काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जातीय र धार्मिक द्वन्द्व नफैलाउन सबैलाई आग्रह गरेका छन् ।
आज आइतवार हेटौँडामा आयोजित समाजवादी मोर्चा नेपाल बाग्मती प्रदेशको सन्देशसभालाई सम्बोधनका क्रममा अध्यक्ष प्रचण्डले जनयुद्धमा जातीय र धार्मिक द्वन्द्व कतै नभएको उल्लेख गर्दै यस्तो कार्यमा संलग्न नहुन सबैलाई आग्रह गरे ।
‘हामीले जनआन्दोलन गर्दा कहिल्यै पनि जातीय र धार्मिक द्वन्द्व भएन तर अब पनि हामी यस्तो कदापि हुन दिने छैनौँ’, उनले भने ।
सङ्घीयता र समावेशीताका पक्षमा लड्नका लागि मोर्चा गठन भएको उहाँको भनाइ छ । सरकारले भ्रष्टाचारविरुद्ध र सुशासन, सामाजिक न्यायको अभियान शुरु गरेपछि चौतर्फी आक्रमण शुरु भएको पनि प्रचण्डले दाबी गरे ।
‘वर्तमान सरकार परम्परागत संसदीय अभ्यासभन्दा पनि नागरिकका लागि जनपक्षीय व्यवस्था कायम गर्दै नागरिकको अवस्था सुधार गर्ने पक्षमा छ’, उनले भने ।
सरकार नागरिकको गणतन्त्र बनाउन चाहने दलहरूको एकता, बुर्जुवा र प्रतिक्रियावादीको शक्तिलाई हाबी हुन नदिन महत्त्वपूर्ण भूमिका खेलिरहेको उहाँको भनाइ छ ।
समाजवादको आधार तयार पार्दै नागरिकको गणतन्त्र बनाउने अभियानमा लागिरहेका कारण पनि यो मुद्दामा एकजुट हुन आवश्यक रहेको उनको भनाइ छ ।
प्रतिक्रिया