काठमाडौं ।
सत्तारुढ दलकै विद्यार्थी संगठनका नेताहरुले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको राजीनामा माग्दै गृहमन्त्री रामबहादुर थापा “बादल”लाई ज्ञापनपत्र बुझाएपछि त्यसप्रति विद्यार्थी नेता तथा उपराष्ट्रपतिपूत्र दिपेश पुनले कडा आपत्ति जनाएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै आफ्ना नेताहरुको कार्यलाई “सस्तो लोकप्रियता” र “बजार विज्ञापन”को संज्ञा दिएका छन् ।
तत्कालीन अखिल (क्रान्तिकारी)का उपाध्यक्ष समेत रहेका दिपेशले आफ्ना साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्षी भएको आरोप लगाएका छन् । उनले दुबै विद्यार्थी संगठनको आधिकारिक छलफल, बैठक र निर्णयबिना केही साथीहरु प्रतिपक्षभन्दा पनि बढी प्रतिपक्ष भएर हल्काफुल्कारुपमा प्रहरी महानिरीक्षकको राजीनामा मागेको आरोप लगाएका छन् ।
सरकारविरुद्व चोतर्फी घेराबन्दी भइरहेको बेला नेपाल सरकारको मेरुदण्ड नेपाल प्रहरी संगठन प्रमुखको राजीनामाको मागपत्र बुझाइएकोमा उनले आपत्ति जनाएका छन् । यसलाई उनले “काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर” भनेका छन् । “यो दुईचार दिनको सस्तो लोकप्रियता र बजार विज्ञापन बाहेक केही होइन”, उनले भनेका छन् ।
दुबै विद्यार्थी संगठनका अध्यक्षहरु नविना लामा र रञ्जित तामाङको नेतृत्वमा आजै विद्यार्थी नेताहरुले गृहमन्त्री रामबहादुर थापा “बादल”लाई भेटेर ज्ञापनपत्र बुझाएका थिए । ज्ञापनपत्रमा प्रहरी महानिरीक्षक खनालको राजीनामा माग गरिएको थियो ।
हेर्नुहोस् उनको स्टाटस जस्ताको त्यस्तै
प्रतिक्रिया