News Portal

  • हिरासतमा पहिलो रात- त्यस्तो बेला घर परिवारको खुब याद आउँदो रहेछ

    संचारकेन्द्र संवाददाता
    ३१६ पटक

    खेम थपलिया । मलाई हिरासतको पहिलो फामलेगेटभित्र पु¥याइँदा साँझको ६.०० बजेको थियो । त्यहाँ अर्को फलामेगेट पनि रहेछ । मलाई त्यहाँबाट पनि भित्र लगियो । त्यहाँ बेलुकाको रोलकल भइरहेको रहेछ । त्यतिखेर त्यहाँ ड्युटी अफिसरको रूपमा धादिङ घर भएका प्रकाश अर्याल रहेछन् ।

    उनले पुग्नेवित्तिकै सोधेका थिए, “सर तपाईंं किन आउनुभयो ?” मैले भनेको थिएँ, “अहिले तपाईंंहरूको काम नै हामीजस्ता मान्छेलाई ल्याउने त भएको छ । बाँकी कुरा ल्याउने आफ्नै प्रहरी साथीहरूलाई सोध्नुस् ।” मैले त्यसो भन्दा हिरासतमा रहेका सबै हाँसेका थिए । थुनवाकक्षमा रहेका मानिसहरू उत्सुकताका साथ मलाई हेरिरहेका थिए । त्यसपछि ती अफिसर चुप लागे ।

    तेस्रो फलामे गेट अर्थात् हिरासतभित्र जानुभन्दा अघि सबै सामान निकाल्नुपर्ने रहेछ । त्यहाँ सुर्खेत घर भएका अर्का एक प्रहरीले रुमाल, जुत्ताको तुना, घर तथा अफिसको साँचोको झुत्तो सबै दिन भने र रेकर्ड राखे । उनले स्वीचअफ गरेर मोबाइल पनि दिनुस् भने । त्यसखेर मेरो मोबाइलमा फेसबुक खुलिरहेको रहेछ । स्वीचअफ गर्दैछु भनेर अंग्रेजीमा ‘एरेस्टेट’ भनेर लेखेँ अनि स्वीचअफ गरेर मोबाइल दिएँ ।

    उनले त्यहाँ मलाई हस्ताक्षर पनि गराए । त्यसपछि मलाई जुत्ता राख्ने ठाउँ, मुख धुने ठाउँ, शौचालय पनि देखाइयो । त्यसपछि तुना नभएको जुत्ता लिएर बाल्कोनीमा लगेर राखेँ । थुनुवाहरूको जुत्ता राख्ने ठाउँलाई त्यहाँको भाषामा बाल्कोनी भनिँदो रहेछ । त्यहाँ राजेन्द्र अधिकारी नाम गरेका साथीले आत्मीय व्यवहार गर्नुभयो, मैलै उहाँलाई त्यति नचिनेको भए पनि उहाँले मलाई राम्ररी चिन्नुहुँदो रहेछ ।

    उहाँ आफन्तकै षड्यन्त्र र धोकाका कारण त्यहाँ पुग्नुभएको रहेछ । त्यहाँ कीर्तिपुरका पत्रकार जितेन्द्र महर्जन एक्लै बसिरहनुभएको रहेछ । उहाँले नजिक आएर बस्दै “कहाँबाट ल्याएको” भनेर सानो स्वरमा सोध्नुभयो । मैले सानै स्वरमा “बागबजारबाट” भनेँ । मलाई भेटेपछि जितेन्द्रले उज्यालो अनुहार लगाउनुभएको थियो, सायद उहाँलाई अब म पनि एक्लो छैन भन्ने लाग्यो होला ।

    म त्यहाँ पुगेपछि एकै प्रकृतिका हामी दुईजना भयौँ । त्यहाँ बेलुकाको खाना खाने बेला भएको रहेछ । लाइनमा बस्नुपर्ने, लामो लाइन, त्यसमा पनि घुइँचो थियो । “पछि आएर खाना खानुहोला, उहाँलाई खाना राखिदिनू है” भनेर अर्का प्रहरीले मलाई मेडिकल गर्न भनेर वीर अस्पताल लगियो । त्यहाँ मेडिकल गरेका ५० रूपैयाँ तिनुपर्ने रहेछ । त्यस दिन मैले पर्स बोकेको रहेनछु । मसित पैसा नभएकोले मसितै रहेका काभ्रेतिरका एक भाइले त्यो पैसा तिरिदिए ।

    त्यसपछि फेरि टेकु नै ल्याइयो । मेडिकल गर्ने भनेको त केवल औपचारिकता मात्र रहेछ । म मेडिकल गरेर टेकु आइपुग्दा अरू सबैले खाना खाइसकेका रहेछन् । खाना लिएर खान लागेँ, एक गाँस पनि भित्र गएन । खाना चिसो त थियो नै, त्यसमाथि पनि ढुङ्गा हो कि माटो, छुट्ट्याउन गा¥हो हुनेखालको थियो । जबर्जस्ती पानीको बलमा केही गाँस भात निलेर थाल सफा गरेर यथास्थानमा राखिदिएँ ।

    त्यहाँ बिहान र बेलुका खाना खाएपछि सफाइको काम हुँदो रहेछ । चिसो नआओस् भनेर भुइँमा बाक्ला–बाक्ला काठका फ्लाक बिछ्याइएको रहेछ । त्यहाँ फिनेल हालेर सफाइ गरिँदो रहेछ । प्रत्येक शनिबार विशेष सरसफाइको काम पनि हुँदो रहेछ । एउटा गज्जबको चलन के बसालिएको रहेछ भने प्रत्येक दिन आउने नयाँ मानिसलाई शौचालय सफा गर्न लगाइँदो रहेछ । त्यहाँको भाषामा शौचालयलाई कम्प्युटर भनिँदो रहेछ ।

    कसैलाई भने हिरासतभित्रै लुडो घोटेर सफा गर्न लगाइँदो रहेछ । मलाई एउटा भाइले “ल सर आज तपाईंंको पालो यो” भनेर त्यो लुडो अघि सारिदिएका थिए तर त्यहीको नाइकेले (जो लागूऔषधको कारोबारको केसमा त्यहीँ हिरासतमा आइपुगेका रहेछन्) “यस्तो बूढो मान्छेलाई पनि यस्तो काम लगाउने हो” भनेर हप्काउँदै त्यो काम अर्कैलाई लगाइयो । त्यसपछि त्यहाँ छउञ्जेल मैले त्यस्तो काम कहिल्यै पनि गर्नुपरेन । साथै, नयाँ मानिसका लागि सुत्नका लागि हिरासतको पछिल्लो छेउमा रहेका स्थान छुट्टाइएको हुँदो रहेछ ।

    त्यो ठाउँ त्यति राम्रो मानिँदो रहनेछ किनकि त्यहीसँग जोडिएको बाल्कोनी अर्थात् जुत्ता राख्ने ठाउँ थियो । त्यहाँ जुत्ताको कडा खालको वाक्वाकी लाग्ने गन्ध आउँथ्यो । सुत्नुअघि पानीको पैसा माग्न सुवास थेवे नाम गरेका एकजना भाइ–नाइके आए । उनी पनि लागूऔषधको कारोबारमा रसुवाबाट सरुवा हुँदै त्यहाँ आइपुगेका रहेछन् । प्रत्येक थुनुवाले पहिलो दिन १०० रूपैयाँ र बाँकी प्रत्येक दिन पानीको २० रुपियाँ तिनुपर्ने त्यहाँको नियम रहेको कुरा उनले सुनाए ।

    “अहिले मसित पैसा छैन, अवश्य पनि २–४ दिन बसिन्छ होला, पछि मिलाऔँला” भनेर ती भाइलाई फर्काइदिएँ । सुत्नेबेलामा नाइकेले दुईवटा पातलो कम्मल दिएका थिए, जुन एउटा ओछ्याउने र अर्को ओढ्नका लागि हुन्थ्यो । पत्रकार जितेन्द्र महर्जनसित सहकार्य गरेर त्यस रात त्यही बाल्कोनीको छेउमा रहेको बीचभागमा सुतेँ । उतातिरबाट जुत्ताको कडा गन्ध आइरहेको थियो । निंदा पटक्कै लागेन । निकैबेर ओल्टीपल्टी गरिरहेँ । त्यस्तो बेला घर–परिवारको खुब याद आउँदो रहेछ । अबेरतिर मात्रै भुसुक्क निदाएछु !

    (खेम थपलियाको हालै प्रकाशित चर्चित पुस्तक ‘खोर’ बाट)

    २०७५ पुष १३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    प्रधानमन्त्रीलाई हटाउन आफ्नै मन्त्रीहरुले गरे यस्तो षड्यन्त्र, अब के होला ?

    काठमाडौँ । आफ्नै सरकारका मन्त्रीहरुबाट प्रधानमन्त्रीलाई अपदस्थ गर्ने तयारी शुरु भएको छ । असन्तुष्ट मन्त्रीहरुले...

    अठहत्तर लाख घूस लिने पाठकविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दर्ता

    काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजीनामा दिएका आयुक्त राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको...

    breaking अछाममा नेकपा कार्यकर्ता सामत्न प्रहरीले ७ राउण्ड गोली चलायो, ४ जना गिरफ्तार

    मंगलसेन । नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता समात्न प्रहरीले अछाममा गोली चलाएको छ । जिल्लाको रामरोसन...

    १६ गतेको नेपाल बन्द फिर्ता लिन विप्लवलाई नेपाल बार एसोसिएसनको आग्रह

    काठमाडौं । नेपाल बार एसोसिएसनले चैत्र १६ गतेका लागि आव्हान गरिएको नेपाल बन्द फिर्ता लिन...

    फ्रान्सबाट तीन सय एअर बस किन्ने चीनको तयारी

    काठमाडौं । चीनले फ्रान्ससँग तीन सय वटा एअर बस किन्ने भएको छ । चीन र...