छोरा इन्सपेक्टरले सबै कुरा बिगार्यो।’

    बमजन र दिपशिखा सायद लुकेर, बाहिरका कसैलाई थाहा नदिई आश्रमभित्र छिर्न चाहन्थे। बाटोमा उनीहरूलाई भेटेपछि स्थानीय प्रहरी चौकीका इन्सपेक्टरले दुवैलाई गाडीमा राखेर हलखोरिया पुर्याइदिएका थिए। उनीहरू दुवै जना पुलिसको गाडीमा आएको धेरैले देखे। हल्ला त्यसपछि नै फैलिएको हो। हल्ला फैलिएपछि बमजन रिसले चुर भएका थिए।

    चेलाहरूले ध्यान, तपस्या र बुद्धत्वबारे पनि सोध्न थाले। एक चेलाका अनुसार बमजनले झर्किएर भने, ‘म बुद्ध हैन, बुद्ध धर्म पनि मान्दिनँ। तिमीहरू मसँग बस्नुपर्दैन। जाने भए जाओ।’ बमजनका लागि हलखोरियामा बसेर केही महिना काम गरेका एक अनुयायीले भने, ‘त्यसपछि यो मान्छे बदमास् रै’छ भन्ने थाहा पाएर म अलग भएको हुँ।’

    तर, उनीसँग नयाँनयाँ अनुयायीहरूको कमी भएन। अनुयायीहरू आउने-जाने क्रम जारी रह्यो। यसैबीच बमजनसँग जोडिए, पूर्व स्वास्थ्य राज्यमन्त्री मणि लामा। उनैको पहलमा ‘बोधी धर्म श्रवण संघ’ दर्ता भयो। उक्त संघमा लामासहित सिभिल होम्सका अध्यक्ष इच्छाराज तामाङ, नेपाल प्रहरीका पूर्वमहानिरीक्षक डिबी लामा, पूर्वप्रशासक ललितबहादुर थापा, क्याम्पियन एकेडेमीका पूर्वसञ्चालक कैलाश देवान लगायत सदस्य बसे।

    विस्तारै बमजनले आफूलाई बुद्ध धर्मावलम्बी हैन, बुद्धभन्दा ठूलो ‘मैत्रेय बुद्ध’ भन्न थाले। त्यो उनले आफैंले भने वा अरूले भन्न लगाए यकिन छैन। बमजन सानैमा लामा पढ्न देहरादुन गएकाले उनैले ‘मैत्रेय बुद्ध’ बारे थाहा पाएको हुनसक्छ। वा, अरूले नै उनलाई ‘मैत्रेय बुद्ध’ बारे बताएको हुन सक्छ।

    बौद्ध धर्ममा पनि ‘मैत्रेय बुद्ध’ को बयान छ। ‘मैत्रेय बुद्ध’ भनेको भविष्यमा आउने बुद्ध हुन्। जब यो धर्तीमा धर्म सकिन्छ र अधर्मको राज हुन्छ, त्यतिखेर ‘मैत्रेय बुद्ध’ ले जन्म लिने कतिपय बौद्ध ग्रन्थहरूमा उल्लेख पाइन्छ। अधर्म बढेर मानिसको नास हुने क्रममा औसत आयु दस वर्षमा झरेपछि ‘मैत्रेय बुद्ध’ पृथ्वीमा आउने र मानिसको उद्धार गर्ने, संसारमा फेरि धर्मको स्थापना गर्ने उल्लेख छ।

    ललितपुरको बुङमती, चुन्नीखेलमा डेढ वर्षअघि बोधी श्रवण धर्म संघले ठूलो पूजा लगाएको थियो। पूजा लगाउन बमजन आएका थिए। उनी आउँदा १ सय ५६ गाडी र २ सय ५० मोटरसाइकलको लस्कर आएको थियो। उक्त पूजामा आएका बमजनका अनुयायी र चेलाहरूले ‘परमात्माले उनलाई संसारमा धर्मको शासन स्थापना गर्ने जिम्मा दिएको’ दाबी गरेका थिए।

    चुनीखेलको शान्तिपूजाको पहिलो दिन छोटो सम्बोधन गर्दै उनले भनेका थिए, ‘धर्म भनेको मुक्ति र मोक्षको मार्ग प्रदान गर्ने एउटा अदृश्य सत्यतथ्य तत्व हो। धर्म ज्योति हो, जुन सर्वप्रकाशवान महातेज छ।’

    उनको नाममा प्रकाशित ‘मैत्रीधर्म पुस्तक’ मा बमजनले धर्म र सत्यबारे उल्लेख गरेका छन्। यो किताब आममानिसले बुझ्ने भाषामा बमजनले पाएको ज्ञानको सारांश भएको उनका अनुयायी बताउँछन्। किताबमा बमजनको जीवनी, उनी तपस्या बस्दाका तस्बिर, उनले विभिन्न ठाउँमा दिएका देशना, उनको मैत्रीधर्म, त्यो धर्मसम्म पुग्ने बोधीमार्ग, मानिसले जीवनमा ध्यान दिनुपर्ने कुरा र दैनिक पूजा, पाठ, जप, ध्यानबारे लेखिएको छ।

    ‘उहाँले पाएको ज्ञान त कति छ कति,’ पूर्वमन्त्री मणि लामाले डेढ वर्षअघि भनेका थिए, ‘अहिले जम्मा एक प्रतिशत मात्रै भन्नुभएको रे। बाँकी भन्न त वर्षौं लाग्छ।’ ललितपुरको त्यो भेलामा दैनिक हजारौं मानिस उनको दर्शन गर्न आएका थिए। झन्डै चार दर्शन विदेशी अनुयायी आएका थिए।

    ललितपुरको पूजापछि बमजन संसार घुम्न निस्किने उनका अनुयायीहरूले बताएका थिए। संसार घुमेर धर्म र ‘मैत्रेय बुद्ध’ को आगमनबारे बताउने उनको उद्देश्य थियो। त्यसका लागि सरकारले आफूलाई रातो पासपोर्ट उपलब्ध गराउनुपर्ने बताएका थिए। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई बालुवाटारमै भेटेर उनले ‘आशीर्वाद’ दिँदै आफूलाई रातो पासपोर्ट उपलब्ध गराउनुपर्ने बताएका थिए।

    उनलाई ‘मैत्रेय बुद्ध’ बनाउने र देश-विदेश घुमाउने योजनामा कसले काम गरिरहेको छ यकिन छैन। उनको आश्रमका नाममा कति पैसा, दान उठ्छ, त्यसको व्यवस्थापन कसले गर्छ, कसले त्यसको फाइदा लिइरहेको छ, त्यो पनि थाहा छैन।

    अहिले बमजनसँग कति सम्पत्ति छ भन्ने हिसाब छैन। तर, जसरी उनले एउटा आश्रमबाट अर्को आश्रम जान कैयनपटक हेलिकप्टर प्रयोग गरेका छन्, त्यसले उनीसँग रहेको पैसाबारे केही संकेत गर्छ। बमजनलाई हिँडडुल गर्न टोयटाको ल्यान्डक्रुजर गाडी छ। कहीँ जानुपर्यो भने गाडीको लावालस्कर लाग्छ।

    बमजनका आश्रम बाराको हलखोरिया, सिन्धुपाल्चोक, सिन्धुली र सर्लाहीको पत्थरकोट गरी चार ठाउँमा छन्। हलखोरिया जंगल सरकारी हो। त्यसबाहेक तीन ठाउँका आश्रम र वरिपरिको जग्गा बमजनकै हो। ती सबै आश्रममा गरेर सयौं बिघा जग्गा रहेको त्यहाँ बसेका अनुयायी, चेला र आनीहरू बताउँछन्। तर कति जग्गा छ, यकिनसाथ कसैले बताउन सकेनन्।

    देश विदेशबाट आएको पैसा र ‘मैत्रेय बुद्ध’ को नाम प्रयोग गरेका बमजनले चलाइरहेका आश्रममा कुनै ध्यान, तपस्या र ज्ञानको कुरा भने हुँदैन। बरु ती आश्रममा नाबालिग आनीहरुको श्रम र यौन शोषण तथा हिंसा र हत्याको लामो श्रृंखला चलेको छ। यति धेरै आश्रम, यति धेरै अनुयायी, यति धेरै हिंसा, अत्याचार र यौन शोषण मच्चाएका रामबहादुर बमजन राज्यको राडारबाट पूरै बाहिर छन्।

     

    २०७५ पुष २० गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...