News Portal

  • कारबाहीमा पर्ने निश्चित भएपछि मन्त्री अधिकारीले मुख खोले, दिए सबैलाई चकित पार्ने स्पष्टीकरण

    संचारकेन्द्र संवाददाता
    २३७९ पटक

    काठमाडौं । संसदीय लेखा समिति अन्तर्गतको उपसमतिले बुझाएको प्रतिवेदनले नेपाल वायू सेवा निगमको दुई वटा वाइडबडी जहाज खरिद प्रक्रियामा ४ अर्ब ३५ करोड अनियमितता भएकाे निश्कर्ष निकाल्दै कारबाही सिफारिस गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी लगाले मुख खाेलेका छन् ।

    वाइडबडी खरिद प्रक्रिया आफू मन्त्री हुनुभन्दा पहिले नै भइसकेको बताउँदै मन्त्री अधिकारीले अहिले पर्यटन मन्त्रालयको नेतृत्वमा रहेकाले मात्रै नाम जोडिएको भन्दै उनले आफ्नो बचाउ गरेका छन् ।

    ‘मन्त्रालयको नेतृत्वमा भएकाले नाम जोडिनु स्वाभाविक हो । तर, योखालको प्रतिवेदन आउला भन्ने सोचेको थिइनँ,’ मन्त्री अधिकारीले भने, ‘वाइड बडी खरिद प्रक्रियामा मेरो संलग्नता छैन भन्ने बेला आएपछि पुष्टि हुन्छ ।’

    मन्त्री अधिकारीका पालामा जहाज खरिदको अन्तिम किस्ता भुक्तान भएको थियो । विवादित हुँदाहुँदै पनि अन्तिम किस्ता किन दिइयो भनेर अधिकारीमाथि प्रश्न उठेेको छ । ‘म मन्त्री हुनुभन्दा पहिलेकै प्रक्रियाअनुसार रकम भुक्तान भएको हो । मैले केही गरेको छैन,’ मन्त्री अधिकारीले भने, ‘मबाट कुनै अनियमिता भएको छैन ।’

    संसदीय समितिको प्रतिवेदनप्रति आफ्नो सम्मान रहेको मन्त्री अधिकारीको भनाइ छ । तर, आफू मन्त्री भएपछि वाइडबडीका सवालमा थप कुनै निर्णय नभएको मन्त्री अधिकारीले जोड दिए ।

    वाइडबडीका सन्दर्भका मन्त्री अधिकारीले विज्ञप्ति निकाल्ने तयारी गरेको उनको सचिवालयले जानकारी दिएको छ ।  वाइडबडी खरिद प्रकरणको बिषयलाई लिएर अहिले सामाजिक सञ्जाल पनि मन्त्री अधिकारीमाथि खनिएको छ । मन्त्री अधिकारीको गृहजिल्ला कास्कीमा मन्त्री अधिकारको आलोचनाको व्यापकरुपमा भइरहेको छ ।

    तर मन्त्री अधिकारीले भने पर्यटनमन्त्री भएकै कारण आफ्नो नाम जोडिएको गुनासो गरे पनि यो विषयमा चासो राख्ने सबैलाई चकित पारेको छ  । संसदीय उपसमितिले वाइडबडी प्रकरणमा मन्त्री अधिकारीसहित पूर्वमन्त्री जीवनबहादुर शाही र जितेन्द्रनारायण देवलाई कारबाही सिफारिस गरेको छ ।

    वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्कालै निलम्बन गरेर कारबाही गर्न पनि उपसमितिले सिफारिस गरेको छ । पर्यटन सचिव कृष्ण देवकोटा, तत्कालीन पर्यटन सचिव प्रेम राई र पूर्वसचिव शंकर अधिकारीलाई पनि कारवाहीको सिफारिस गरिएको छ ।

    पर्यटनमन्त्री अधिकारीले सुरुदेखि नै विमान खरिदमा आफू निर्दोष रहेको दाबी गर्दै आएका थिए । आफ्नो गल्ती देखिए राजनीतिबाटै सन्यास दिने उनको दाबी थियो । उनले भनेका थिए- ‘वाइडबडी खरिदमा मेरो गल्ती भेटिए राजनीतिबाटै सन्यास लिन्छु’

    अहिले उपसमितिले मन्त्री अधिकारीलाई दोषी ठहर गरेपछि उनि आफ्नो बचाउमा लागेका छन् । महालेखा परीक्षकको ५५ औं वार्षिक प्रतिवेदनमा निगमको विमान खरिद प्रक्रिया कानुनसम्मत नभएको प्रष्ट उल्लेख हुँदाहुँदै मन्त्री अधिकारीले छानविन नगरी जानीजानी अन्तिम किस्ता रकम भुक्तानी गर्न आदेश दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ ।

    साथै आफ्नो कार्यकालमा भुक्तानी नदिएको र अध्ययन गर्छु भनेर औपचारिकतामा मात्र कार्यदल बनाएको, महालेखाको परामर्श लिएर रकम भुक्तानी दिएको भनेर ढाँटेको पनि आरोप छ ।

    उपममितिको प्रतिवेदनमा भनिएको छ, ‘रकम भुक्तानी गर्न बदनीयतपूर्वक मिलेमतो गरेको देखिँदा मन्त्रीले जिम्मेवारीबाट पन्छिन नमिल्ने देखिँदा प्रचलित कानुन बमोजिम कारबाही गर्न निर्देशन दिन समितिलाई सिफारिस गर्दछ ।’

    यता नेपाल नागरिक उड्ययन प्राधिकरणका महानिर्देशकदेखि पर्यटन मन्त्री रविन्द्र अधिकारीसम्मलाई प्रभावमा पार्दै आएका निर्देशक प्रदीप अधिकारी पनि वाइड बडी घोटलामा तानिएका छन् । उनी आफूलाई मन्त्रीको आफ्नै भाई भन्न पछि पर्दैनन् ।

    मन्त्री अधिकारीलाई वाइड बडी खरिद गर्दा ४ अर्ब घोटाला गरेको भनी लेखा समितिद्धारा गठित उपसमितिले कारवाहीका लागि सिफारिस गरेपछि प्रदीपको छटपटि शुरु भएको हो ।

    छोटो समयमै प्राधिरकणको महानिर्देशक सञ्जिव गौतम र मन्त्रीका विश्वासपात्र बनेका उनी प्राधिकरणद्धारा सञ्चालित राष्ट्रिय गौरवका आयोजनाहरुबाट अकुत कमाउन सफल भएका छन् ।

    प्राधिकरणको आठौं तहमा कार्यरत रहेकै बेला प्रदीपलाई सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार आयोजना हेर्ने गरी ११औं तहमा बढुवा दिइएको भएपनि उनी अर्बौं बजेट भएका योजनाहरुमा मात्र बसे ।

    चाकडी गर्न र कार्यालय तथा आयोजनाका रकम मिलाएर खान र खुवाउने कलामा माहिर प्रदीपले अहिले पनि पोखरा, भैरवहा, निजगढ लगायतका अरबौंका आयोजना प्रमुखका रुपमा कार्यरत छन् ।

    उनकै पहलमा रविन्द्र अधिकारी मन्त्री हुनासाथ प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम, उपमहानिर्देशक राजन पोख्रेलहरुको विदेशी मदिरा सहितको जमघट मन्त्री निवास पुल्चोकमै आधारातसम्म चलेको थियो ।

    प्राधिकरणका भ्रष्ट उच्च अधिकारी र बदमाश ठेकेदारहरुलाई मन्त्रीसँग निकट बनाएर कमाउ धन्दा चलाइरहने प्रदीप नै अहिले अर्का विवादित नेपाली कांग्रेस निकट राजन पोख्रेललाई महानिर्देशक बनाउने दौडमा छन् ।

    गौतमको पदावधी केही महिना मात्र बाँकी रहेको छ । प्राधिकरणमा रहेका अन्य सक्षम र इमान्दार उपमहानिर्देशकहरुलाई पाखा लगाएर प्रदीपले राजनलाई च्यापेपछि आम कर्मचारीहरु भने आतंकित बनेका छन् ।

    यता सरकारले वाइडबडी विमान खरिद प्रक्रियाबारे छानबिन गर्न र तयार रहेको बताएको छ । तर, लेखा समिति अन्तर्गतको उपसमितिको प्रतिवेदनकै भरमा अहिले नै कसैलाई निलम्बन तथा कारबाही नगर्ने सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले बताए ।

    मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले उपसमितिले लेखा समितिलाई प्रतिवेदन बुझाउनु अघि नै निचोड जसरी सार्वजनिक गरेकोमा असन्तुष्टि जनाए ।

    यद्यपि समितिमा छलफल हुन बाँकी रहेको भन्दै उनले भने, ‘उपससमितिले प्रतिवेदन दिएकै छ । अब समितिले अब के भन्छ ? कसरी आउँछ ? त्यसपछि सरकारले पनि न्यायिक समिति बनाउन उपयुक्त हुन्छ भने हामी तयार नै छौं ।’

    तर, सरकारले अर्को समिति बनाउँदा ढाकछोप गर्न बनायो भन्ने हो कि भन्ने उनको आशंका छ । उनले भने, ‘विगतका पराम्परा, अभ्यास, कानुनी प्रावधान हेरेर समिति बनाउन तयार छौं । त्यसको निचोड नआएसम्म कसैमाथि अभियोग लाग्नासाथ प्रमाणित मानिँदैन । प्रमाणित हुने धेरै निकाय पार गर्नुपर्छ ।’

    प्रमाणित भएपछि मितको छोरा, आफ्नो छोरा नभन्ने तर, अहिले नै कसैलाई कारबाही नगर्ने बताए । ‘कुनै कुरा आउनासाथ अन्तिम फैसलाका रुपमा ग्रहण गर्न सकिँदैन । छानविनको उचित निष्कर्ष आओस्’, मन्त्री बास्कोटाले भने ।

    यसैबीच नेपाल एयरलाइन्सको वाइडबडीमा संसदीय उपसमितिको छानबिन प्रतिवेदनलाई अस्वीकार गर्दै सरकारले तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानबिन समिति गठन गरेको छ।

    प्रतिनिधिसभाको सार्वजनिक लेखा अन्र्तगतको उपसमितिको बहालवाला पर्यटनमन्त्रीसहित केही पूर्वमन्त्री र सचिवलाई दोषी ठहर गर्दै कारवाहीको सिफारिस गरेपछि सरकारले न्यायिक छानविन समिति गठन गरेको हो। निगमको वाइडबडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको उपसमितिले निष्कर्ष निकालेको थियो।

    उपसमितिको प्रतिवेदन अस्वीकार गरेको सरकारले बिहीबार पुनरावेदन अदालतका पूर्वमुख्य न्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय छुट्टै छानबिन समिति बनाएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

    ‘जांचबुझ आयोग ऐनको दफा ३(२) अनुसार नेपाल एयरलाईन्सको खरिद गरिएका दुईवटा वाइडबडी एयरवस विमान ३३०–२०० का विषयमा उठेका महत्वपूर्ण सार्वजनिक सवालमा जाँभबुझ गरि नेपाल सरकार समक्ष ४५ दिनभित्र प्रतिवेदन पेश गर्न मन्त्रीपरिषदले एक जाँचबुझ आयोग गठन गरेको छ,’ प्रवक्ता बाँस्कोटाले भने।

    आयोगका सदस्यमा पूर्व नायब महान्यायाधिवक्ता नरेन्द्र प्रसाद पाठक र चाटर एकाण्टेट मदन शर्मा छन्। संयोजक पराजुलीले २०६५ सालमा सेवाबाट अवकाश पाएका थिए।

    के भन्छन् प्रधानमन्त्री ओली ?

    यता प्रधानमन्त्री केपी ओलीले वाइडबडी प्रकरणमा उपसमितिको प्रतिवेदनबाट आफू आश्चर्यचकित भएको र नरमाइलो लागेको प्रधानमन्त्रीले टिभी अन्तरवार्तामा बताएका छन्।

    प्रतिवेदन उपर प्रधानमन्त्रीको के प्रतिकृया रहला भन्ने ‘सस्पेन्स’ हिजै ‘क्लियर’ भएको छ। यद्यपि आज बिहीबारको संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी छ। संसदको सम्बोधनमा प्रधानमन्त्रीको थप प्रतिकृया आउने अपेक्षा छ।

    प्रधानमन्त्रीले प्रतिवेदनले औंल्याएका सार पक्षमा भन्दा प्रतिवेदन सार्वजनिक हुनुभन्दा पहिले नै मिडियामा चुहिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। प्रतिवेदन सार्वजनिक उत्ताउलो पारामा भएको भन्दै प्रधानमन्त्रीले ‘खुबै बाघका जुँगा उखेलेको’ जस्तो नहौसिन समितिलाई सचेत गराएका छन्। प्रधानमन्त्रीको प्रश्न छ- प्रतिवेदनमा आएका बाघका जुँगा हुन् कि हातका रौँ (भुत्ला) ?

    प्रारम्भिक प्रतिकृयालाई आधार मान्ने हो भने प्रधानमन्त्रीले प्रतिवेदन कार्यान्वयन गर्ने रूचि देखाएका छैनन्। उल्टै त्यसको प्रतिवाद गर्ने लाइनमा प्रधानमन्त्री उभिने देखिन्छ। संसदको उच्चस्तरीय समिति गठन गरेर थप छानविन गर्ने प्रधानमन्त्रीको भनाइ छ।

    उनले सरकारको तर्फबाट पनि गम्भीरतापूर्वक छानविन हुने भन्दै दोषी जो कोहीलाई पनि कारवाही हुने दावी गरेका छन्। प्रधानमन्त्रीको प्रतिकृया के आउला भन्ने विषय करिब प्रष्ट भैसकेको छ।

    २०७५ पुष १८ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...