काठमाण्डौ । इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले म्यानचेस्टर सिटीलाई हराएको छ ।
इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनललेम्यानचेस्टर सिटीलाई १-० ले हराएको हो । आर्सनलका लागि ग्याब्रियल मार्टिनेलीले खेल सकिन चार मिनेट बाँकी हुँदा गरेको गोल नै जितका लागि निर्णायक बन्यो ।
सिटीलाई हराउँदै आर्सनल दोस्रो स्थानमा उक्लिएको छ । आर्सनलले ८ खेलबाट २० अङ्क जोडेको छ भने शीर्ष स्थानको टोटेनह्यामसँग अङ्क बराबरी गरेको छ ।
म्यानचेस्टर सिटी १८ अङ्क सहित तेस्रो स्थानमा छ । यस्तै, अर्को खेलमा ब्राइनट र लिभरपुल तथा वेस्ट ह्याम र न्युक्यासलले २–२ गोलको बराबरी खेलेका छन् । वुल्भ्स् र एस्टोन भिल्ला भने एक एकको बराबरीमा रोकिएका छन् ।
यस्तै, आईसीसी एकदिवसीय विश्वकपको आइतबार खेलिएको खेलमा अस्ट्रेलियाले भारतलाई दुई सय रनको लक्ष्य दिएको छ । चेन्नईस्थित मुथैया एनामलाई चिदम्बरम स्टेडियममा खेलिएको उक्त खेलमा अस्ट्रेलियाले टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो ।
उक्त दिवा-रात्री खेलमा अस्ट्रेलियन ब्याट्सम्यानहरु प्रारम्भदेखि नै भारतीय बलरको दबाबमा परेका थिए । कुनै पनि अस्ट्रेलियन ब्याट्सम्यानले भारतीय बलरहरुलाई खुलेर खेल्न सकेनन् । सिङ्गो अस्ट्रेलियन टोली ४९.३ ओभरमा एक सय ९९ रन बनाउँदै अलआउट हुन पुग्यो ।
अस्ट्रेलियन टोलीका कुनै पनि ब्याट्सम्यानले अर्धसतकसमेत बनाउन सकेनन् । तेस्रो नम्बरका ब्याट्सम्यान स्टिभन स्मिथले सर्वाधिक ४६ रन बनाए । उनले ७१ बलको सामना गरी पाँच चौका हिर्काएका थिए ।
अस्ट्रेलियाका तल्लोक्रमका ब्याट्सम्यान प्याट कुमिन्स र मिचेल स्टार्कवाहेक अन्य ब्याट्सम्यानले छक्कासम्म प्रहार गर्न सकेनन् । मिचेल स्टार्कले उत्कृष्ट पाली खेलेपछि मात्र अस्ट्रेलियाले दुई सय रनको लक्ष्य दिन सकेको थियो ।
स्टार्कले टोलीको खातामा २८ रन थपेका थिए । उनले ३५ बलको सामना गरी एक छक्का र दुई चौका हिर्काएका थिए । ओपनर ब्याट्सम्यान डेभिड वार्नर ४१ रन बनाउँदै पेभेलियन फर्किए । उनले ५२ बलमा ६ वटा चौका हिर्काए । मार्नस लाम्बुसेनले २७ रन जोडे । उनले ४१ बलमा एक चौका हिर्काएका हुन् ।
प्रतिक्रिया