काठमाडौं । चीनको चोङकिङमा चालक र एक महिला यात्रुबीचको झगडाका कारण यात्रीवाहक बस याङ्जी नदीमा खसेको छ। घटनामा १३ यात्रीको शव फेला परेको छ भने दुर्इ जना बेपत्ता छन्।
आफ्नो स्टेसनमा बस नरोकिदिएको बताउँदै महिला यात्रुले चालकलाई हातपात गरेकी थिइन्। जवाफमा चालकले पनि ती यात्रीलाई हात फर्काए। तीव्र गतिमा रहेको बस पुलबाट ५० मिटर तल नदीमा खस्न पुग्यो।
बसमा राखिएको सीसी क्यामेराको फुटेजमा पहिले महिलाले चालकलाई निधारमा पिटेको र चालकले महिलालाई हात फर्काएको देख्न सकिन्छ। प्रहरीका अनुसार बस दुर्घटनाको कारण महिला यात्रु र चालकबीचको झगडा नै भएको पुष्टी भएको छ।
४८ वर्षकी लिउ नामकी ती महिलाले रान नामका चालकलाई गाडीको गतिबाट ध्यान अन्यत्र मोडिने गरी ‘डिस्टर्ब’ गर्दा उक्त दुर्घटना भएको हो। दुर्घटनामा परेका यात्रीलाई बचाउन ठूलो अपरेसन चलाउनु पर्यो। दर्जनौं डुंगाहरू र क्रेनको सहायताबाट यात्रीको उद्धार प्रयास गरिएको थियो।
हेर्नुहोस् भिडियो
प्रतिक्रिया