काठमाडौं । भारतका तीव्र गतिका बलर मोहम्मद सिराजको उत्कृष्ट बलिङमा श्रीलंका ५० रनमा अलआउट भएको छ ।
कोलम्बोमा रहेको आर प्रेमदासा क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५.२ ओभरमा ५० रन बनाउँदै अलआउट भएको हो ।
श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
भारतका लागि सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट लिए । ओडिआई करियरमा सिराजको यो उत्कृष्ट बलिङ फिगर हो ।
श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन श्रीलंका यस संस्करणको समेत उपाधि जितेर सातौं पटक विजेता बन्न चाहन्छ ।
एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने दौडमा छ ।
रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो । एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् ।
यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
यस अघि भारत र श्रीलंकाबीच सात पटक फाइनलमा भेट भएको छ । भारतले चार पटक फाइनल जित्न सफल भयो ।
श्रीलंकाले तीन पटक भारतले पराजित गरेको छ । सुपर फोरमा भारतले श्रीलंकासँग कठिन जित निकालेको थियो ।
भारतले सुपर फोरमा पाकिस्तान र श्रीलंकालाई पराजित गरेको थियो । श्रीलंकाले भने बंगलादेश र पाकिस्तानलाई पराजित गरेको थियो ।
फाइनल खेल वर्षाका कारण रद्द भएमा सोमबार रिजर्भ डेको व्यवस्था पनि गरिएको छ ।
प्रतिक्रिया