• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    विद्यालय बन्द गरिरहे कारबाही गर्ने स्थानीय सरकारको चेतावनी

    443
    SHARES



    काठमाडौं । विद्यालय शिक्षा विधेयकको विरोध गर्न देशभरका शिक्षकहरुले काठमाडौंमा प्रदर्शन थालेका छन् । विद्यालय बन्द गरेर काठमाडौंमा भेला भएका उनीहरु माग सम्बोधन नहुँदासम्म नफर्किने अडानमा छन् ।

    शिक्षकहरुको आन्दोलनका कारण सामुदायिक स्कुलका विद्यार्थीहरु मारमा परेपछि स्थानीय तहहरुले चासो दिएका छन् । शिक्षा विधेयकमा सुधार गर्नुपर्ने मागमा सहमति भएपनि विद्यार्थीको पढ्न पाउने अधिकार हनन नगर्न उनीहरुले अनुरोध गरेका छन् ।

    पालिकाहरुले पनि विद्यालय बन्द गरेर आन्दोलनमा गएमा शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । काठमाडौं महानगरले बुधबार बिहानै सूचना सार्वजनिक गर्दै विद्यालय बन्द गरे प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने चेतावनी दिएको छ । यसअघि विद्यार्थी संगठनले चर्को शुल्क लिएको भन्दै विद्यालयहरुमा ताला लगाउँदा पनि महानगरले ताला फुटाएर पठनपाठन सुचारु गराएको थियो ।

    बुधबार साँझ मात्र काठमाडौं महानगरपालिकाका प्रधानाध्यापकहरुले संयुक्त विज्ञप्ति सार्वजनिक गर्दै अर्को सूचना नभएसम्मका लागि महानगरभित्रका विद्यालयका शिक्षक तथा कर्मचारीलाई आन्दोलनमा सहभागी हुन आह्वान गरेको थियो ।

    लगतै महानगरले विद्यालय अनुगमनको क्रममा विद्यालय बन्द भएको पाइएमा प्रधानाध्यापक तथा शिक्षकलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । ‘उहाँहरुको आन्दोलनको विरुद्धमा होइन, विद्यार्थीको भविश्य अन्धकार पारेर आन्दोलन गर्नुहुँदैन’ महानगरको शिक्षा विभागका शिक्षा अधिकारी सीताराम कोइराला भन्छन्, ‘यदि हाम्रो अनुरोधलाई बेवास्ता गरेर विद्यालय बन्द गरेर आन्दोलन गर्न जानुभएछ भने कारबाही गर्ने प्रकृया अगाडि बढ्छ ।’

    काठमाडौं महानगरभित्र ९० वटा विद्यालयमध्ये ५९ वटा माध्यामिक र बाँकी आधारभूत विद्यालयमा दुई हजार २०२ जना शिक्षक कार्यरत छन् । महानगरपालिकाले अनुगमन समिति बनाएर बिहीबार अनुगमन गर्ने तयारी गरेको जनाएको छ ।

    ललितपुर महानगरले पनि विद्यालय बन्द गरेर आन्दोलनमा सहभागी नहुन शिक्षकहरुलाई आग्रह गरेको छ । गाउँपालिका राष्ट्रिय महासंघ नेपाल र नेपाल नगरपालिका संघले पनि विज्ञप्ति निकालेर आधारभूत शिक्षा प्राप्त गर्ने बालबालिको मौलिक हक र मानव अधिकारको हनन् हुने गरी अनिश्चितकालीन विद्यालय बन्द नगर्न अनुरोध गरेको छ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका, सुनसरीको इनरुवा नगरपालिका, दुहबी नगरपालिका, कपिलवस्तुको कृष्णनगर नगरपालिका लगायतले विद्यालय बन्द नगर्न अनुरोध गर्दै विज्ञप्ति जारी गरेका छन् ।

    नगरपालिका संघका महासचिव तथा घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले संविधानले व्यवस्था गरेको बालबालिकाको मौलिक हक हनन हुन नदिने बताए । नगरपालिका संघले संविधानले सुनिश्चित गरेको बालबालिकाको पढ्न पाउने मौलिक हक हनन नगर्न अनुरोध गरिसकेको भन्दै उनले त्यत्ति हुँदा पनि विद्यालय बन्द भए अधिकार प्रदत्त कारबाहीको प्रकृया अगाडि बढाउन बाध्य हुने बताए ।

    गाउँपालिका महासंघका उपाध्यक्ष लक्ष्मण बहादुर शाही विद्यालय बन्द गर्ने कदममा समर्थन नरहेको बताउँछन् । भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले नगरपालिकामा विद्यालय बन्द नहुने बताए ।

    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया