• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्ड नाम सुनेर जंगिए माधवकुमार नेपाल, भन्छन्: प्रधनमन्त्री बनाएको होइन, राजीनामा मागेको हो

    14.4K
    SHARES

    काठमाडौं । 

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई विधि र विधानमा चलाउन माग गरेका छन् । उनले विधानमा रहेर पार्टी नचलाउने हो भने समस्या उत्पन्न हुने बताए ।

    प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीको कार्यशैलीको घुमाउरो भाषामा आलोचना गरेका नेता नेपालले भने, ‘विधि र विधानलाई नमान्ने हो भने किन पार्टी चलाउने ?’ पार्टीभित्र असन्तुष्टि रहेपनि मिल्नै नसक्ने अवस्था भने नरहेको उनले बताए ।

    पार्टीभित्रको विवादलाई लिएर आफ्नाविरुद्ध समाचार आएको बताएका नेता नेपालले भने, ‘म त अचम्ममा परेको छु । समानान्तर पार्टी संगठन बनाउँदै छु भनेर समाचार आएका छन् । त्यस्तो केही पनि होइन । पार्टीमा असन्तुष्टि छन् । तयसलाई मिलाउन सकिन्छ ।’ नेपाली रेडियो नेटवर्कमा बिहीबार बिहान अन्तर्वाता दिँदै नेता नेपालले पार्टीभित्र कुनै पनि गुट वा समानान्तर संगठन नचलाएको दाबी गरे ।

    मलाई मेरो पार्टी र गिरिजाप्रसादले प्रधानमन्त्री बनाएका हुन्

    पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तपाईलाई प्रधानमन्त्री बनाएको कुरा सत्य हो ? भनेर सोधिएको प्रश्नको जवाफमा वरिष्ठ नेता नेपालले जंगिदै भने, ‘कुरा ठिक्क राख्नुस् । प्रचण्डले मलाई प्रधानमन्त्री बनाएको होइन । मेरो पार्टीको स्थायी समिति र गिरिजाप्रसाद कोइरालाले बनाएको हो । प्रचण्डजीले प्रधानमन्त्रीबाट राजीनामा दिएपछि म प्रधानमन्त्री बन्ने परिवेश सिर्जना भएको हो । प्रचण्डजीले त मेरो राजीनामा मागेको होइन ? उहाँले मेरो विरुद्ध आन्दोलन नै गर्नुभएको थियो ।’ नेता नेपालले त्यस बेला प्रचण्डले आफूलाई संविधानसभाको सदस्य बनाउन भूमिका खेलेको बताए ।

    केपी ओली नेतृत्वको सरकार पाँच वर्षसम्म काम गर्छ भन्ने प्रश्नमा नेता नेपालले भने, ‘यो सरकार पाँच वर्षका लागि बनेको हो । दायाँबायाँ हुँदैन ।’ वामदेव गौतमलाई डोल्पाबाट सांसदमा जिताएर ल्याउने विषयमा पार्टीभित्र छलफल चलेको नेता नेपालले बताए । ‘वामदेवजीलाई वर्दियामा पार्टीकै नेताहरूले हराएका हुन्’, उनले भने, ‘पार्टीलाई वामदेवजीको आवश्यक्ता छ । उहाँलाई सांसद बनाइनुपर्छ ।’

    तपाई प्रधानमन्त्री र नेकपाको अध्यक्षमा रुचि राख्नु हुन्छ भनेर सोधिएको जिज्ञासामा वरिष्ठ नेता नेपालले त्यो अहिले जवाफ दिने समय नरहेको बताए । उनले भविष्यका बारेमा आफूले अहिले नै केही भन्न नमिल्ने बताए ।

    तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुने बेला आफू पहिलो नम्बरको वरिष्ठ नेता बन्न अस्वीकार गरेको उनले बताए । ‘मलाई वरिष्ठ नेता बनाउन खोज्दा मैले मानेको थिइँन’, नेता नेपालले भने, ‘पार्टीमा तपाईको आवश्यक्ता छ भनेर सबैको जोडबलले गर्दा पहिलो नम्बरको वरिष्ठ नेता बन्न स्वीकार गरेको हुँ ।’ उनले आफूलाई पदको कुनै पनि लोभ नभएको दाबी गरे ।

    सञ्चारमाध्यममा नभएका समाचार आउने गरेको भन्दै नेता नेपालले असन्तुष्टि राखे । ‘नभएका समाचार जथाभावी आउने गरेको छ’, उनले भने, ‘नयाँ मुलुकी ऐनले व्यक्तिको गोपनीयतालाई रक्षा गरेको छ । जथाभावी समाचार लेख्नेलाई ठीक पारेको छ ।’ नेता नेपालले सहि समाचार लेख्नेलाई मुलुकी ऐनले केही नगर्ने बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ