चितवन। इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा आज बिहान बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
ज्यान गुमाउनेमा झापाको मेची नगरपालिका–८ बस्ने वर्ष ३५ का उदयमान राजवंशी रहेका छन् । मृतक मध्ये अन्दाजी वर्ष २५/२६ र वर्ष ४०/५० अन्य दुई जना पुरुषको भने सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार काँकडभिट्टाबाट पोखरा जाँदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको थियो । दुर्घटना बिहान २:३० बजे भएको थियो ।
चितवनको कुरिनटार नजिकै केहीदिन अघि भ्यान र दुध बोक्ने ट्यांकर ठोक्किदा पनि तीन जनाको ज्यान गएको थियो । दशैंको बेला चितवनमा धेरैजसो दुर्घटना हुने गरेको छ ।
प्रतिक्रिया