काठमाडौं ।
२० दिनदेखि जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसनरत डा. गोविन्द केसीलाई बिहीबार साँझ काठमाडौं ल्याइएको छ ।
नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याएर डा. केसीलाई साँझ ६:४५ बजे टुँडिखेलमा अवतरण गराइएको थियो । त्यहाँबाट उनलाई एम्बुलेन्समा राखेर त्रिवि शिक्षण अस्पताल लगिएको हो ।
शिक्षण अस्पतालमा भेला भएका समर्थक तथा शुभचिन्तकले हात उठाएर अभिवादन गरेका थिए । उनलाई शिक्षण अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको छ ।
केसीलाई लिन बिहीबार विहान नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको थियो । केसीलाई जबर्जस्ती काठमाडौं ल्याउन खोज्दा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पतालभित्र केसीका समर्थक र प्रहरीबीच झडप भएको थियो । झडपमा एक जना प्रहरी गम्भीर घाइते भएका थिए भने १० भन्दा बढी घाइते भएका थिए ।
घटनापछि अस्पतालभित्रै मारामार भएको भन्दै केसी काठमाडौं आउन तयार भएका थिए । यसैबीच डा. गोविन्द केसीले आफूलाई इच्छाविपरित अपहरण शैलीमा बल प्रयोग गरेर जुम्लाबाट काठमाडौं ल्याइएको बताएका छन्। टिचिङ अस्पतालबाट प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारको ज्यादतीपूर्ण व्यवहारको भर्त्सना गरेका छन्।
चिकित्सा शिक्षा सुधारको माग गर्दै सत्याग्रह आन्दोलन थालेका केसीले विज्ञप्तिमा भनेका छन्,- ‘खड्गप्रसाद ओली नेतृत्वको वर्तमान सरकारले मलाई अमानवीय रूपमा क्रूरतापूर्वक सत्याग्रहीको इच्छाविपरित अस्पताललाई युद्धभूमि जस्तो बनाई अपहरण शैलीमा बल प्रयोग गरी जुम्लाबाट काठमाडौँ ल्याएको छ।’
सत्याग्रहमा ऐक्यबद्धता जनाउने जुम्ला लगायत देश तथा विदेशमा रहेका नेपालीहरूप्रति उनले आभार प्रकट गरेका छन्। सरकारको ज्यादतीबाट घाइते सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको उनले कामना गरेका छन्। ज्यादतीमा संलग्न दोषीहरूलाई कारबाहीको माग पनि गरेका छन्।
‘माग पूरा नहुँदासम्म सत्याग्रह जारी रहने जानकारी गराउँछु,’ उनले भनेका छन्, ‘आम नागरिकलाई सदाजस्तै ऐक्यबद्धताको लागि हार्दिक आह्वान गर्दछु।’
२०७५ साउन ३ मा प्रकाशित । तस्वीर सौजन्य: सेतोपाटी
प्रतिक्रिया