काठमाडौं ।
भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको निधन भएको छ । चेन्नाइस्थित एक अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा निधन भएको हो ।
तमिलनाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत जुलाई २८ मा उनलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । उनको जन्म सन् १९२४ को जुन ३ मा तमिलनाडुको नागापट्टिनम जिल्लामा भएको थियो ।
करुणानिधिको सन् २०१६ देखि स्वास्थ्यमा समस्या देखिएपछि पटकपटक उपचार भइरहेको थियो । उनी खराव स्वास्थ्यका कारण दुई वर्षयता राजनीतिमा निस्कृय थिए ।
करुणानिधि सन् १९९६ को जुलाई २७ मा पार्टी अध्यक्ष बनेका थिए । करिब ८ दशक राजनीतिमा सक्रिय करुणानिधि ५ पटक तमिलनाडुको मुख्यमन्त्री बने ।
१३ पटक विधानसभा निर्वाचनमा प्रतिस्पर्धा गरेका करुणानिधिले कुनै पनि चुनाव हारेका थिएनन् । उनी सन् २०१६ को विधानसभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी भएका थिए ।
करुणानिधिले करिब ५० वटा तमिल भाषामा निर्मित फिल्मको पटकथा तथा संवाद लेखनसमेत गरेका थिए । यसैबीच करुणानिधिको अन्त्येष्टि कहाँ गर्ने भन्ने विवाद अदालतमा पुगेको छ ।
उनीको पार्टीले मरिना तटमा अन्त्येष्टि गर्नुपर्ने माग गरेको छ । यो तटमा तमिलनाडुका वरिष्ठ राजनीतिज्ञको अन्त्येष्टि हुँदै आएको हो । तर प्रदेश सरकारले यसलाई अनुमति दिएको छैन ।
तमिलनाडु सरकारका मुख्य सचिव गिरिजा वैद्यनाथनले करुणानिधिको समाधीका लागि अन्ना विश्वविद्यालयको अगाडि दुई एक जमिन तयार पारिएको जानकारी दिनुभएको छ ।
यो इलाका मरिना तटबाट ८ किलोमिटरको दुरीमा पर्छ । अदालतले यस बारेमा आजै निर्णय गर्ने बताइएको छ । (एजेन्सी)
प्रतिक्रिया