काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको आलोचना गरेका छन् ।
शनिबार काठमाडौँमा भएको एमालेको जनसंगठनको विशेष बैठकलाई सम्बोधन गर्दै ओलीले भने-‘किन गएका राष्ट्रपति ? राष्ट्रपति किन जानुभयो ? कति मान्छे मरे भन्ने उहाँले सुन्नु भएकै थियो, टेलिभिजन हेर्नुभएकै थियो । कति घर भत्किए सुन्नुभएकै थियो । कति के भयो सुन्नुभएकै थियो । त्यो भन्दा अगाडि खबर आइसकेकै थियो, नेताहरूको भीडले, नेताको चाकडीमा सेना प्रहरी त्यहाँ खट्नुपर्दा भूकम्प प्रभावितलाई काम गर्न पाइएन भन्ने आएकै थियो । उहाँहरू अस्पतालमा बिरामी हेर्न जाने नाउँमा अस्पतालका सारा डाक्टरहरू उहाँलाई ब्रिफिङ गर्न आउनुपर्ने, माओवादी त्यहाँ गयो भनेर कांग्रेस किन जानुपर्ने राष्ट्रपति ज्यू ? उहाँ राष्ट्रपति भएर त्यहाँ जानुभएन, कांग्रेस छुट्यो भनेर जानुभयो ।’
ओलीले थपे-‘म यो किन भन्दैछु भने राष्ट्रपतिज्यूले तनहुँमा गएर घण्टीको यत्रो बिगबिगी भएको बेला कांग्रेसलाई भोट दियौ मतदाताहरूलाई धन्यवाद दिन्छु भनेर रुखमा भोट हालेकोमा धन्यवाद दिनुभयो । कति निष्पक्ष राष्ट्रपति होला, उहाँको निष्पक्षताको त कुरै नगरौँ ।’
अध्यक्ष ओलीले एक वर्ष नपुग्दै अलोकतान्त्रिक र पक्षपातपूर्ण व्यवहार देखाएको आरोप पनि लगाए ।
प्रतिक्रिया