• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    सिमा अतिक्रमण रोक्न भारतलाई नेकपा युवा सङ्गठनको चेतावनी, ओली सरकारसँग राख्यो यस्तो माग

    7K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको युवादस्ता युवा संगठन नेपालले सिमा अतिक्रमण बन्द गर्न भारतलाई चेतावनी दिएको छ । कैलाली, कंचनपुर, बाँके लगायत दशगजा क्षेत्रमा भारतले सिमा अतिक्रमण जारी राखेका बेला युवा संगठन नेपालले यस्तो चेतावनी दिएकाे हाे ।

    हालै काठमाडौंमा सम्पन्न भेलापछि संगठनका नवनिर्वाचित अध्यक्ष पाटन जंगलीले प्रेस बिज्ञप्तिमार्फत निर्णयसहित १४ बुँदे समसामयिक प्रस्ताव सार्वजनिक गर्दै भनेका छन्- ‘सीमा अतिक्रमण बन्द गर्न भारतीय साम्राज्यवादलाई यो भेला चेतावनी दिन चाहन्छ ।’

    भेलाले सामाजिक विकृति, विसंगति तथा गुण्डागर्दीका विरुद्धसमेत सशक्त भण्डाफोरसहित संघर्ष गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

    प्रस्तावको १ नम्बर बुँदामा भनिएको छ -‘देशमा सत्ता संचालन गरिरहेको सामाजिक दलाल फाँसीवादी सरकारद्वारा गरिएका भ्रष्ट्राचार, राष्ट्रघात, जनघात, कालोबजारी, जनदमन, चर्को मूल्य बृद्धि, चर्को कर वृद्धिका विरुद्ध हाम्रो सङ्गठन सशक्त भण्डाफोरसहित संघर्षको नृेतृत्व गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।

    त्यस्तै भेलाले राजनीतिक, आर्थिक, साँस्कृतिक तथा भौगोलिक रुपमा हुँदै आइरहेको वैदेशिक हस्तक्षेपका विरुद्ध जनचेतना जागृत गर्दै त्यसको प्रतिरोधका लागि आम जनतालाई आव्हान गरेको छ ।

    प्रस्तावको ३ नम्बर बुँदामा भनिएको छ- ‘सामाजिक दलाल सरकारबाट वेलगाम र गैरजिम्मेवारीपूर्ण रुपमा वृद्धि गरिएको चर्को कर तुरुन्त फिर्ता गर्न माग गर्दछ ।’ महङ्गीको आतङ्क तुरुन्त बन्द गर्न सरकारसँग माग समेत गरिएको छ ।

    भेलाले अपरकर्णाली, अरुण तेस्रो, तामाकोसी ३ लगायतका जलश्रोत सम्बन्धी असमान सम्झौताहरु खारेज गर्न माग गर्दै सन् १९५० लगायतका असमान सन्धी सम्झौता पूर्ण रुपमा खारेज गर्न समेत भनेकाे छ ।

    वैदेशिक रोजगारीका नाममा विदेशिएका लाखौं युवाहरुलाई देशभित्रै रोजगारीको ग्यारेन्टी गर्न युवा सङ्गठनको  राष्ट्रिय भेलाले जोडदार आव्हान गरेको छ ।

    प्रस्तावको ८ नम्बर बुँदामा भनिएको छ- ‘शान्ति, समानता, स्वाधिनता र समृद्धिको पक्षमा संघर्षरत नेपाल कम्युनिस्ट पार्टीतथा यस संगठनका नेता कार्यकर्ता र जनतामाथि भैरहेको व्यापक दमन, गिरफ्तारी र झुटा मुद्दा लगाउने क्रियाकलाप बन्द गर्न यो भेला माग गर्दछ ।’

    देशका विभिन्न भागमा राखिएका आस्थाका बन्दीहरुलाई निशर्त रिहा गर्न र विश्वव्यापी रुपमा भइरहेका न्यायपूर्ण आन्दोलनहरुका विरुद्ध साम्राज्यवादीहरुको हस्तक्षेप बन्द गर्न समेत राष्ट्रिय भेलाले माग गरेको छ ।

    युवा सङ्गठन नेपालले कंचनपुरकी बालिका निर्मला पन्तका हत्याराहरुको छानविन गरी दोषीलाई कडाइपूर्वक कार्वाही गर्न  र देशव्यापी रुपमा भइरहेका महिला हिंसा तथा बलात्कार जस्ता जघन्य अपराधको अन्त्य गर्न पनि माग गरेको छ ।

    प्रस्तावको १२ नम्बर बुँदामा ‘सीमा अतिक्रमण बन्द गर्न भारतीय साम्राज्यवादलाई चेतावनी दिन चाहन्छ’ भनिएको छ । साथै भेला सफल बनाउन विशिष्ट भूमिका खेल्ने पार्टी र सहयोग गर्ने सबै पक्षलाई धन्यवादसहित आभार समेत प्रकट गरिएको छ ।

    हेर्नुहोस् विज्ञप्ति

    प्रतिक्रिया