News Portal

  • ‘बम्जनले त्यो दिन विष्णुसँग २ पटक यौन सम्बन्ध राखेको मैले आफ्नै आँखाले देखेँ’

    संचारकेन्द्र संवाददाता
    ११२९५ पटक

    काठमाडौं । तपस्वी भनेर चर्चा कमाएका रामबहादुर बम्जनले हत्या र हिंसाले मानवको जगत्को कल्याण नहुने भन्दै हलखोरियाको जंगलमा पटकपटक धार्मिक प्रवचन दिए । करिब १० वर्षअघि तपस्यास्थल भनिएको हलखोरिया जंगलमा उनको प्रवचनलाई धेरैले सुने । उनको प्रवचनले हिंसाविरुद्ध लाग्न मानिसलाई उत्प्रेरित पनि गर्यो‍ ।

    पाँच वर्षमा लाग्ने गढीमाई मेलामा चढाइने पशुबलि आफैं उपस्थित भएर रोक्ने उनको उद्घोषले निकै चर्चा पायो । तर बली रोक्छु भन्दै जंगलबाट निस्किएका बम्जन तीन महिनासम्म बेपत्ता भएर युवतीसँग भेटिएपछि उनीमाथिको आस्था कम हुँदै गयो । त्यति मात्र नभई हिंसाविरुद्ध प्रवचन दिने बम्जन एक दशकयता पटकपटक यस्तै विवादमा तानिएपछि उनले तपस्यास्थल नै छाड्नुपर्यो‍ ।

    हिंसाविरुद्ध प्रवचन दिने बम्जनमाथि अहिलेसम्म बलात्कार, बन्धक, कुटपिट, बेपत्ता, तरबार प्रहार, किर्तेलगायत थुप्रै आरोप लागिसकेको छ । तपस्या भंग गर्न खोजेको भन्दै एक दशकअघि रतनपुरको एक स्थानीय युवालाई तरवार प्रहार गरेपछि विवादमा मुछिएका बम्जनलाई अहिले बाराका एक व्यक्तिलाई बेपत्ता पारेको उजुरी परेको छ ।

    तिनै बम्जनको वास्तविक चरित्र पर्दाफास गर्दै सेतोपाटी डटकमले उनकै आनी बनेर आश्रमा शोषणमा परेकी गंगामाया तामाङको भनाइ जस्ताको त्यस्तै प्रस्तुत गरेको छ । हेर्नुहोस् गंगामाया तामाङको बयान उनकै शब्दमा ।

    ‘म २०७१ साउन २८ गते बाराको हलखोरियामा रहेको रामबहादुर बमजनको आश्रममा गएँ। हजुरबुबा, हजुरआमा, बुबा र म गुरूको दर्शन गर्न त्यहाँ गएका थियौं। मेरा दुई जना भाइ पहिल्यैदेखि आश्रममा थिए।

    त्यस दिन हामी हलखोरिया जंगल बीचमा रहेको आश्रमको पूर्वी गेटबाट छिरेका थियौं। आश्रममा हामीलाई काचोप्पा भन्ने घरमा राखियो। त्यो आगन्तुक राख्ने ठाउँ हो। बमजनको आश्रमबाट काचोप्पा दुई किलोमिटरजति दूरीमा छ।

    भोलिपल्ट बिहान हामीले बमजनको दर्शन गर्न पायौं। बुबाहरूले निहुरेर दर्शन गर्नुभयो। त्यो सामान्य भेटघाट थियो।

    गुरूको दर्शनपछि मलाई बुबाले त्यहीँ छाडेर जानुभयो। खासमा मैले आफैं त्यहाँ बस्ने मन बनाइसकेकी थिएँ। अघिल्लो दिन आश्रमको गेटमा लिन आएको मेरो जुम्ल्याहा भाइ रामले भनेको थियो, ‘दिदी, तिमी यहीँ बस। तिम्रो भविष्य राम्रो हुन्छ। तिमीले घरमा दु:ख पाएकी छौ। यहाँ बस्यौ भने सजिलो हुन्छ।’

    भाइले भनेपछि मैले धेरै सोचेँ। मलाई पनि लाग्यो, त्यहाँ बसेपछि ज्ञान पाइन्छ। मेरो भविष्य राम्रो हुन्छ। आफ्नै खुट्टामा उभिन सक्छु। यति सोचविचार गरेर मैले बमजन आश्रममा बस्ने निधो गरेकी थिएँ।

    पहिलो दिन मलाई बमजन बस्ने घरको तल्लो तलामा राखियो। त्यो तलाका अरू सबै कोठामा केटाहरू थिए। बमजनका चेला। अर्को कोठामा म एक्लै बसेँ।

    केही दिनपछि मैले थाहा पाएँ, बमजनको आश्रम सिन्धुपाल्चोकमा पनि छ। त्यहाँ अरू पाँच जना केटी बस्छन्। त्यतिखेर विष्णु बल भन्ने बमजनकी सबैभन्दा पुरानो आनी र बमजनकी आफ्नै कान्छी बहिनी रिन्छेन्मो हेटौंडामा बस्थे। बमजनको एक जना अनुयायीको घरमा। केही समयपछि उनीहरू पनि हलखोरिया आए।

    बमजन सबै आश्रम घुम्थे। कहिले कहाँ गएर बस्थे, कहिले कहाँ। म हलखोरिया बस्दा उनकी श्रीमती दिपशिखाले कहिलेकाहीँ सम्झाउँथिन्, ‘माथि नजानू, गुरू रिसाउनु हुन्छ।’

    उनकी बहिनी रिन्छेन्मोले पनि मलाई माथि नजान भनेकी थिइन्। एकपटक दिपशिखा दिदी र म हेटौंडा गएका थियौं। आएपछि बमजनले एकदिन मलाई एकान्त पारेर सोधे, ‘भन् त, मेरो बूढीले तँलाई मेरो बारेमा के भन्यो?’ यस्तो प्रश्न किन सोध्यो होला भनेर मैले अचम्म मानेँ।

    हलखोरियामा हुँदा नै बमजनले मलाई अलिअलि जिस्क्याउन थालेका थिए। कहिलेकाहीँ ‘गंगा ल नाच् त, हेरम् कस्तो नाच्दो रैछस्’ पनि भन्थे। त्यसलाई मैले नराम्रो रूपमा लिइनँ। बुबाले भन्नुभएको थियो, ‘गुरू केटाकेटीसँग छिट्टै हेलमेल हुन्छ। केटाकेटीलाई मनपराउँछ। कहिलेकाहीँ गुरूले परीक्षा पनि लिन्छ।’

    २०७१ मंसिरमा हलखोरियाका स्थानीय थारू र बमजनका भक्तहरूको झगडा भयो। त्यसपछि ‘यहाँ केटीमान्छे सुरक्षित छैन, सिन्धुपाल्चोक गएर बस’ भन्ने आदेश आयो। त्यति बेला केटीहरू मात्र हैन, केही चेलाहरू पनि सिन्धुपाल्चोक सरे। दिपशिखाले हामीलाई सिन्धुपाल्चोक लगिन्।

    सिन्धुपाल्चोकको बडेगाउँस्थित टोड्केभीर भन्ने ठाउँमा आश्रम छ। माथि सडकबाट हिँडेर तल आश्रम पुग्न आधा घन्टाजति लाग्छ। आश्रम जंगलभित्र छ। सबैभन्दा तल बमजनको आश्रम छ। त्यसको केही माथि आनीहरू बस्ने घर छ। त्योभन्दा धेरै माथि करिब पाँच मिनेट दूरीमा चेलाहरू बस्न टिनले बारेको घर छ। माथिबाट हेर्दा बमजनको आश्रम देखिन्न। रूखहरूले छेकिन्छ।

    म सिन्धुपाल्चोकमा झन्डै डेढ-दुई वर्ष बसेँ। आनीहरू बस्ने आश्रममा बमजन पनि आउँथे। धेरैजसो साँझ र राति। पढ भन्थे। पढ्न ६० पेजको एउटा छेवै थियो- लामा भाषामा लेखिएको। हामी पालैसँग पढ्थ्यौं। मलाई लामा भाषा आउँदैनथ्यो। विष्णु बलले सिकाइन्। म तीन महिनामै लामा भाषा सिकेर त्यो किताब पढ्न सक्ने भएकी थिएँ। आश्रममा गुरुले पढाउने, प्रवचन दिने वा ध्यान गर्ने केही पनि हुन्नथ्यो।

    सिन्धुपाल्चोकमा सुरुमा हामी सात जना आनी थियौं- म, चुन्मो, डोल्मो, छोइमो, ज्योति, विष्णु र रिन्छेन्मो। हामीलाई बमजन र दिपशिखा दुवैको लुगा धुन, उनीहरूको घरको ब्ल्याङ्केट र गलैंचा धुन लगाइन्थ्यो। हामीमध्ये कति आनीहरूले भान्छाको काम पनि गर्नुपर्थ्यो। बिहान बमजन र उनकी श्रीमतीलाई नास्ता तयार गर्नुपर्थ्यो। त्यसपछि खाना बनाउनुपर्थ्यो। दिउँसोको खाजा र बेलुकी खाना पनि आनीहरूले नै बनाउँथे। भाँडाकुँडा माझ्ने, भान्छा सफा गर्ने लगायत काम सबै आनीहरूले नै गर्ने हो।

    बमजनले आनीहरूलाई टाउकोमा लठ्ठीले ट्वाक्कटुक्क हानिरहन्थे। लठ्ठीले जीउमा घोच्ने पनि गर्दा रहेछन्। मलाई पनि धेरैपटक त्यस्तो गरेका छन्। दुख्थ्यो, तर मैले सुरुमा नराम्रो सोचिनँ। मलाई कहिलेकाहीँ सबैका अगाडि जिस्क्याउँथे। दिदीहरूलाई त जीउमा, पिठ्युँमा छुने र प्याट्ट प्याट्ट हिर्काउने गर्दा रहेछन्।

    हामी सिन्धुपाल्चोकमै बस्दा दिपशिखा गर्भवती भइन्। बमजनले हामीलाई धेरै नै जिस्क्याउन थाले। मेरा गाला चिमोट्थे। शरीरमा छुन्थे। दिदीलाई नभन् है भन्थे। त्यति बेला म दिपशिखालाई दिदी नै भन्थेँ।

    एकदिन म उनीहरूको घरको बाथरूममा लुगा धोइरहेकी थिएँ। मलाई महिना र गते राम्ररी याद छैन। बमजन आए। मलाई पछाडिबाट शरीरमा छोएर ढेस्सिए। उनकी श्रीमती बाहिर थिइन्।

    ‘दिदीलाई भन्दिम्?’ मैले भनेँ। त्यहाँ म बोलेको सुनेर दिपशिखाले बाहिरैबाट सोधिन्, ‘गंगा के भयो?’ म केही बोलिनँ। भित्र आएर उनले मलाई झापड हानिन्। मैले झुट बोलेँ भनेर पिटेकी होलिन् भन्ने लाग्यो। मैले बमजनले जे गरेको थियो, त्यही भनिदिएँ। अर्को दिनको कुरा- चुन्मो र म बमजनको घरमा थियौं। दिपशिखा जँचाउन काठमाडौं गएकी थिइन्।

    बमजनले चुन्मोलाई भने, ‘जाऊ छोइमोलाई पठाइदेऊ।’ चुन्मो गइन्। साँझ पर्न लागेको थियो। म बैठकमा पर्दा लगाउँदै थिएँ। उनी त्यहीँ आए। आफ्नो ज्याकेट खोले। भित्र लगेर राखिदेऊ भने। मैले उनको सुत्ने कोठामा लगेर राखिदिएँ। उनी मेरो पछि पछि आएका रहेछन्। मलाई झ्याम्मै अंगालो मारे। त्यसपछि ओछ्यानमै लडाए।

    म खुब डराएँ। डरले काम्दै साह्रो रोइदिएँ। ‘पागल किन रोएकी? अरूलाई सुनाउन?’ उनले भने। उनले यसो भन्दा अंगालो खुकुलो भयो। म भागेँ। भागेर माथि आनीहरू बस्ने घरमा आएँ। म घर आएको आधा घन्टापछि होला, छोइमो पनि आइन्। उनले मलाई खाना खान जाऊँ, हिँड भन्यो। मैले जान्नँ भनेँ। उनी गइन् र धेरै बेर हराइन्। राति अबेर मात्र आइन्।

    मैले साँझ दिउँसोको त्यो घटना सम्झिएँ। फेरि बुबाले भनेको सम्झिएँ- गुरूले परीक्षा लिन्छ। मलाई पनि गुरुले परीक्षा लिएको होला भन्ने लाग्यो। बमजनलाई साह्रै नराम्रो सोचिनँ। तर, साँझको घटना मलाई निको लागेन।

    विष्णु र बमजनको ‘सम्बन्ध’ छ भन्ने दिपशिखाले मलाई सुनाएकी थिइन्। उनले सिन्धुली र सिन्धुपाल्चोकमा उनीहरूको सम्बन्ध आफैंले देखेको भन्थिन्। उनी त्यसमा विष्णुलाई नै दोष दिन्थिन्। बमजनलाई दिन्न थिइन्।

    त्यसको एक-दुई महिनापछिको घटना होला। आश्रमको घोडा मर्यो। केही चराहरू पनि मरे। बमजनकी श्रीमतीलाई वान्ता हुन थाल्यो। उनले विष्णु बललाई आरोप लगाइन्। विष्णुले तन्त्रमन्त्र गरेर यस्तो भएको भनिन्। त्यही आरोपमा विष्णुलाई कुटिन्। दिपशिखाको आदेशमा पाँच-छ जना चेलाले पनि विष्णुलाई पिटे। मलाई पनि दिपशिखाले त्यसलाई पिट् भनिन्। मैले पनि पिटें। विष्णुलाई लट्ठीले जिउ, ढाड, खुट्टा सबैतिर पिटें।

    एकदिन म र चुन्मो बमजनको घरमा काम गर्न गएका थियौं। त्यहाँ बमजन, उनकी श्रीमती र बहिनी रिन्छेन्मो थिए। हामी पिँढीमै बसेका थियौं। एकछिनमा तलबाट छोइमो आइन्। उनले तल मात्रै लुगा लगाएकी थिइन्। कम्मरमाथि त नाङ्गै।

    चुन्मो र मैले उनलाई समातेर भित्र लग्यौं। लुगाले उनको आङ छोपिदियौं। घर ल्याएर लुगा पनि लगाइदियौं। किन त्यसरी नाङ्गै आएको भनेर पिट्यौं। किन त्यसो गरेको भनेर सोध्यौं।

    उनले भनिन्, ‘मलाई गुरूले कपडा फुकालेर आइज भनेको हो।’ हामी अचम्म पर्यौं। त्यसको केही बेरमा बमजन आनीहरू बस्ने ठाउँमै आएर मलाई सोधे, ‘गंगा तिमीले सबै देख्यौ?’ उनी अलिअलि मुस्कुराएका थिए। मैले भनेँ, ‘देखेर तपाईंलाई के भो त?’

    भोलिपल्ट उठ्दा छोइमो आश्रममा थिइनन्। हामीले जताततै खोज्यौं। नभेटेपछि बमजनलाई भन्यौं, ‘गुरू छोइमो त छैन।’ उनी केही बोलेनन्। पछि ‘तिमीहरू सबै मिलेर खोज’ भन्ने आदेश दिए। सबैले खोज्दा पनि छोइमो भेटिएनन्। नभेटिएपछि बमजनले चुन्मो र डोल्मोलाई चेलाहरूको आँगनमा बोलाए र भने, ‘तिमीहरूले नै छोइमोलाई भगाएको हो।’

    उनीहरूले ‘होइन’ भने। उनले दुवैलाई थप्पड हाने। बोक्सीको आरोप लगाए। चेलाहरूलाई कठबाँस लौरो र तेलमा तताएको बाँसको लौरो ल्याउन भने। त्यसैले उनीहरूलाई पिट्न आदेश दिए। कसैले लौराले पिटे। कराँते सिकेका कतिपय चेलाले उफ्रिँदै लात्ता हाने।

    चुन्मो र डोल्मो चिच्याए। रुन-कराउन थाले। चुन्मोले त रगतै छादिन्। वरिपरि गाउँका मानिसले उनीहरू चिच्याएको नसुनुन् भनेर कतिपय चेलालाई बमजनले लामा बाजा जोडतोडले बजाउन लगाए।

    दुवैलाई पिटिराख्नू भनेर बमजन तल गए। म पनि हेर्न नसकेर तल आएँ। दर्जन केटाहरूको घेराबाट भागेर डोल्मो बमजन भए ठाउँ आइन्। हामीले केही गरेको छैन गुरू भन्दै बिन्ती गरिन्। बमजनले उल्टो ‘घोडा पनि मारिस्, सुगा पनि मारिस्’ भन्दै डोल्मोलाई गाली गरे। त्यो बेला हामी सबै बिरामी थियौं। मेरो खुट्टा सुनिएको थियो। दिपशिखा दिदी पनि बिरामी थिइन्।

    बेलुकी बमजनले डोल्मो र चुन्मोलाई भित्र भगवान कोठामा लगे। त्यहाँ लगेर ‘तिमीहरूले को-कोसँग यौन सम्पर्क राख्यौ’ भन्दै सोधे। कतिवटा भूतप्रेतको मन्त्र बोकेको छ भनेर सोधे। त्यस रात उनीहरूलाई निकै अबेर मात्र छाडियो। विष्णुले उनीहरूको जीउ मालिस गरिदिइन्। हामी त्यो रात अबेर सुत्यौं।

    उनीहरूलाई अर्कै कोठामा थुनेर राखिएको थियो। भोलिपल्ट बिहान उनीहरू त्यहाँ थिएनन्। हामीले त्यसपछि उनीहरूलाई कहिल्यै देखेनौं।चुन्मोको घर कहाँ हो मलाई थाहा छैन। चुन्मोबाहेक उनको अरू नाम छ कि छैन भन्ने पनि थाहा छैन। डोल्मो मकवानपुरको हो। घरमा उनलाई पासाङ भनेर बोलाउँथे रे। थर भने रूम्बा हो।

    धेरैपछि डोल्मोका बुबाआमा आश्रम आएका थिए। आफ्नी छोरी खोज्दै। निरबहादुर तामाङ भन्ने बमजनको अनुयायीले डोल्मो त्यहाँबाट भागी भनिदियो। उनीहरू फर्के।

    उनीहरू हराएको १५ दिनपछिको कुरा हो। म बमजनकी श्रीमतीको खुट्टा मालिस गर्दै थिएँ। विष्णु भान्छामा थिइन्। बमजन बाहिर थिए। उनले हामीलाई बोलाए। म, ज्योति र रिन्छेन्मो बाहिर निस्कियौं।

    छोइमो पो आएकी रहिछन्। पन्ध्र दिनपछि कहाँबाट आयो है भनेर हामी छक्क पर्‍यौं। बमजनले ‘कहाँ गएको थिइस्’ भनेर उनलाई पिटे। भोलिपल्ट बिहान पनि पिटे। किन हो कुन्नी छोइमोले बमजनकी श्रीमतीलाई झम्टिइन्। त्यो बेला बमजनले तरबार उज्याए। धन्न उनकी बहिनी रिन्छेन्मोले रोकिन्।

    त्यसपछि उनले बेतको लौरोले छोइमोलाई पिटे। छोइमोलाई पिट्दै, के के भन्न लगाउँदै उनी बोलेको भिडियो बनाए। बमजनले सोधे, ‘१५ दिन कहाँ गएकी थिइस्?’ ‘मलाई डोल्मो र चुन्मोले पठाएको हो,’ छोइमोले भनिन्।

    फेरि बमजनले सोधे, ‘तँलाई यहाँ कसले पठाएको?’ ‘प्रेम दोर्जे र ज्ञान सागरले पठाएको थियो। म तपाईंलाई मार्न आएको’ पो भनिन् छोइमोले त।प्रेम दोर्जे र ज्ञान सागर भनेका हलखोरियामा तपस्या गर्ने ठाउँ नजिकै गुम्बाका लामा हुन्। बमजन र उनीहरूको राम्रो सम्बन्ध छैन भन्ने सुनेकी थिएँ मैले।

    ‘कति पैसा दिएको थियो?’ भनेर सोध्दा छोइमोले भनिन्, ‘एक खरब दिन्छु भनेको थियो। त्यहाँ गएर मारिनस् भने तैंलाई मारिदिन्छु भनेपछि म यहाँ आएको हो।’ ‘तैले यहाँ के के देखिस्,’ फेरि बमजनले सोधे। ‘गुरू राम्रो मान्छे हो। यहाँ सबै राम्रो कुरा सिक्न पाइँदो रहेछ,’ छोइमोले भनिन्।

    भिडियो रेकर्ड गरिसकेपछि उनले छोइमोलाई छाडिदिए। उनको शरीरभरि घाउ थिए। हामीले नै उनलाई दबाई लगाइदियौं। नुनपानीले सेक्यौं।त्यसको १५/२० दिनपछि भने दाजुलाई बोलाएर छोइमोलाई सँगै पठाइयो। सिन्धुली जिल्ला, मरिन गाउँ हो उनको घर। घरको नाम भने लामीन थियो रे।

    पछि दिपशिखा दिदीले नै मलाई भनिन्, ‘छोइमोले एकदिन मसँग आएर गुरूले मलाई बलात्कार गर्‍यो भनेकी थिई।’ छोइमोले त्यसो भनेपछि रिन्छेन्मो (बमजनकी बहिनी) ले उनलाई पिटिछन्। चुन्मो र डोल्मो गायब भएपछि र छोइमोलाई घर पठाएपछि ज्योति आनी र मैले चेलाहरूलाई खाना पकाउन थाल्यौं। बमजनलाई त विष्णुले नै खाना पकाउँथिन्।

    छोइमो गएको एक महिनाजति पछि २०७२ वैशाख ८ गते रिन्छेन्मोले आएर मलाई भनिन्, ‘गंगा तिमी यहाँ नबस। तिम्रो जिन्दगी राम्रो हुन्न यहाँ। म त जान लागेको तिमी पनि हिँड।’

    रिन्छेन्मो बमजनकी बहिनी भएको र बमजनकै घरमा बस्ने भएकाले सायद उनलाई बमजनको धेरै कुरा थाहा थियो। तर, मेरा दुई भाइ आश्रममै थिए। मलाई उनीहरूको माया लाग्यो। त्यहाँ उनीहरूलाई देख्न पाउँथेँ। घर गए उनीहरूबारे थाहै पाउन्नथेँ। म जान मानिनँ। भोलिपल्ट रिन्छेन्मो र ज्योति त्यहाँबाट भागे।

    उनीहरु भाग्नु केही दिनअघि राजकुमारी भन्ने बमजनकी अर्की दिदी पनि आश्रममा आएकी थिइन्। उनी त्यहाँ केही दिन बसेर गएकी थिइन्। उनी गएको केही समयमै रिन्छेन्मो पनि भागेकी हुन्।

    उनीहरू भागेको दिन बमजनकी श्रीमती बिरामी भएकी थिइन्। बोल्न पनि सक्थिनन्। हामी जाँदा सुतेकी थिइन्। हामी गएपछि मलाई पानी ल्याउन भनिन्।

    त्यो दिन मैले बमजनले विष्णुसँग यौन सम्बन्ध राखेको आफ्नै आँखाले देखेँ। मैले देखेको थाहा पाएर उनीहरू छुट्टिए। त्यो दिन मैले दुईपटक देखेकी थिएँ उनीहरूलाई।

    गर्भ बसेपछि बमजनले आफ्नी श्रीमतीलाई माइती दार्जिलिङ गएर बस्न भनिरहन्थे। उनले मानिनन्। दिदीलाई बिमारीले च्याप्दै लग्यो। उनलाई स्ट्रेचरमा हालेर काठमाडौंको ओम अस्पताल लगियो।

    दिपशिखा दिदी गएको केही दिनको कुरा हो। म भान्छामा काम गरिरहेकी थिएँ। बमजन आए। उनले सिधै मेरो घाँटी समाते र दराजमा ढेस्याए। किस गर्न मुख नजिकै ल्याए। मैले हुत्याइदिएँ। मैले नजिकै जे समान देखेँ, त्यसैले हिर्काएँ। दराज फुट्यो।

    त्यस दिनदेखि उनी मलाई नराम्रा शब्दहरूले गाली गर्न थाले। उनी जसरी गाली गर्थे, मैले त्यसरी नै फर्काउन थालेँ। उनले मलाई मेरा भाइ र अरू चेलाहरूका अगाडि इज्जत-बेइज्जत पार्थे। गंगाले गुरूलाई टेर्दैन भन्दै कुरा लगाउँथे।

    चौध दिनपछि उनकी श्रीमती आइन्। दराज कसले फुटायो बनेर सोधिन्। बमजनले ‘गंगाले फुटाएको’ भने। मैले भन्दिएँ, ‘ए मैले फुटाएको? तैंले मलाई घाँटी समाएर त्यहाँ ढेस्साएको हैन? मलाई किस गर्न खोजेको हैन?’ उनले जे गरेको हो त्यही भन्दिएँ। बमजनलाई त्यो दिन मैले ‘तँ’ नै भनेँ। तपाईं-सपाईं भनिनँ। मेरो कुरा सुनेपछि बूढाबूढी खुब बाझे।

    दिपशिखाले काठमाडौंबाट फर्किंदा आफ्नी सानीमाकी छोरी पनि सँगै ल्याएकी थिइन्। बमजनले उनलाई पनि आँखा लगाएछन्। बहिनीलाई यहीँ राख भनेर बूढीलाई भनेको भन्यै गर्थे। दिपशिखाकी सानिमाको छोरीको थर पनि बमजन नै थियो।

    दिपशिखाले ‘बमजन हो, नाता पर्छ, आँखा लगाउन मिल्दैन’ भनिन्। बमजनले भने, ‘नजिकको बमजन पो हुन्न। टाढाकोसँग केही हुन्न।’ त्यसपछि दिपशिखाले बहिनीलाई घर पठाइदिइन्।’

    बहिनी गएपछि फेरि बमजनले श्रीमतीलाई ‘दार्जिलिङ जाऊ’ भन्न थाले। उनीहरू दिनदिनै झगडा गर्थे। विष्णुले कहिल्यै उनीहरूलाई छुटाउने, सम्झाउने गर्थिनन्।

    हामीले २०७३ सालमा सिन्धुपाल्चोक छाड्यौं। सर्लाहीको पत्थरकोट गयौं। बमजनको छोरा जन्मिसकेको थियो। म, विष्णु र नयाँ आएकी आनी रितालाई बमजनको छोरा हेर्ने काम थपियो।

    बमजनले आधाजति चेलाहरू सिन्धुपाल्चोकमै छाडेका थिए। आधा पत्थरकोटमै ल्याए। मेरो सानो भाइ धावा सिन्धुपाल्चोकमै छुट्यो। रामलाई भने सर्लाही ल्याए।

    आनीहरूलाई त जुन आश्रममा गए पनि कामै हो। धेरै काम गर्नुपर्थ्यो। काम बिग्रे पिटाइ खानुपर्थ्यो। केटासँग बोल्दा नराम्रो मान्थ्यो।बमजमका चेला वीरमानलाई म दाइ भन्थेँ। उहाँसँग नजिक थिएँ। बमजन ‘किन उसलाई दाइ भनिस्’ भन्दै थर्काउँथे। उसँग किन बोलिस् भनेर कराउँथे।

    हामी पत्थरकोटमै हुँदा बमजनकी श्रीमती दिपशिखा काठमाडौं गएकी थिइन्। विष्णु पनि उनीसँगै गइन्। पत्थरकोट आश्रममा म र रिता मात्रै भयौं। बमजनलाई खाना पकाएर खुवायौं।

    उनको घर र भान्छाबीच आँगन थियो। रिता र म भान्छाको भुइँमै सुत्यौं। सुतेको केही समय भएको थियो। त्यही आँगनबाट बमजनले ‘गंगा बाहिर आऊ त’ भन्दै बोलाए। म त केही भएछ क्यारे भनेर उठेँ। रिता बहिनी निदाइसकेकी थिइन्।

    म आँगनमा निस्किएकी के थिएँ, बमजनले मेरो हात च्याप्प समाते। तानेर आफ्नो घरतिर लगे। म चिच्याउन खोजेँ, मुख थुनिदिए। फुत्किन खोजेँ, सकिनँ। किन हो, बमजन त्यसदिन धेरै बलिया थिए।

    उनले मलाई घिसार्दै घरमा लगे र बलात्कार गरे। मैले न प्रतिकार गर्न सकेँ, न बोल्न। पछि मलाई धम्की पनि दिए, ‘यो कुरा मेरो बूढीलाई भनिस् भने पिटी पिटी मार्छु।’दुई दिनपछि दिपशिखा दिदी काठमाडौंबाट आइन्। मैले उनलाई केही भन्नै सकिनँ। डराएँ।

    त्यसको दुई महिनापछि विष्णु र म उपचार गर्न काठमाडौं गयौं। एकदिन दिपशिखाको फोन आयो। उनले अकस्मात् मलाई सोधिन्, ‘गुरूसँग ‘त्यस्तो’ सम्बन्ध राखेको हो?’

    मैले सुरूमा ‘हैन’ भनेँ।बमजनकी श्रीमतीले मलाई फोनमै सम्झाइन्, ‘केही भएको भए भन्नू। केही हुन्न। फेरि पछि तिमीलाई नै नराम्रो हुन्छ।’मैले सबै कुरा भनिदिएँ। विष्णुलाई उनको दाइको घर छाडेर पत्थरकोट आऊ भनिन्। म पत्थरकोट पुगेँ। दिपशिखाले मलाई देख्नेबित्तिकै भनिन्, ‘तँलाई अर्काको बूढासँग सुत्न लाज लाग्दैन? किन कुरा लुकाइस्?’

    मैले पनि मुख फर्काएँ, ‘तेरो बूढाले कसैलाई नभन्न धम्की दिएको थियो।’ त्यसपछि उनी चुप लागिन्।

    बमजनले केही समयपछि दिपशिखालाई ‘गंगालाई अस्पताल लगेर जाँच गर्, प्रेग्नेन्ट छ कि छैन पत्ता लगा’ भनेर कचकच गर्न थाले। दिपशिखा र म लालबन्दी गयौं। उनले मलाई बाटोमा त्यो दिन के भएको थियो भनेर सबै कुरा सोधिन्। मैले सबै बताएँ। हामी उपचार नगरी फर्क्यौं। बरू उनले आफ्नो उपचार गराइन्।

    बमजन र दिपशिखा दिनैजसो झगडा गर्थे। म उनीहरूको भान्छा र घरको काम गर्थें। उनीहरूको झगडा दिनै देख्थेँ। झगडाको मूल कारण आनीहरू थिए। बमजन आफ्नी श्रीमतीसँग भन्थे, ‘कि मलाई आनीहरूसँग सम्बन्ध राख्न खुल्लम् खुला छाड्दे। कि त मेरो काम गर्न भनेर कसैलाई राखिदे।’

    मसँग सिन्धुपाल्चोकदेखि नै बसेकी रिता बहिनी थिइन्। उनलाई पनि हात हाल्थे बमजनले। उनी सानी थिइन्। बमजन भन्थे, ‘यो अहिले पो सानी छे। ठूली भएपछि कहाँ छोड्छु यसलाई।’ मलाई त्यो बेला खुब रिस उठ्थ्यो। रिता आनीलाई कसैगरी पनि उनको पन्जामा जान दिन्नँ भन्ने अठोट थियो मेरो।

    २०७३ माघ महिनामा धेरै नयाँ केटीहरू आनी बन्न आश्रममा आए। कतिपय आनीहरू बमजनको भान्छामा खाना बनाउन आउँथे। त्यो बेला म उनीहरूलाई ‘आनी बस्नुभन्दा नबसेको राम्रो’ भनिदिन्थेँ। उनीहरू कुरा बुझ्दैनथे। २०७३ सालको चैतमा बुङमतीमा ठूलो सभा भएको थियो। त्यो सभामा सबै नयाँ आनीहरूलाई ल्याइयो। मलाई र रितालाई भने ल्याइएन। आश्रम हेर्नुपर्छ भन्दै उतै छाडियो।

    त्यो सभा सकिएको एक महिनापछि सैलुङ भ्रमण जाने कुरा चल्यो। फर्पिङ हुँदै हामी आएका थियौं। फर्पिङमा एउटा रिसोर्ट छ नि। त्यो रिसोर्टमा हामी बस्यौं। उनी माथिपट्टि रूममा थिए। हामी तल्लो तलामा थियौं। बमजन बिहानै हामीसँग नराम्रो बोलेर दिन सुरू गर्थे। आफ्नी श्रीमतीसँग मलाई ‘त्यस्तो’ गर्न मन भयो, कुनै आनी फकाइदे भन्दा रहेछन्।

    त्यो बेला मलाई केही काम छ भनेर माथि बोलाए। उसो त हामी उसको छेउ पर्दैनथ्यौं। काम नै छ भनेपछि जानुपर्यो। ऊ बेडमा ढल्केका थिए। इसाराले नजिक बोलाए। डरले म हतारहतार फर्किएँ।

    हामी दोलखा, चरिकोट हुँदै सैलुङ गाउँ पुग्यौं। त्यहाँको एउटा घरको माथिल्लो तलामा बस्यौं। पुगेको अर्को दिन बिहान कौसीमा म दिपशिखाको कपाल बाट्दिँदै थिएँ। पछाडिबाट आएर बमजनले मलाई चलाए।

    मैले पनि मुख छाड्दिएँ। त्यो बेला त म बमजनसँग राम्रो बोल्न छाडिसकेकी थिएँ। ‘तैंले मलाई मुख छाड्ने हो?’ उनी रिसाए। ‘तैंले मलाई किन हात हालिस् त?’ मैले ओठेजवाफ दिएँ। त्यसपछि फेरि उनले मलाई पिटे। उनकी श्रीमतीले गाली गरिन्। भनिन्, ‘पिट्नलाई यही गंगा मात्र छ?’

    उनले रामेछाप पुगुन्जेल त्यहाँको कुरा झिकेर निहुँ खोजिरहे। मैले भन्दिएँ, ‘तैंले मलाई राम्रो गरे पो म पनि राम्रो व्यवहार गर्छु।’ सर्लाहीमा भएका बेला म एकपटक टाइफाइड भएर सुतेकी थिएँ। बमजन मेरो कोठामा आए। त्यस्तो बेला पनि सम्बन्ध राखौं पो भने। मैले हुन्न भनेँ।

    २०७४ वैशाख महिनामा मैले सबै नयाँ आनीलाई बमजनका बारेमा भनिदिएँ। म उनीहरूलाई सतर्क गराउन चाहन्थेँ। कतिले पत्याए। कतिले पत्याएनन्। उनी पछि सिन्धुली फर्किए। सिन्धुलीबाट बेलाबेला मलाई फोन गर्थे। आनीहरूलाई फकाएर मेरोमा ल्याऊ भन्थे।

    म ‘तेरो बानी अझै सुध्रेको छैन है?’ भन्दिन्थेँ। त्यसै बेलातिर हो, दिपशिखा दिदीको खुट्टा भाँचियो। पछि बुझ्दा पो थाहा भयो, सिन्धुलीमा बमजनले नै हाँकेको गाडीले श्रीमतीको खुट्टा किचिदिएको रहेछ। दिपशिखा दिदीलाई काठमाडौंको मेडिसिटी अस्पतालमा उपचार गर्न ल्याइएको थियो। उनी एक महिना अस्पतालमै बसिन्।

    त्यो बेला पनि बमजन मलाई फोन गरेर आनीहरू फकाइदे भन्दै तनाव दिइरहन्थे। त्यसै वर्ष पुस-माघमा हामी सिन्धुलीको आश्रम सर्यौं। त्यहाँ पनि उनले मलाई आनीहरू फकाईदे भनेर ‘टर्चर’ दिइरहे। मसँग रिसाएर कहिले चप्पल लगाउन दिँदैनथे, कहिले स्वेटर।

    उनकी श्रीमती दिपशिखा अब काठमाडौं बस्ने कुरा चल्यो। छोरालाई पढाउन। उनको स्याहार गर्न केही काठमाडौं जानुपर्ने भयो। बमजनले मलाई नै काठमाडौं जान दबाब दिए। कि काठमाडौं जा कि फर्केर घरै जा भन्न थाले।

    मैले जान्नँ भनिदिएँ। नयाँ र कलिला आनीहरूलाई उनले आँखा लगाएका थिए। म उनीहरूलाई जोगाउन चाहन्थेँ।

    एकदिन म खाना खाँदै थिएँ। फेरि मलाई काठमाडौं पठाउने कुरा निकाले। उनले मलाई टाउकोमा लाग्ने गरी टमाटरले हाने। मलाई झोक चल्यो। भन्दिएँ, ‘तैंले नयाँ आनीहरूलाई ताकेको छस्। यी आनीहरूलाई मलाई जस्तो गर त, अनि थाहा हुन्छ म तँलाई के गर्छु!’

    उनले भने, ‘यो चाहिँ खतरा निस्कियो।’ यता उनकी श्रीमतीको सेवा गर्न विष्णु, रेवती र सिर्जना काठमाडौं गए। म, कमली र जमुना सिन्धुलीमै बस्यौं। बमजनले यी आनीहरूलाई जे पायो त्यही गर्छ कि भन्ने मलाई सधैं डर हुन्थ्यो।

    सर्लाहीबाट पछि सीता घलानलाई पनि मैले सिन्धुली ल्याएँ। बमजनले तेरो साथी सीतालाई ‘त्यस्तो’ काम गर्न मकहाँ पठाइदे भन्थे। मैले सुने-नसुन्यै गरेँ।

    उनले धेरै किचकिच गर्न थाले। सल्लाह गरेर बमजनलाई नसोधी हामी चारै जना केटी सर्लाही गयौं। सबै आनी सर्लाही गएको थाहा पाएपछि उनकी श्रीमती काठमाडौंबाट सिन्धुली आएछन्। हामी सबैलाई बोलाइन्। हामी १४ जनै आनी गयौं। उनी काठमाडौं फर्किन्।

    एकदिन बमजनले आफैं कमलीलाई भान्छामा काम गर्ने प्रस्ताव राखे। उनले सिन्धुलीको नयाँ घरको जिम्मेवारी सबै कमलीलाई दिन्छु भने। कमलीले मानिनन्। रिसाएर त्यो रात १२ बजेसम्म हामीलाई उनले बाहिरै राखे।

    सोझी, सानी र पातली केटीहरूलाई फकाएर बमजन भान्छामा राख्न खोज्थे। मैले एकदिन साथीहरूलाई जम्मा पारेर बमजनको भान्छामा कोही नबसे हुन्छ भन्दिएँ। खासमा सिर्जना भन्ने आनी बस्न राजी थिइन्। उनैलाई सुनाउँदै मैले भनेँ, ‘तिमीहरूलाई के थाहा छ, त्यहाँ के हुन्छ? म त यहाँ यसको कति सहेर बसेको छु।’

    बमजनले भने उनलाई ‘गंगाको कुरा नसुन्नू’ भनेका रहेछन्। वैशाख अन्तिम सातातिर होला, उनले मलाई बोलाए। सम्झाए, धम्क्याए। मैले मुखमुखै भनेँ, ‘तैंले फेरि बदमासी गरेको देखेँ भने छाड्दिन।’ त्यसपछि रिसाएर उनले मैले पकाएको खाना खाएनन्।

    जेठ ६ गते फेरि उनले सबैलाई बोलाएर भने, ‘तिमीहरू सबै सर्लाही जाओ। गंगा आफ्नो घरै जा, आश्रममा बस्नुपर्दैन। उसलाई सहयोग गर्नेहरू उसैको पुच्छर लागेर जाओ। मलाई विश्वास गर्ने आश्रममा बस।’

    मैले जवाफ दिएँ, ‘मेरो गल्ती के छ र म आश्रम छाडेर जाने? म घर जानलाई मेरो जीउ पहिलेको जस्तै बनाउन सक्छस् तैंले?’ मेरो साथी सीताले पनि ‘गंगाको केही गल्ती छैन, ऊ किन घर जाने?’ भनिन्। जमुनाले पनि बोलेपछि बमजनले ‘धेरै बोल्छस्’ भनेर दुवैलाई पिटे।

    ‘मेरो साथीलाई किन पिट्छस्?’ भन्दै म चिच्याएँ। त्यो सिन्धुलीको हलमा भएको घटना हो। सबै आनीहरू त्यहीँ थिए। वरिपरि झ्यालमा चेलाहरू थिए। सबैका अगाडि मैले बमजनको पोल खोलिदिएँ। मैले भनिदिएँ, ‘यो भगवानको ठाउँ हैन, रण्डीखाना हो। बम्बैको वेश्यालयभन्दा खत्तम ठाउँ हो।’

    बमजनले मेरो टाउकोमा मुड्की बजारे। म त्यहीँ ढलेछु। वीरमान दाइले जोगाउनुभएछ। बमजनले उहाँलाई पनि पिटेछन्। केही समयपछि म ब्यूझिएँ। सबै आनीहरू रोई, चिच्याई गरिरहेका थिए। बमजनले मुख थुनेर मलाई तान्दै भित्र लगे। मैले उनको मुख चिथोरिदिएँ। कपाल लुछिदिएँ।

    खासमा सबैका अगाडि पोल खुलेकाले बमजन अत्तालिएका थिए। उनले मलाई भित्र लगेर आफ्नी श्रीमतीलाई फोन लगाए। ‘गंगाले सबैका अगाडि पोल खोलिदियो, आइज’ भने।

    यो दिउँसोको घटना थियो। त्यसै साँझ ४/५ बजेतिर दिपशिखा आइपुगिन्। उनी मणि लामा (पूर्व स्वास्थ्य राज्यमन्त्री) को कारमा आएकी थिइन्। दिपशिखासँग उनकी आमा पनि थिइन्। त्यसपछि सबै आनीहरूलाई भान्सामा जम्मा हुन भनिन्।

    दिपशिखाले सबै आनीहरूलाई राखेर भनिन्, ‘गुरूको दुर्व्यवहार गर्ने नराम्रो बानी छ। उसले सिन्धुपाल्चोकमा छोइमो, डोल्मो र पाल्छेन्मो (विष्णु बल) लाई पनि त्यस्तो गरेको थियो। गंगालाई पनि त्यस्तो गरेको थियो। त्यही भएर गंगाले तिमीहरूलाई कति सम्झाउन खोजेको हो। तिमीहरू सचेत हुनू। गुरूको अगाडि एक्लै नजानू। समूहमा मात्रै जानू। राति एक्लै नहिँड्नू।’

    भोलिपल्टै दिपशिखाले हामी सबै आनीहरूलाई तल सर्लाही पठाइन्। बमजनको कर्तुत उनकै श्रीमतीको मुखबाट थाहा पाएपछि साता दिनभित्र पाँच जना आनी आश्रमबाट भागे। पछि थप पाँच जना पनि भागे।

    उनीहरूले मलाई पनि भागौं भनेका थिए। मैले त्यो बेला यहीँ बसेर बमजनसँग लड्नुपर्छ भनेँ। सबै चेलाहरूलाई पनि उनको कर्तुत भन्नुपर्छ भनेकी थिएँ। आनीहरू भागेको थाहा पाएपछि बमजनले त्यसको दोष मलाई नै लगाए। गंगाले आनीहरूलाई भगायो भने। बाँकी हामीलाई फेरि सिन्धुली नै बोलाइयो। हामी गयौं।

    त्यहाँका धेरै चेलाहरूलाई बमजनको व्यवहारबारे थाहा थिएन। चेलाहरूको घर बमजन बस्ने घरभन्दा टाढा थियो। बमजनको घरमा केही चेलाबाहेक अरूलाई आउन मनाही थियो। बोलाउँदा मात्र उनीहरू आउन पाउँथे। त्यसैले, धेरैलाई बमजनले हामीलाई गरेको दुर्व्यवहारबारे थाहा थिएन।

    एकदिन बमजनका बारेमा मैले कायस्पा भन्ने चेलालाई भनेँ। छोरीमान्छेलाई गुरूले राम्रो व्यवहार गर्दैन भनेँ। बेलुकी ९ देखि १२ बजेसम्म उनीसँग हाम्रो कुरा भयो।

    बमजनको नजिकका चेला तोप्चेनलाई पनि मैले उनको दुर्व्यवहारबारे बताएँ। उनले त मलाई उल्टो ‘किन सबै साथीका अगाडि यस्ता कुरा गर्नुहुन्छ?’ पो भने। तोप्चेनले मलाई सल्लाह दिए, ‘गुरूको अझै सेवा गर्नू।’ मसँग सीता पनि थिइन्। सीताले जवाफ दिइन्, ‘त्यसो भए तपाईंको बहिनी ल्याएर सेवा गराउनू न त!’

    ‘बढी नबोल्नू है,’ तोप्चेनले भने। त्यसपछि मैले नै उनलाई भनेँ, ‘ल ठीक छ, मलाई गरेको दुर्व्यवहारबारे म बोल्दैन रे। तर, भोलि नयाँ आउने आनीहरूलाई पनि मलाईजस्तै गरे भने उनीहरू त बाहिर जान्छ। कुरा बाहिर जान्छ, अनि यहाँ रगतको खोलो बग्छ।’

    पछि हामीले अरू चेलाहरूलाई पनि भन्यौं। कतिले पत्याए। कतिले पत्याएनन्। कतिले त बमजनलाई नै कुरा लगाएछन्। त्यसपछि आनीहरूलाई झनै कडाइ हुन थाल्यो। कोठामै थुनेर राख्न थालियो। भात त्यहीँ ल्याइदिन थाले। हाम्रो पछाडि जासुस पनि लगाउन थालियो।

    एकदिन राति १२ बजेतिर होला, बमजन र उनकी श्रीमती हामी सुतेको ठाउँमा आए। दिपशिखाले मेरो सबै शरीर छामिन्। मैले शरीरमा सानो चक्कु लुकाएर राखेकी थिएँ।

    यो के हो भनेर सोधिन्। मैले भनेँ, ‘चक्कु हो, देख्नुभएन? मेरो ज्यान खतरामा छ, त्यसैले बोकेको।’ त्यो रात ठूलो झरी परेको थियो। मलाई बाहिर पठाए। एकछिनमा फेरि बमजनले भित्र बोलाए। सुटकेस खोल्न लगाए। सुटकेसबाट सबै सामान भुइँमा झारेर हेरे। हामीलाई झन् झन् ‘टर्चर’ दिन थाले।

    मैले एकदिन बमजनलाई भनेँ, ‘तैंले आश्रम छाडेर जा भनेको हैन? मेरो बुबालाई बोला म जान्छु।’ उनले बुबालाई बोलाएनन्। कति दिन कोठामा थुनिएर बस्नु? हामीले भाग्ने योजना बनायौं। राति बाहिरको अवस्था के हुन्छ भनेर बुझेको त, त्यहाँ जता पनि केटाहरू हुने रहेछन्। हामीलाई जतिखेरै पहरामा राखिएको रहेछ।

    भाग्न पनि नपाएपछि निकै तनाव भयो। २०७५ असार २० गतेको कुरा हो। हामी केही साथीहरूले सल्लाह गर्‍यौं, ‘यहीँ मरिदिउँ। त्यसपछि यसको कर्तुत बाहिर आउँछ।’

    सीता, म र सरिता मर्न तयार भयौं। हामीले डोरी खोज्यौं। बाहिर झुन्डिने कुरा भएन, घरभित्रै झुन्डिने तयारी गर्यौं। घरको छानाको बाँसमा मैले डोरी अड्काएँ। सीताले पनि अड्काइन्। अन्तिममा सरिता डराइन्।

    सीता हाम्फालिन्। बाँस भाँच्चिएर भुइँमा झर्यो। मैले उनी मरिन् भन्ठानेँ। म पनि हाम्फालेँ। म झुन्डिएको सिर्जनाले देखिछन्, उनले मेरो खुट्टामा समातेर उचालिछन्। चेलाहरू हारगुहार गरेर मलाई बचाइछन्।

    म केही बेर बेहोस भएँ रे। पछि बमजन र उनकी श्रीमती पनि आएछन्। मलाई दिपशिखाले एक झापड हानिन्। त्यो झापड खाएपछि बल्ल म ब्यूँझिएँ। ‘तिमीहरूले किन यस्तो गरेको? हाम्रो इज्जत फाल्न?’ दिपशिखाले सोधिन्।

    सीताले उत्तर दिइन्, ‘तेरो बूढालाई कहिलेसम्म जोगाउँछस्? एक न एक दिन त सबै कुरा बाहिर आइहाल्छ।’ ‘बढी बोल्छस्’ भन्दै हामी दुवैलाई दिपशिखाले कुटिन्। मैले उनलाई भनेँ, ‘तैंले कलममा भिर्ने सिसी क्यामरा ल्याउँछु। त्यसबाट प्रमाण राखेर बूढाको सबै पर्दाफास गर्नुपर्छ भन्या हैन?’

    मलाई एकपटक फकाउँदा दिपशिखाले त्यसै भनेकी थिइन्। त्यो दिन भने ‘गंगा पागल भैसक्यो’ भनिन्। त्यसपछि उनीहरूले सीता र मेरो बुबालाई बोलाए। हामीलाई असार २२ गते घर फर्काइदिए। घर फर्काउँदा त्यहाँको नगरपालिका अध्यक्ष क्षेत्र घिसिङ पनि आएका थिए। उनकै अगाडि हामीलाई बुबाको जिम्मा लगाए। बमजन र दिपशिखा भने त्यहाँ आएनन्।

    मेरो कान्छो भाइ धावा पनि यस्तो ठाउँ बस्दिनँ भनेर हामीसँगै बाहिर निस्कियो। निस्किने बेला क्षेत्र घिसिङकै अगाडि सीताले भनिन्, ‘यो रण्डीखाना हो। तिमीहरू के हेरेर बसेको?’ घर आएर म चुपै लागेर बसेकी थिएँ। जे भयो भयो, अब घरै बसेर राम्रोसँग पढ्छु भन्ने सोचेकी थिएँ।

    बमजनले मलाई बाहिर गएर बोल्न नसकोस् भनेर ८ लाख रुपैयाँ चोरेको आरोप लगाएछन्। मलाई यो अति लाग्यो। यसलाई म छाड्दिनँ, मिडियाको अगाडि सबै भन्छु भन्ने लाग्यो। मलाई जे गरे पनि अरू आनीहरूलाई त्यस्तो दुर्व्यवहार गर्न नसकोस् भन्ठानेर मैले काठमाडौं गएर मिडियालाई सबै कुरा बताएँ।

    नोट: तपस्वीको भेषमा आपराधिक क्रियाकलाप गर्दै आएका बम्जनको वास्तविक चरित्र पर्दाफास गर्दै सेतोपाटीले तयार पारेको यो स्टोरी समय सान्दर्भिक लागेर हामीले साभार गरेका हौ । 

    २०७५ पुष १३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    वाईसीएलका नेतामाथि प्रहरीकाे इन्काउन्टर, खुल्यो यस्तो रहस्य

    काठमाडौं । प्रहरीले गोंगबुस्थित एक होटलमा हतियार कारोबारी भनेर गोली हानेका व्यक्ति वाईसीएल काभ्रेका नेता...

    उपत्यकासहित देशभरि सिमसिम वर्षा- कतै हिमपात त कतै चट्याङ, दुईको मृत्यु ,चार घाइते

    काठमाडौं । उपत्यकासहित देशका विभिन्न स्थानमा बुधबार बिहानदेखि नै वर्षा भैरहेको छ । पश्चिमी वायुको...

    यौनकर्मीको आत्मकथा- ग्राहक सांसद, पुलिस र आर्मी, एक जना भनेर तीन जना आउँदा नमज्जा लाग्यो

    काठमाडौं । रातोपुलको एउटा क्याफेमा सेतो पेन्ट, कालो र नीलो छिर्केमिर्के टिसर्टमा आइपुगिन् उनी ।...

    नेकपाले सिमानामा लगायो काँडेतार, सिंहदरवारदेखि दिल्लीसम्म हलचल

    काठमाडौँ । अखिल क्रान्तिकारीले नेपाल–भारत सीमानामा काँडेतार लगाउने अभियान सुरु गरेको छ । क्रान्तिकारीले भारतले...

    काठमाडौंपछि भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प, कस्तो छ क्षतिको अवस्था ?

    काठमाडाैं । प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ ।...