काठमाडौं ।
प्रधानमन्त्री केपी ओलीको सचिवालयले राम्रोसँग काम गर्न नसकेको भनेर आलोचना भइरहेका बेला गृहमन्त्री रामबहादुर थापाको सचिवालयमाथि पनि प्रश्न उठेको छ ।
गृहमन्त्री थापालाई भेट्न मन्त्रालय पुग्ने नेता कार्यकर्ता र सेवाग्राहीहरूलाई सचिवालयले दुरव्यवहार गर्ने गरेको आरोप छ । तत्कालीन वाईसीएलका उपाध्यक्ष समेत रहेका गृहमन्त्री थापाका सहयोगी सुदीप भनिने विदुर तामाङले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्तालाई गृहमन्त्रालयमा मन्त्रीसँग भेट्नै नदिएको आरोप छ । तामाङको रुखो व्यवहारबाट कार्यकर्ताहरू आजित छन् ।
तामाङले प्रहरीको सुरुवामा पनि चलखेल गर्ने गरेको आरोप छ । तामाङको यो कार्यबाट प्रहरी अधिकारीहरू आजित बनेका छन् । तामाङले आकर्षक ठाउँमा पोस्टिङ मिलाउने हो भने पैसा लाग्छ भनेर सिधै बार्गेनिङ गर्ने गरेको स्रोतको भनाइ छ ।पहिला काभ्रे जिल्ला निवास तामाङले राजधानीभित्र भव्य घर पनि बनाएका छन् । पछिल्लो समय उनको क्रशर, ढुंगा र बालुवा ठेकेदारहरूसँग हिमचिम बढेको स्रोतले जनाएको छ । विभिन्न स्थानमा ईञ्चार्ज रहेका प्रहरीहरूलाई पनि फोन गरेर तामाङले गृहमन्त्री थापाको नाम लिएर दुःख दिने गरेको एक उच्च प्रहरी अधिकारीले गुनासो गरे ।
तामाङको लगानीमा होटेल हिकिङ भक्तपुरको चागुनारायणस्थित त्रिशुली डाँडामा सञ्चालनमा छ । होटेल निर्माणका क्रममा पैसा अभाव भएपछि काम रोकिएको थियो । गृहमन्त्री थापाको सहयोगी हुनेवित्तिकै तामाङको होटेल रातारात निर्माण भएर सञ्चालनमा आएको छ । सहयोगी तामाङले होटेलमा गृहमन्त्री थापाको पनि लगानी रहेको भनेर साथीहरूलाई सुनाउने गरेका छन् ।
गृहमन्त्री थापाका सहयोगी तामाङको रातारात दैनिकी फेरिएपछि उनको सम्पत्ति छानविनको माग उठ्न थालेको छ । तामाङको कार्यशैलीबाट पूर्ववाईसीयल, नेकपाका नेता तथा कार्यकर्ताहरू खुसी छैनन् । यसबारेमा गृहमन्त्री थापासम्म उजुरी पुगिसकेको छ । तर, थापाले तामाङविरुद्ध अहिलेसम्म कुनै पनि एक्सन लिएका छैनन् । दैनिक नेपालबाट
प्रतिक्रिया