काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले राजीनामा दिएका हुन् ।
त्यसक्रममा उनले कोशी प्रदेशको राजनीतिक स्थायित्वको लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता भएको बताए ।
एमाले जस्तोसुकै सहमति, सहकार्य, आपसी एकता र विश्वास सिर्जना गर्न प्रतिबद्ध भएको भन्दै उनले आफ्नो पार्टी जस्तोसुकै त्याग गर्न तयार रहेको पनि जिकिर गरे । उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलीजुली बनाउनु नै अन्तिम विकल्प भएको दाबी गरे ।
प्रदेशसभाको दोस्रो कार्यकालमा दुई पटक मुख्यमन्त्री हुने अवसर पाएको भन्दै उनले खुसी व्यक्त गरे । यद्यपि प्रदेशमा सरकार गठनका क्रममा संविधान मिचिँदा सर्वोच्च गएर व्याख्या गर्नुपरेको स्पष्ट पारे ।
आफू प्रदेशको सर्वोच्च कार्यकारी प्रमुखको भूमिकामा रहँदा प्रदेशको आर्थिक समृद्धिमा लागि परेको बताए । ‘एमाले संवैधानिक सर्वोच्चताको पक्षमा रहेको छ । म २ पटक अदालत जानु पदका लागि होइन,’ उनले भने ।
आज कोशी प्रदेशको राजनीति जटिल मोडमा पुगेको बताउँदै दलहरूले चालेको कदम ठिक भएको वा बेठिक भएको विषयमा सोच्नु पर्नेमा उनले जोड दिए ।
दलहरूबिचको सहमतिबाट मात्रै प्रदेशको समस्या समाधान गर्न सकिने बताउँदै उनले आफ्नो कुरालाई मात्रै जोड दिने हो भने मध्यावधि कसैले टार्न नसक्ने पनि बताए ।
प्रतिक्रिया