• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    नेपाललाई गरिब रहिरहने छुट छैन, अब चिनियाँ लगानी भित्रन्छः प्रधानमन्त्री प्रचण्ड

    571
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा अब चिनियाँ लगानी भित्रने बताएका छन्।

    बेइजिङस्थित नेपाली दूतावासमा आइतबार बेलुका आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बेइजिङमा नेपाल-चीन लगानी सम्मेलनले त्यो सन्देश दिएको बताएका हुन्।

    त्यसका लागि नेपालमा नीतिगत र कानुनी जटिलतालाई सहजीकरण गर्ने प्रक्रिया अगाडि बढाएको पनि प्रधानमन्त्री प्रचण्डले बताए।

    ‘नेपालमा चिनियाँ लगानी सुरक्षित छ भन्ने कुराको विश्वास दिलाउन मैले कोशिस गरेँ र चिनियाँ प्रतिनिधिहरूले पनि त्यो कुरालाई राम्रोसँग आत्मसात् गर्नुभएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने।

    उनले २१ औं शताब्दीमा कुनै पनि मुलुक आर्थिक समृद्धि हासिल गर्न निजी क्षेत्रसँग भएको पुँजी र उनीहरूको अनुभव र क्षमतालाई सदुपयोग गरेर मात्रै हासिल गर्न सक्ने बताउँदै सरकारको एक्लै पहलले विकास र समृद्धिलाई गति दिन नसकिने बताए।

    त्यसकारण आर्थिक विकास र समृद्धिको नयाँ यात्रातिर देशलाइ लैजान आफूले प्रधानमन्त्रीको सपथ लिइसकेपछि र मन्त्रिपरिषद्को पहिलो बैठकबाट विकास र समृद्धिको निम्ति सरकार र निजी क्षेत्रबीच सहकार्य र समझदारीको नयाँ यात्रा सुरू गर्ने निर्णय गरेको उनले बताए।

    ‘जसरी सोचेको त्यसरी गति दिन नसकेपनि हामी एकपछि अर्को त्यो दिशामा कदम अगाडि बढाउँदै छौं,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘चीन भ्रमणसम्म आइपुग्दा राष्ट्रपति‍ सी सँग भएका छलफलसम्म आइपुग्दा हामी देशभित्रका मात्र होइन देशबाहिरका निजी क्षेत्रसँग पनि सहकार्य गरी नेपालमा विदेशी लगानीको अनुकूल वातावरण बनाउने काममा योगदान पुग्दै गएको विश्वास गरेको छु।’

    त्यस्तै उनले नेपाल अब गरिब मुलुक रहिरहने छुट नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी)ले बेइजिङमा संयुक्त रूपमा आयोजना गरेको नेपाल चाइना बिजनेस फोरमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

    ‘नेपाल र नेपाली जनतालाई गरिबीबाट बाहिर निकाल्न मेरो सरकारले काम गरिरहेको छ । हामी नेपाली जनताको विकास चाहन्छौं’, उनले भने । नेपालले स्वदेशी तथा विदेशी लगानीको प्रवद्र्धन गरी गरिबी निवारण र सम्पत्ति बढाउने काम गर्न चाहेको उनको भनाइ थियो ।

    नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नति हुँदै गरेको र त्यो देशमा लगानी भित्र्याउनका लागि महत्वपूर्ण हुने उनले बताए । ‘यो स्तरोन्नति नेपालको रूपान्तरणको कोसेढुंगा बन्नेछ’, उनले भने ।

    नेपाल सबैभन्दा उच्च र छिटो विकास गरिरहेका देशहरू चीन र भारतको बीचमा छ । यो रणनीतिक भूगोलले पनि नेपाललाई विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्य बनाएको उनको भनाइ थियो । चीनले लगानी र प्रविधिका क्षेत्रमा गरिरहेको प्रगतिबाट नेपालले लाभ उठाउन चाहेको पनि उनले बताए ।

    जनसांख्यिक लाभका हिसाबले पनि नेपाललाई लगानीको आकर्षक गन्तव्य बनाएको उनको भनाइ थियो । ‘नेपालका युवाको औसत उमेर २४ वर्ष छ । नेपालमा लगानीको प्रतिफल उच्च छ, उच्च र दिगो आर्थिक वृद्धिको सम्भावना छ’, उनले भने ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया