News Portal

  • माओवादी आन्दोलन: ‘समानान्तर’ कमिटी र कारवाहीको डण्डा

    उमाकान्त युके
    ६४८ पटक

    काठमाडौं ।

    २०५४ सालमा नेपालभर स्थानीय चुनाव हुँदै थियो । उमेरले हामी बच्चा नै थियौं । सामान्य खाने, खेल्ने, घरपरिवार, आफन्त बाहेक धेरै कुराको केही पनि ज्ञान थिएन । चुनावको बारेमा गाउँघरमा हुने कुराहरुले अलिकति उत्सुकता जागेर हुनुपर्छ, महिना र गते त सम्झना छैन तर मतदान हुने दिन मतदान केन्द्रतिर हिड्यौं ।

    मतदान केन्द्र घरदेखी करिब १० मिनेट टाढा रहेको विद्यालयमा थियो । आधा बाटोमा पुगेपछि गाउँकै पाका मानिसहरुले हामीलाई विद्यालयतिर नजान आग्रह गरे । उनिहरुको कुरा थियो, ‘माओवादी’ले बम पड्काउछन् अनि मान्छे मार्छन् । माओवादी जतिबेला पनि आउनसक्ने बताउदै बच्चाहरु त्यस्तो ठाउँमा जान नहुने आदेश दिए । हामी डराएर घर फर्कियौं । मेरो ख्यालमा यो घटना नै ‘माओवादी’ शब्द र माओवादीको बारेमा सम्झिनेगरी सुनेको पहिलोपटक हुनुपर्छ । उसो त त्यसअघि पछि पनि घरको घाँसपात, दाउरा लगायत अन्य समान राख्ने अँध्यारो कोठामा कहिलेकाही खाना ‘सप्लाइ’ भएजस्तो लाग्थ्यो । पछि मात्रै थाहा भयो कि त्यहाँ तिनै ‘बम पड्काउने’ माओवादीहरु बस्ने गर्दा रहेछन् ।

    बिस्तारै गाँउमा राजनीतिक गतिविधि बढ्न थाले । माओवादी र जनयुद्धसंग सम्बन्धित समाचारहरु पनि रेडियोमा उल्लेख्य मात्रामा बज्न थाले । स्थानीय स्तरमा पनि एकपछि अर्को गर्दै शिक्षक, विद्यार्थी, युवा, किसान, महिला, दलितहरु पार्टी र आन्दोलनमा सहभागी हुन थाले । त्यसताका मेरो कानले सबैभन्दा बढी सुनेका नामहरु थिए (प्रकाण्ड) हाल नेकपा प्रवक्ता, उनकि बहिनी (मानुषी) जो पछि बितिन्, (रणविर)हाल नेकपा पोलिटब्युरो सदस्य, उनका भाइ दुरदर्शि (सहिद), बन्दना (सहिद), (भृकुटी)हाल नेकपा काठमाडौ सेक्रेटरी, एटम हाल नेकपा केन्द्रीय सदस्य, इन्द्रजित (सहिद), मुस्कान (सहिद), कुसम (बेपत्ता), बिराट (हाल नेकपा ब्युरो सदस्य), रबिन्स (नेकपा जिल्ला नेता) आदि थिए । संयोग जिवितमध्ये अधिकांश आज विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीमा छन् । त्यही पार्टीको सदस्य हुनुमा एकखालको गर्व नै लाग्छ ।

    सुरुका दिनहरूमा माओवादी देख्दा सुन्दा डराउने गाउँलेहरु पछि माओवादीसंग निकै अभ्यस्त भैसकेका थिए । छोटो समयमै कालिकोट जनयुद्धको आधारक्षेत्रको रुपमा बिकसित भयो । त्यसपछि सम्पुर्ण स्थानीय गतिविधिहरु जनसरकारको निर्देशन र अनुमतिमा हुनथाले । सदरमुकामबाहेक सम्पुर्ण भुभाग पार्टी र जनसरकारको नियन्त्रणमा थियो । त्यसपछि पार्टीका नेताकार्यकर्ता, जनमुक्ति सेना र कलाकारको बाख्लो उपस्थिति गाउँमा देख्न पाइन्थ्यो । माओवादी नेताकार्यकर्ताको जीवनशैली, ब्यवहार र बोलीमा एकदमै समानता जस्तो देखिन्थ्यो ।

    गाउँका मानिसलाई लाग्दथ्यो कि माओवादीहरु मेसिनले बनाएका बस्तुजस्तै हुन् जसमा अधिकतम समानता, एकरुपता र सामिप्यता झल्कियोस । सुरुमा बाल संगठन र पछि विद्यार्थी संगठनमा काम गर्दा बैठक, कार्यक्रमहरुमा पनि सहभागी हुन्थ्यौं । कहिलेकाही त्यहाँ उपस्थित नेताहरुबिच विभिन्न बिषयमा मतभेद र विवाद भएजस्तो देखिन्थ्यो । अनि अचम्म लाग्थ्यो( माओवादी नेताहरुबिच पनि असझधारी हुदोरैछ भनेर । एउटा जनसभामा एकजना जनमुक्ति सेनाका कमाण्डरले भाषणमा भने( ुप्रचण्डपथ र नेतृत्वको विरुद्धमा उभिनेलाई जनमुक्ति सेनाले जीउँदै खाल्डोमा पुरेर क्रान्तिको प्रक्रिया अघि बढाँउछ ।ु त्यतिबेला त त्यसको भाव बुझिएन, सायद बाबुराम भट्टराईलाई इंगित गरेको हुनुपर्छ । तर आन्तरिक मतभेदले यति लामो क्रुरताको यात्रा गर्नसक्ने रैछ भन्ने लाग्यो ।

    माओवादी पार्टी खासगरी शान्तिप्रक्रियामा आएपछि २०६५ सालदेखि पार्टीभित्र वैचारिक संघर्षले तिब्रता पायो । प्रचण्ड(बाबुराममा देखा पर्दै गएको बिचलनका विरुद्ध उभिएका किरण विप्लवलाई समर्थन गर्ने नेताकार्यकर्तालाई बिस्तारै जिम्मेवारीबाट हटाउने क्रमको सुरुवात भयो । अन्तरसंघर्ष तिब्र बन्दै गएपछि एउटै पार्टीभित्र समानान्तर कमिटीहरु बन्न थाले । ग्राउन्डबाट हेर्दा त्यसको मुख्य पहलकदमी तथा अगुवाइ विप्लवले र संरक्षण किरणले गरेको जस्तो देखिन्थ्यो ।

    पार्टीभित्र पार्टी, संगठनभित्र संगठनुको निति नै अगाडि सारियो । ०६९ असारमा पार्टी बिभाजन भयो र नेकपा माओवादी बन्यो । केही समयपछि नयाँ पार्टीमा फेरि दुई लाइन संघर्ष चल्यो । विचार, राजनीति र संगठनका बारेमा मतभेद चुलिदै जाँदा पार्टीभित्र समानान्तर संगठन र गतिविधिले तिब्रता पाए । ०७१ मंसिरमा विप्लवको नेतृत्वमा नयाँ पार्टी गठन भयो जुन हाल नेकपाको नामले नेपाली राजनीतिमा हस्तक्षेपकारी भुमिका निर्वाह गरिराखेको छ ।

    विप्लकको नेतृत्वमा पार्टी पुनर्गठन भएपछि क्रान्तिकारीहरुमा एउटा खालको आशा, राज्य संचालक र प्रचण्ड बाबुराममा अर्कोखालको त्रास सृजना भयो । विप्लवको बिगत, व्यक्तित्व, दृढता, सक्रियता र इमान्दारी अनि प्रकाण्ड लगायत नेताहरुको केन्द्रीकरणले पार्टीप्रति सकारात्मक अपेक्षासहितको आक्रषण थियो र त्यो आज पनि कायम छ । आज बाबुरामको पलायन, प्रचण्डको एमालेकरणले विप्लवको त्यसताका कदमको औचित्यता पुष्टि गर्दै अगाडिको आन्दोलनको अपरिहार्यतालाई सम्बोधन गरेकै छ । नयाँ पार्टी निर्माणपछि कार्यकर्ता पङ्ति, श्रमजीवी जनता, शुभेच्छुक, समर्थकहरुले नयाँ स्प्रीट, स्कुलिङ र कार्यशैलीको बिकास हुन्छ भन्ने अपेक्षा र कामना गरेका थिए ।

    तथापि पार्टीका जनवर्गीय संगठनहरुका सम्मेलनमा अलिकति असमझदारी, अलिकति विवाद, कतै समानान्तर समितिहरु गठन भए । नयाँ पार्टी बनेपछिका पहिलोपटक भएका सम्मेलनहरुमध्ये मजदुरको सम्मेलनमा पार्टी निर्णयको विरुद्धमा समानान्तर कमिटी बन्यो । विद्यार्थी संगठनमा पार्टीले घोषणा गरेको भन्दा शक्तिशाली समानान्तर कमिटी बन्यो । युवा र पत्रकारको सम्मेलन पनि विवादरहित रहन सकेनन् । समानान्तर कमिटीहरुमाथि कारबाही गरियो ।

    केही मान्छे पलायन भए भने केही विभिन्न जिम्मेवारीमा फर्किए । तुलनात्मक रुपमा महिला र किसान संगठनका सम्मेलनहरु विवादरहित बने । दोश्रोपटक भएका सम्मेलनहरुमा पनि कतै न कतै समस्याहरु देखापरे । विद्यार्थीमा पार्टीले एउटा ढंगले निकास निकाल्यो, युवामा अर्को ढंगले भने पत्रकार संगठनको विवाद चाहेर या नचाहेर सतहमा देखा परेकै छ । यी घटनाहरुका पछाडी कहिँ न कहिँ केहि त्रुटि या नेतृत्व, नेता र कार्यकर्ताबिच बुझाइ र सोचाइको भिन्नता या त पदिय महत्वाकांक्षा वा अराजकताले काम गरेको हुनपर्छ ।

    माओवादी आन्दोलनको इतिहासमा असमत हुने, भिन्न मत राख्ने बित्तिकै कारबाहीको डन्डा भिराउने एउटा गलत संस्कारको बिकास भएको छ । राजनीतिमा कारबाही कहिल्यै पनि अयोग्य र असक्षम मानिसलाई हुँदैन कि अराजक ब्यक्तिलाई हुन्छ कि त योग्य ब्यक्तिलाई हुन्छ । अयोग्य र असक्षम मानिसले आफ्नो विवेकपुर्ण मत जाहेर गर्ने आँट राख्दैन । उ कि निष्क्रिय बस्छ या त कसैको दास बन्नुमा आफूलाई सुरक्षीत महसुस गर्छ । विप्लवलाई पनि आलोकहरुले कारबाही गरेर कर्णाली पठाएकै हुन्, प्रचण्डले पालुङटारसम्म पनि कारबाही गर्न खोजेकै हुन् । विभिन्न तहमा रहेका नेकपाका अन्य नेताकार्यकर्ताले पनि प्रचण्डदेखि बादलसम्मको कारबाही ब्योहोरेकै हुन् । कुनै ब्यक्तिको लागि कारबाही ठूलो कुरा हुँदैन तर त्यो विचार र तथ्यमा आधारित छ कि पुर्वाग्रह र भ्रममा, त्यसले आन्दोलनलाई फाइदा हुन्छ कि घाटा भन्ने कुराको हिसाब भने गर्नुपर्छ ।

    कम्युनिस्ट पार्टीहरुले सबैभन्दा बढी उद्धरण गर्ने अल्बर्ट आइन्टाइनको सापेक्षावादको सिद्धान्तले हरेक कुरा र घटना सापेक्षिक हुने कुरा उल्लेख गर्छ । अर्कोतिर हेसेनबर्कको अनिश्चितताको सिद्धान्तले पनि गति र स्थानमध्ये एकचोटि एउटा निश्चित हुन्छ भने अर्कोपटक अर्को निश्चित हुनसक्छ अर्थात सधैं एउटैको निश्चितता पहिल्याउन सम्भव हुँदैन भन्ने मान्यत राख्छ । जब सबै खालका परिस्थितिलाई एउटै ढंगले बिश्लेषण गर्ने प्रयत्न गर्ने प्रयत्न गरिन्छ त्यसले निकाल्ने निश्कर्ष सहि नहुन सक्छ ।

    जब कुनै समस्या सिर्जाना हुन्छ अथवा अनपेक्षित घटना घट्छ तब त्यसको कारण र सम्भावित परिणामको बारेमा अनुसन्धान गरिन्छ । कुनै बिषयमा अधिकांश विद्यार्थी अनुत्तीर्ण भए भने एउटा शिक्षकले यो मात्रै भन्दैन कि विद्यार्थीहरुले उत्तीर्ण हुनसक्ने कुरा लेखेनन् । बरु उ आफुतिरै फर्किन्छ( कतै मेरो शिक्षणको विधि मिलेन कि या परीक्षाको शैली मिलेन कि भनेर । भुकम्पमा अधिकांश घरहरू भत्किए भने भुकम्पलाई मात्रै कारकतत्व मानिदैन ।

    त्यसपछि सुरु हुन्छ( जमिनको परिक्षण, सिमेन्ट, बालुवा र रडको गुणस्तर अनि इन्जिनियरिङ्गको अध्ययन । संसदले कुनै कानुन बनायो तर अनपेक्षित बिरोधका आवाजहरु उठे भने त्यसको संशोधन या खारेजको विकल्पसहित नयाँ छलफल सुरु हुन्छ । सामाजिक बिज्ञानमा कहिल्यै पनि यस्तो हुँदैन जस्तो कि बगेको नदि नफर्किएजस्तो । सामाजिक बिज्ञान, राजनीतिशास्त्र सिधा रेखामा हैन बाङ्गो रेखामा कहिलेकाहीँ त अझ गोलाकार रेखामा पनि अगाडि बढ्छ । प्राकृतिक बिज्ञानमै पनि सुर्य र पृथ्वीबिचको दुरी अहिले जति कुनै अर्को समय पनि त्यति नै हुन सम्भव छ । कानुनमा कुनै कार्यलाई अपराध घोषणा गर्नुपुर्व दुइटा कुरा हेरिन्छ पहिलो के कार्य भयो, दोस्रो मनसाय के थियोे ।

    दुईटैको गलत उपस्थितबिना कुनै कार्यलाई अपराध मानिदैन । जस्तो कि घरमा आगलागी भयो आमाले बच्चालाई झ्यालबाट खसालिन बच्चाको मृत्यु भयो( यतिबेला आमालाई अपराधी मानिदैन र सजाय हुँदैन । तर अरुबेला तिनै आमाले बच्चालाई झ्यालबाट खसालिन भने उनलाई अपराधी घोषित गरिन्छ । राजनीति भनेको प्रकृति, समाज, कानुन, विवेक, सत्य, न्याय सबै कुरासंग सम्बन्धित बिषयको समस्टी रुप हो । राजनीतिमा पनि पार्टीहरुले एउटा निर्णय गर्छन्, समय, सन्दर्भ र परिस्थिति बदलियो भने नयाँ उचाइमा आफूलाई उठाउछन् ।

    लेखक क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय सदस्य हुन् ।

    २०७५ असोज १३ गते प्रकाशित
    प्रतिकृया दिनुहोस्

    सुनसरीमा प्रहरी र लुटेराबीच गोली हानाहान, एकको मृत्यु, यस्तो छ थप बिबरण

    सुनसरी । जिल्लाको कोशी गाउँपालिका–७ स्थित मुसहरि टोल नजिक गएराति प्रहरी र भारतीय डाँका समूहबीच...

    कांग्रेसमा झाङ्गिदै गुट राजनीति, गोप्यरुपमा सम्पन्न भयो संस्थापन इतर पक्षको बैठक

    काठमाडौं । नेपाली कांग्रेसमा गुट राजनिती झाँगिदै गएको छ । आइतबार साँझ हुने संस्थापन पक्षसँगको...

    अब २१ दिनभित्र कार्यक्षेत्र नपुग्ने कर्मचारीलाई अवकाससम्मको कारबाही

    काठमाडौं । सरकारले कर्मचारी समायोजनलाई अनिवार्य र बाध्यकारी बनाउँदै सक्दो छिटो सम्पन्न गर्नेगरी कानुनी व्यवस्था...

    देउवाइतरका नेताहरुको भेला प्रकाशमान सिंह निवासमा, यस्तो भयो सहमति

    काठमाडौँ । सोमबार बस्ने केन्द्रीय समिति बैठकमा धारणा बनाउन नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा इतका...

    जाडोमा आफ्नो छाला कसरी जोगाउने ? थाहा पाउनुहोस् यस्तो छ उपाय

    काठमाडौं । जाडोमा विभिन्न प्रकारका छालाका समस्या देखापर्न सक्छन्। चिलिब्लेन्स जाडोमा बढी देखिने समस्या हो।...