काठमाडौँ । साबिकको विजेता श्रीलंकाले एसिसि एसिया कप क्रिकेटको सुपर फोरको खेलमा पाकिस्तानलाई हराउदै फाइनलमा पुगेको छ ।
एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह-आयोजक श्रीलङ्काबीच भिडन्त हुने भएको छ ।
श्रीलङ्काले बिहीबार राति घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको रोमाञ्चक खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गर्यो ।
निर्णायक खेलमा जित हात पारेसँगै श्रीलङ्का प्रतियोगिताको फाइनलमा पुग्न सफल भयो । श्रीलङ्काले अन्तिम ओभरको अन्तिम बलमा जित हात पारेको हो ।
भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । प्रतियोगिताको फाइनल खेल भने आगामी आइतबार श्रीलङ्काको कोलम्बोमा खेलिने छ ।
वर्षाका कारण खेल ४२-४२ ओभरमा घटाइएको थियो । पाकिस्तानले टस जिती पहिले ब्याटिङ गर्दै निर्धारित ४२ ओभरमा सात विकेट गुमाएर २ सय ५२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलङ्काले निर्धारित ओभरमा आठ विकेट गुमाएर विजयलक्ष्य पूरा गरेको थियो ।
श्रीलङ्काका लागि विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिसले ९१ रनको योगदान गरे । उनले केवल ८७ बलको सामना गरी एक छक्का र आठ चौका हिर्काएका थिए ।
सदिरा सामराबिक्रमाले पनि टोलीका लागि ४८ रनको योगदान गरे । उनले ५१ बलमा चार चौका प्रहार गरे । यी दुई ब्याट्सम्यानले एक सय रनको साझेदारी गरेका थिए ।
श्रीलङ्काको जितमा चरिथ असालंका नायक बने । उनले अविजित ४९ रन बनाए । उनले ४७ बलको सामना गरी एक छक्का र तीन चौका प्रहार गरे । ओपनर पाथुम निसानकाले २९ रन बनाए । अर्का ओपनर कुशल परेरा पनि १७ रनमै पेभेलियन फर्किएका थिए ।
प्रतिक्रिया