काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टीको केन्द्रिय समिति बैठक सकिएको छ । असोज १६ देखि २१ गतेसम्म बसेको बैठकले आगामी जेठ अन्तिम साता एकता महाधिवेशन गर्ने निर्णय गरेको छ ।
महाधिवेशनको मिति र स्थान भने कार्यलयको बैठक बसेर पछि निर्णय गर्ने नेता सीपी गजुरेलले जानकारी दिए । ‘जेठको अन्तिम साता महाधिवेशन गर्ने गरी बैठक सकिएको छ’, उनले भने, ‘मिति र स्थानबारे निर्णय लिने जिम्मा कार्यलय बैठकलाई दिएको छ ।’
बैठकमा अध्यक्ष मोहन बैद्यले पेस गरेको राजनीतिक तथा साङ्गठनिक प्रतिवेदनमाथि छलफल भएको थियो । देशभक्त क्रान्तिकारी जनवादी तथा वामपन्थीहरूलाई गोलबन्द गरी राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने तथा सम्मेलनद्वारा निर्मित क्रान्तिकारी जनवादी संयुक्त मोर्चामार्फत जनसंघर्ष र प्रतिरोध संघर्षकोबीचबाट अस्थायी संयुक्त सरकार गठन गरिने बैद्यले पेस गरेको राजनीतिक दस्तावेजको बुँदा नम्बर ५ मा उल्लेख छ ।
‘सङ्घटग्रस्त बन्दै गएको वर्तमान दलाल तथा नोकरशाही एवं सामन्त वर्गीय राज्यसत्ता र संसदीय व्यवस्थाको विकल्प तथा अग्रगामी रुपान्तरणका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, अस्थायी संयुक्त सरकार र जनसंविधानको निर्माण हाम्रो तात्कालिक राजनीतिक कार्यनीति हुनेछ’, उनको दस्ताबेजमा उल्लेख छ ।
देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थीहरुलाई गोलबन्द गरी राष्ट्रिय राजनीतिक सम्मेलन गरिने उनको भनाइ छ । यस्तै विकल्पका लागि राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा र जनसंविधान निर्माण तत्कालीन कार्यनीति हुने र भष्ट्राचार, मिटरब्याज, एमसीसी विरोधी शक्तिलाई समेटेर, न्यायालयमा भएको वेथिति र महंगीलाई कार्यनीतिको आधार बनाइएको छ ।
संगठन र संघर्ष सँगसँगै लैजाने, जबस मोर्चाको सम्मेलन महाधिवेशनपछि गर्ने प्रस्ताव बहुमतले पारित भएको छ । यस्तै बैद्यको प्रतिवेदनमा पुरानो संविधान खारेज गरी दलाल तथा नोकरशाही पुँजीवाद, सामान्तवाद र साम्राज्यवाद विरोधी अन्तर्वस्तुमा आधारित जनसंविधानको निर्माणका लागि आधार तयार पार्न बैठकमा वैद्यले माओवादी केन्द्र दलाल पुँजीवादी शक्तिको कित्तामा उभिएकाले कुनै सहकार्य र एकता नहुने पनि बताएका छन् ।
‘प्रचण्ड घोर दक्षिणपन्थी दलाल पुँजीवादी शक्तिको कित्तामा उभिएका छन् । उनीसँग तत्काल कुनै एकता र सहकार्य हुन सक्दैन । माओवादीसहित संसदवादी दलहरूबाहेक देशभक्त, क्रान्तिकारी शक्तिहरूबीच सहकार्य र एकता बनाएर जान आवश्यक छ’, उनको भनाइ उदृत गर्दै ती नेताले भने ।
यसअघि ललितपुरस्थित मजदुरको कार्यालय कुपन्डोलमा १३ र १४ गते बसेको सचिवालय बैठकले एकताको महाधिवेशन जेठमा गर्ने प्रस्ताव गरको थियो । २०७९ चैत २४ गते धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतसँग पार्टी एकता भएको थियो ।
प्रतिक्रिया