काठमाडौँ । चीन र भारतका पर्यटकलाई आकर्षित गर्न सैन्य सरकारले ‘भिसा अन अराइभल’ दिने निर्णय गरेको छ ।
समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार सैनिक सरकारले विदेशी पर्यटकको आगमन र उनीहरूको विदेशी मुद्रालाई ध्यानमा राखेर यस्तो निर्णय गरेको हो । म्यानमारको सरकारी सञ्चारमाध्यमले एक रिपोर्टमा यस्तो जनाएको हो ।
‘ग्लोबल न्यु लाइट अफ म्यानमार’ ले सैन्य शासनको अध्यागमन विभागलाई उद्धृत गर्दै यो नयाँ योजना छिट्टै घोषणा गरिने र प्रारम्भमा यसलाई एक वर्षको परीक्षणका रूपमा सञ्चालन गरिने जनाएको छ ।
‘भिसा अन अराइभल’ पाउने पर्यटकलाई प्रतिबन्धित क्षेत्रबाहेक सबै ठाउँमा जान अनुमति दिइने पत्रिकाले बिहीबारको आफ्नो रिपोर्टमा भनेको छ ।
हालको प्रणालीमा दुवै देशका नागरिकले पर्यटक भिसाका लागि अनलाइन वा म्यानमारको दूतावासमा आवेदन दिनुपर्ने हुन्छ । म्यानमारमा सन् २०२१ को ‘कु’को विरोध अझै छ र सैन्य सरकार यसलाई दबाउन सङ्घर्ष गरिरहेको छ ।
सैनिक सरकारले देशमा आफ्नो पूर्ण नियन्त्रण नभएका क्षेत्रहरू रहेको स्वीकार गरेको छ । अमेरिका र अस्ट्रेलिया जस्ता देशले आफ्ना नागरिकलाई म्यानमार नजान सुझाएको छ ।
तर म्यानमारसँग चीन र भारतको लामो सीमा छ र दुवै देशले त्यहाँको सैनिक सरकारसँग कूटनीतिक सम्बन्ध कायम राखेका छन् ।
प्रतिक्रिया