काठमाडौं। काठमाडौं महानगरपालिकाले शिक्षा विधेयक विरुद्ध आन्दोलनमा उत्रिएका शिक्षकलाई लक्षित गर्दै विद्यालय बन्द गरिए कारबाही गर्ने चेतावनी दिएको छ ।
महानगरले आज एक सूचना जारी गर्दै देशभरका सामुदायिक विद्यालयमा पठनपाठन बन्द गर्ने भनी विभिन्न पत्रपत्रिकामा आएको समाचार र प्रेस विज्ञप्तिप्रति काठमाडौँ महानगरपालिकाको ध्यानाकर्षण भएको जनाएको छ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले विज्ञप्ति जारी गर्दै शिक्षकहरुले आफ्नो माग राख्दा बालबालिकालाई पठनपाठनबाट बञ्चित गर्नु कुनै पनि अर्थमा क्षम्य नहुने भएकाले आन्दोलनका नाममा विद्यालय बन्द गरिए कारबाही गर्ने जनाएको हो ।
विद्यार्थीको नियमित अध्ययन गर्न पाउने अधिकारको हनन् गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुने र यसको सम्पूर्ण जिम्मेवार सम्बन्धित व्यक्ति नै हुने महानगरको चेतावनी छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको मिति २०६८। २।११ गतेको निर्णयानुसार विद्यालयलाई शान्तिक्षेत्र घोषणा गरिएको तथा विद्यालय शान्तिक्षेत्र राष्ट्रिय ढाँचा र कार्यान्वयन निर्देशिका, २०६८ को बुँदा न ६.२ को (घ) ले विद्यालयमा कुनै पनि दलीय राजनीतिक तथा अन्य स्वार्थका लागि विद्यालय बन्द, हडताल र पठनपाठनमा अवरोध गर्ने जस्ता क्रियाकलाप नभएको हुनुपर्ने व्यवस्था गरेको स्मरण गराउँदै काठमाडौं महानगरपालिका शिक्षा ऐन, २०७४ को दफा ३८ तथा अन्य प्रचलित शिक्षा ऐन तथा नियमावलीको भावना प्रतिकूल हुने गरी काठमाडौं महानगरपालिकाभित्रका विद्यालयमा विद्यालय शान्तिक्षेत्र” को अवधारणा विपरीत अवाचित कार्य गर्न बन्देज गरिएको व्यहोरा सम्बद्ध सबैलाई विदितै छ ।’
प्रतिक्रिया