• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेकपाले गर्यो युवा संगठनको नाम परिवर्तन, राजावादीसँग मिल्दो-जुल्दो भएपछि आलोचना

    11.2K
    SHARES

    काठमाडौँ । विप्लव नेतृत्वमा रहेको बिद्रोही नेपाल कम्युनिष्ट पार्टीको भात्रृ संगठन योङ रेड फोर्स नेपालको भेला सम्पन्न भएको छ । भेलाले पाटन शेर्पालीको अध्यक्षतामा ४५ सदस्यीय नया कार्यसमिति चयन गरेको छ।

    सोमबार काठमाडौंमा सम्पन्न भेलाले उपाध्यक्षमा प्रेम बिक ‘दिनेश, महासचिव भैरव पुन ‘सागर’, सचिव सञ्जीव लामा र कोषाध्यक्षमा तिलक गुरुङ ‘रोज’लाई चयन गरेको छ।

    नेकपाका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले भेलाको उद्घाटन गरेका थिए । पार्टीको मध्यकमान्ड इन्चार्ज समेत रहेका ओलीले उद्घाटन मन्तब्य राख्दै पार्टीको कार्यदिशा अनुसार अगाडी बढ्न युवाहरुलाई निर्देशन दिएका छन् ।

    देशमा रहेको दलाल पुँजीवाद नेपाली क्रान्तिको प्रमुख अन्तरविरोध रहेको भन्दै ओलीले त्यसका बिरुद्ध लड्न र एकीकृत जनक्रान्ति सम्पन्न गर्न युवाहरूको भूमिका महत्वपूर्ण रहने बताए ।

    आफ्नो पार्टीले वैज्ञानिक समाजवाद स्थापना गर्न एकीकृत जनक्रान्ति सञ्चालन गरिरहेको बताउदै ओलीले नेपालको राष्ट्रियता, जनतन्त्र र जनजीविकाको रक्षाका लागि नेपालका सम्पूर्ण क्रान्तिकारी युवाहरु एकताबद्ध हुनुपर्ने आवस्यकता रहेको बताए ।

    गत फागुन ६ गते विराटनगरमा तेस्रो राष्ट्रिय सम्मेलन गरेर देशभर पार्टीको सहायक संगठनको रुपमा गतिविधि गर्दै आइरहेको उक्त संगठनले सोमबारको भेलाबाट भने सङ्गठनको नाम परिवर्तन गरी ‘युवा सङ्गठन नेपाल’ पारित गरेको छ ।

    तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागी हुन गएका प्रमुख अथिति नेकपा स्थायी समितिका सदस्य सुदर्शन, पीबीएम पदम राई लयागतका २ सय बढी नेता कार्यकर्तारुलाई प्रहरीले गिरफ्तार गरेको थियो ।

    यो संगठन बैद्य नेतृत्वमा रहेको ड्यास माओवादीले २०६९ असोज २६ गते युवाहरुको प्रथम अधिवेशन गरेर जनमुक्तिसेनाका पूर्वडिभिजन भाइस कमान्डर उदयबहादुर चलाउनेको नेतृत्वमा ९५ सदस्यीय कार्यसमिति चयन गर्दै स्थापना भएको थियो ।

    त्यतिबेला तत्कालिन पार्टी सचिवसमेत रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नै जनस्वयंसेवकको इञ्चार्ज चुनिएका थिए । तात्कालिन संगठनमा अधिकांश पूर्व जनमुक्तिसेनाका कमाण्डर र सदस्यहरु संगठित थिए ।

    लडाकुहरुको संगठनका रुपमा स्थापित उक्त संगठनको तेस्रो राष्ट्रिय सम्मेलन विराटनगरबाट राष्ट्रिय युवा जन स्वयंसेवकको नाम परिवर्तन गरेर ‘योङ रेड फोर्स नेपाल’ राखिएको थियो ।

    अघिल्लो सम्मेलनबाट नाम परिवर्तन् गरेको एक बर्षपछी संगठनले पुनः नाम परिवर्तन गरी अहिले राखिएको नाम ‘युवा संगठन नेपाल’ भने राजावादीहरुको संगठनसँग मिल्दोजुल्दो छ । यो नाम राजावादीहरुको हिन्दु जागरण नेपालको भात्रृ संगठन “हिन्दु जागरण युवा संगठन नेपाल”सँग मिल्दो जुल्दो भएको छ ।

    पार्टीका कुनै पनि भात्रृ संगठनहरुको नाम परिवर्तन गर्दा नेपालमा कृयाशील अरु त्यस्तै नामका संगठनहरुसँग नाम नजुध्ने गरी निर्माण गर्नुपर्नेमा नाम चयन गर्नुभन्दा पहिला आवस्यक खोज अनुसन्धान नगरी राखिएकोले नेतृत्वमा अपरिपक्कता देखिएको भन्दै आलोचना हुन थालेको छ ।

    पार्टीभित्र आलोचक चेत राख्ने एकथरि नेता कार्यकर्ताहरुले पार्टीको सहायक संगठनकै नाम राजावादीहरुको युवा संगठनसँग मिल्दो जुल्दो राख्दा बाहिर सन्देश गतिलो नजाने भन्दै आलोचनात्मक टिप्पणी गर्न थालिसकेका छन् ।

    देशभरबाट प्रतिनिधिमुलक सहभागिता रहेको उक्त भेलाको उदघाटन कार्यक्रममा ट्रेड युनियन महासघका अध्यक्ष अमर झाक्रि,दलित राष्ट्रिय मुक्ति मोर्चाका अध्यक्ष डम्बर बहादुर बिक,अखिल नेपाल महिला सँगठनका महासचिव धिरिन्दा उपाध्याय, योङ रेड फोर्सका निर्वतमान अध्यक्ष दिपेश राईलगाएतका नेताहरुले शुभकामना मन्तब्य राखेका थिए ।

     

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ