• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कैद मिनाहाका लागि सम्भावित ६२० जनाको सूची सार्वजनिक, उजुरी आह्वान

    611
    SHARES



    काठमाडौं । कारागार व्यवस्थापन विभागले संविधान दिवसको अवसरमा कैद मिनाहाका लागि सम्भावित ६२० जनाको सूची सार्वजनिक गर्दै उजुरी आह्वान गरेको छ ।

    विभागले ५० प्रशिशत कैद भुक्तान गरेका ५८६ जना, ३ जना ज्येष्ठ नागरिक र १ भदौ २०७५ भन्दा अघि घटना भई ४० प्रतिशत कैद भुक्तान गरेका ३१ जना गरी कैद कट्टा गर्न प्रस्तावित ६२० जनाको सूची सार्वजनिक गरेको छ ।

    उनीहरुमध्ये केहीको हकमा पीडित परिवारले सहमति दिएको समेत विभागले उल्लेख गरेको छ । तर धेरैको हकमा भने त्यस्तो सहमति छैन ।

    विभागका निर्देशक कमलप्रसाद पाण्डेका अनुसार उनीहरुका बारेमा कुनै गुनासो तथा उजुरी भएमा ७ दिनभित्र दिन भनिएको छ । विभागमै आएर वा इमेलमार्फत पनि उजुरी पठाउन सकिने पाण्डेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    यसअघिका वर्षहरुमा कैद मिनाहा गर्दा पीडित परिवारको सहमति खोज्ने वा उजुरी लिने गरिएको थिएन । गम्भीर अपराधमा संलग्न र मापदण्ड नै नपुगेकाहरुलाई राजनीतिक पहुँचका भरमा संविधान दिवस र गणतन्त्र दिवसमा रिहा हुन थालेपछि यसको सार्वजनिक रुपमा विरोध हुँदै आएको थियो ।

    ३ असोज २०८० को संविधान दिवसको अवसरमा कैद मिनाहा भएर छुट्नेहरुमा बाँकेका रिगल भनिने योगराज ढकाल पनि परे । २८ असार २०७२ मा नेपालगन्जको सुर्खेत रोडस्थित धम्बोझी चोक नजिक नेपालगञ्ज उपमहानगरपालिका–८ का २० वर्षीय चेतन मानन्धरलाई खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए ।

    तरुण दलको बाँके क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति समेत रहेका ढकाल राजनीतिक पहुँचकै आधारमा बाँकी कैद मिनाहा भएर छुटेपछि चौतर्फी विरोध भयो । चेतनकी पूर्वपत्नी भारतीले १६ कात्तिकमा सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

    त्यही रिटमा सर्वोच्चले रिगल पक्राउ परेर पुनः जेलमा राख्न आदेश मात्र दिएन, कैद छुट वा मिनाहाको निर्णय गर्नुपर्दा पालना गर्नुपर्ने शर्तहरु तोकिदियो ।

    कानुनले तोकेअनुसार कैद भुक्तान गरेको हुनुपर्ने मात्र भनेन, पीडितको हक संरक्षित हुने गरी सहमति मञ्जुरी लिई पीडितलाई सामाजिक पुनर्स्थापना र क्षतिपूर्तिसहितको न्याय सुनिश्चित गरी सजाय कम गर्ने, घटाउने वा छुठ दिने निर्णय गर्न आदेश दियो ।

    सर्वोच्चको त्यही आदेशपछि कैद कट्टासम्बन्धी नियमावली २०७६ मा संशोधन गरिएको छ । कट्टासम्बन्धी नियमावलीमा यसअघिसम्म उजुरीबारे उल्लेख गरिएको थिएन । तर यो पटक नियमावली संशोधन गरेर उजुरी लिने व्यवस्था मिलाइएको हो ।

    त्यही संशोधनका आधारमा कैद कट्टाका लागि सम्भावितबारे उजुरी आह्वान गरिएको छ । त्यसमा आउने उजुरीहरुका आधारमा छानबिन गरेर रिहाइको प्रक्रिया अगाडि बढाइनेछ । कैद कट्टा गर्न लागिएका ६२० कैदीको सूची हेर्नुहोस् !

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ